सञ्चार क्षेत्रमा नेपालको फट्को : डिजिटल यात्रामा विश्व सँगसँगै

कटवाल प्रथा, हुलाक हुँदै डिजिटल दुनियाँसम्म

कुनै समय सञ्चारका साधनका रूपमा परेवा, कटवाल, हुलाक तथा डाँक र चिठीपत्रको विषय अहिले नयाँ पुस्ताका लागि दन्त्यकथा जस्तै भइसकेको छ । नेपालमा सञ्चार रूपान्तरणको इतिहास रोचक रूपमा अगाडि बढ्दै अहिले ४जी र ५जीसम्म पुगिसकेको छ । नेपालमा सबैभन्दा छिटो विकास तथा रूपान्तरण भएको क्षेत्र नै सञ्चार हो । कटवालले थुम्कोबाट कराएर सूचना दिने परम्परादेखि आजको ५जी सम्म आइपुग्दा नेपालले ठुलो फट्को मारेको छ ।


आजभन्दा २० वर्षअघि मोबाइल भन्ने शब्द नै नुसनिएका दुर्गम क्षेत्रबाट समेत अहिले आफन्तसँग भिडियोमा प्रत्यक्ष कुराकानी हुने गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको बहुसूचक सर्वेक्षणअनुसार नेपालका ८५.१ प्रतिशत घरधुरीमा स्मार्टफोन र ८२ प्रतिशतमा इन्टरनेटको पहुँच विस्तार भएको छ । नेपालमा सञ्चार माध्यमहरूको युगलाई कागजी युग (चिठी र सरकारी गजेट), ध्वनि युग (रेडियो र ल्यान्डलाइन फोन), दृश्य युग (टेलिभिजन र सिनेमा), डिजिटल युग (इन्टरनेट, स्मार्टफोन) गरी मुख्यतया ४ भागमा विभाजन गरेर हेर्न सकिन्छ ।

हुलाक सेवा

परापूर्वकालदेखि नै एक ठाउँबाट अर्को ठाउँमा खबर आदान–प्रदान गर्न चिठीपत्रको प्रयोग भएको पाइन्छ । तिनताक खासगरी राजा महाराजाहरूको दरबारमा समाचार तथा सूचना आदान–प्रदान गर्न परेवा, बाज, घोडा जस्ता पशुपक्षीको प्रयोग भएको किंवदन्ती पाइन्छ । संस्थागत रूपमा हुलाकको स्थापनासँगै चिठीपत्र पुर्याउने काम प्रणालीगत रूपमा हुलाकबाटै हुँदै आएको देखिन्छ । विश्वमा सन् १६६० मा बेलायतका तत्कालीन राजा चाल्र्स द्वितीयले ‘जेनरल पोस्ट अफिस’ स्थापना गरेको इतिहास भेटिन्छ ।

नेपालमा चिठीपत्रमार्फत् खबर, सूचना र समाचार आदान–प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोद्दिप सिंहको पालामा १९३५ सालमा नेपाल हुलाक घर स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ । सन् १९७४ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेपछि विश्व मञ्चमा नेपालको हुलाक सेवाको उपस्थिति भई नेपालमा अन्तर्राष्ट्रिय हुलाक सेवाको पहुँच सम्भव भएको हो । सञ्चारमाध्यममध्ये यस्तो पुरानो इतिहास बोकेको हुलाक सेवालाई नेपालमा थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन २०१९ सालमा हुलाक सेवा ऐन आएपछि हुलाक सेवा विभागले हुलाक सेवाको व्यवस्थापन गर्दै आएको छ ।

स्थापनाकालमा चिठीपत्र ओसारपसार गर्नेमा मात्र केन्द्रित रहेको नेपालको हुलाक सेवाले आजभोलि जनताको माग र सूचना प्रविधिको विकासलाई आत्मसात् गर्दे पुलिन्दा सेवा, फिलाटेलिक तथा हुलाक टिकट सेवा, इएमएस सेवा, उपत्यका घुम्ती सेवा, ट्र्याकिङ सेवालगायत आधुनिक तथा छिटो छरितो सेवाहरू सञ्चालन गरिरहेको छ ।

हाल नेपालमा हुलाक सेवा सञ्चालन र व्यवस्थापनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभाग, हुलाक सेवा विभागअन्तर्गत रहने गरी केन्द्रीय कार्यालयहरू– गोश्वारा हुलाक कार्यालय र हुलाक प्रशिक्षण केन्द्रका साथै हुलाक सेवा विभागअन्तर्गत ६ वटा मोरङ, धनुषा, कास्की, दाङ, सुर्खेत र कैलालीमा हुलाक निर्देशनालयहरू छन् । ७० वटा जिल्ला हुलाक कार्यालय, ६७६ स्थानीय तहमा अवस्थित हुलाक कार्यालय र ३०७४ वटा अतिरिक्त हुलाक कार्यालयहरू सञ्चालनमा छन् । हुलाक सेवाले चिठीपत्रबाहेक हुलाक टिकट प्रकाशन गर्ने काम पनि गर्दै आएको छ ।

दूरसञ्चार : रेडियो र ल्यान्डलाइन टेलिफोन सेवा

नेपालमा दूरसञ्चारको सुरुआत र प्रारम्भिक चरण १९७० सालमा काठमाडौँमा पहिलो पटक टेलिफोन लाइन स्थापना भएपछि सुरु भएको हो । यसपछि १९७१ मा काठमाडौँदेखि रक्सौलसम्म ‘ओपन–वायर ट्रंक लिंक’ स्थापना गरिएको थियो । यद्यपि, औपचारिक रूपमा दूरसञ्चार सेवा २००५ मा तत्कालीन प्रधानमन्त्री मोहनशमशेर राणाको नाममा ‘मोहन आकाशवाणी’ स्थापना भएपछि मात्र सुरु भएको थियो । १९९२ मा राजदरबारमा २५ लाइनको स्वचालित एक्सचेन्ज जडान गरियो भने २००७ सालसम्म आइपुग्दा टेलिग्राम सेवा, उच्च फ्रिक्वेन्सी रेडियो प्रणाली र काठमाडौँमा १०० लाइनको केन्द्रीय ब्याट्री टेलिफोन एक्सचेन्ज (सिबी टेलिफोन एक्सचेन्ज) को स्थापना भइसकेको थियो ।

२०१२ मा काठमाडौँदेखि पाल्पासम्म ट्रंकलाइन विस्तार गरियो । २०२० देखि काठमाडौँमा ३०० लाइनको क्रसबार एक्सचेन्जमार्फत् सर्वसाधारणलाई टेलिफोन वितरण गर्न थालिएको थियो । २०२८ मा भारत र पाकिस्तानसँग रेडियोमार्फत् अन्तर्राष्ट्रिय सञ्चार सेवा सुरु भएको हो । २०३१ मा टेलेक्स सेवा र २०३९ मा अन्तर्राष्ट्रिय सर्किटका लागि सगरमाथा अर्थ स्टेसन स्थापना भएपछि नेपाल विश्वसँग सीधै जोडिन पुगेको इतिहास भेटिन्छ । २०४० को दशकमा डिजिटल टेलिफोन एक्सचेन्ज, एसटिडी र आइएसडी सेवाको सुरुआत भएसँगै सञ्चार प्रणालीमा आधुनिकता भित्रिन थालेको हो । २०५२ देखि अप्टिकल फाइबर नेटवर्क जडान सुरु गरिएपछि २०५३ सम्ममा देशभरका टेलिफोन नेटवर्कलाई स्वचालित बनाइयो ।

२०६१ सम्म नेपाल टेलिकम एक मात्र दूरसञ्चार सेवा प्रदायक थियो । २०६१ मा मेरो मोबाइल (हालको एनसेल) आएको थियो । सन् २००४ स्थापना भएको नेपाल दूरसञ्चार संस्थान, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड २०६० साल चैतमा नेपाल टेलिकममा रूपान्तरण गरियो । २९ वर्षसम्म संस्थानका रूपमा राष्ट्रको सेवा गरेपछि यो कम्पनी ऐनअन्तर्गत दर्ता भयो र देशभर १८० भन्दा बढी स्थानमा आफ्ना शाखा र एक्सचेन्ज विस्तार गर्यो ।

नेपालमा २००७ मा रेडियो नेपालको भएसँगै रेडियोको औपचारिक सुरुआत भएको मानिन्छ । रेडियो नेपालको स्थापनासँगै स्थानीय मानिसहरूले समाचारमा पहुँच पाए र सूचना उपभोग गर्ने तरिका बदलिएको थियो । २०४२ बाट नेपाल टेलिभिजनले प्रसारण सेवा सुरु गरेपछि दृश्य युग सुुरु भएको थियो ।

इन्टरनेट र मोबाइलको युग

इन्टरनेट र मोबाइल क्रान्तिको युग २०५६ साल (सन् २०००) पछि सुरु भएको हो । २०५६ मा इन्टरनेट सेवा सञ्चालनमा आएको थियो । २०५६ मै नेपाल टेलिकमले पहिलो पटक जिएसएम मोबाइल सेवा सुरु गरेपछि नेपाली सञ्चार क्षेत्रमा ठुलो परिवर्तन आएको मानिन्छ । सन् २००४ मा आएर टेलिकमले प्रिपेड सेवाको सुरुआत गर्यो । यतिबेला नेपालमा नेपाल टेलिकमपछिको पहिलो निजी दूरसञ्चार कम्पनी एनसेल स्थापना भइसकेको थियो । २०६० सालपछि मात्रै निजी कम्पनीले पनि नेपालको दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा गर्न पाएका थिए ।

२०६४ साल (सन् २००७) मा ३जी र एडिएसएल इन्टरनेट सेवा सुरु गरिएको थियो । जसले गर्दा नेपालीको हातहातमा मोबाइल र इन्टरनेट पुग्न सुरु भएको हो । आधुनिक डिजिटल र स्मार्ट सेवामा पछिल्लो एक दशकमा नेपालको दूरसञ्चार प्रविधि निकै तीव्र गतिमा विकास भएको छ । २०६९ मा वाइम्याक्स र २०७१ बाट घरघरमा उच्च गतिको फाइबर इन्टरनेट पुर्याउन सुरु गरियो । २०७३ मा पहिलो पटक ४जी÷एलटिई सेवा सुरु भयो भने २०७७ मा उच्च गुणस्तरको भ्वाइस कलका लागि भोल्टे र एनटिटिभी जस्ता सेवाहरू भित्रिए । हाल नेपाल टेलिकमले इसिम, वायरलेस ब्रोडब्यान्ड (नमस्ते वाइफाई) र २०८१ सालदेखि भ्वाइस ओभर वाइफाई जस्ता अत्याधुनिक प्रविधिमार्फत् आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ ।

हातहातमा स्मार्ट फोन

नेपालमा स्मार्टफोनको पहुँच देशभर पुग्न थालेको मुख्यतया २०७० साल (सन् २०१४) पछि हो । त्यसअघि स्मार्टफोन सहरिया र हुनेखाने वर्गमा मात्र सीमित थियो । २०६६–२०७० को अवधिमा सुरुआती स्मार्टफोनहरू नेपाल भित्रिएका थिए । सुरुमा यी फोनहरू निकै महँगो हुनाले काठमाडौँ र ठुला सहरमा मात्र थिए । ३जी सेवा भर्खरै विस्तार हुँदै थियो, त्यसैले मानिसहरू वाइफाई भएका ठाउँमा मात्र स्मार्टफोनको पूर्ण प्रयोग गर्थे । २०७१ देखि २०७३ को अवधिमा स्मार्टफोनको क्रान्ति सुरु भएको मानिन्छ । यो कलर्स, माइक्रोम्याक्स र पछि साओमी जस्ता ब्रान्डले सस्तो मूल्यमा एन्ड्रोइड फोन ल्याएपछि सामान्य मानिसको हातमा स्मार्टफोन पुग्न थालेको हो । नेपाल टेलिकम र एनसेलले देशका प्रमुख जिल्लामा ३जी सेवा पुर्याएपछि गाउँ–गाउँमा फेसबुक र युट्युबको प्रयोग बढ्न थालेको थियो ।

सन् २०१७ (२०७३ साल) मा नेपालमा ४जी सेवा सुरु भएपछि स्मार्टफोनको प्रयोगमा ह्वात्तै बढेको बताइन्छ । ४जी सेवा दुर्गम ठाउँसम्म पुग्न थालेपछि स्मार्टफोन विलासिताको साधन नभई अनिवार्य आवश्यकता बनिसकेको छ । पछिल्लो समय सामाजिक सञ्जाल टिकटक, फेसबुक म्यासेन्जरलगायतको लोकप्रियताले वृद्धवृद्धादेखि बालबालिकासम्मको हातमा स्मार्टफोन पुगिसकेको छ । कोरोना महामारीका कारण भएको लकडाउनको समयमा अनलाइन कक्षा र डिजिटल भुक्तानीका कारण स्मार्टफोनको माग झन् बढेको व्यवसायीहरू बताउँछन् ।

कमजोर डिजिटल साक्षरता

नेपालका घरधुरी र विभिन्न उमेर समूहका व्यक्तिबीच स्मार्टफोन र इन्टरनेटको पहुँच उच्च रहे पनि प्राविधिक सीप र डिजिटल साक्षरताको स्थिति अत्यन्तै कमजोर पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको बहुसूचक सर्वेक्षणअनुसार नेपालका ८५.१ प्रतिशत घरधुरीमा स्मार्टफोन र ८२ प्रतिशतमा इन्टरनेटको पहुँच विस्तार भएको छ । व्यावसायिक वा उत्पादनमूलक कार्यका लागि आवश्यक कम्प्युटर (डेस्कटप, ल्यापटप, ट्याबलेट) को स्वामित्व भने १६.८ प्रतिशतमा सीमित छ । यसले ‘मोबाइल–फस्र्ट’ अर्थतन्त्रको झल्को दिए पनि प्रविधिको आधारभूत ज्ञान र सीपसँगै उत्पादनमूलक कार्यमा सूचना प्रविधि प्रयोग न्यून रहेको विश्लेषण गर्न सकिन्छ ।

सर्वेक्षणअनुसार डेटा व्यवस्थापन र व्यावसायिक कामका लागि आधारभूत मानिने स्प्रेडसिट (एक्सेल) मा गणितीय सूत्र प्रयोग गर्न सक्ने जनसंख्या १०.२ प्रतिशत मात्र छ । कम्प्युटर प्रोग्रामिङ गर्न सक्ने जनसंख्या त झनै कम ३.१ र डकुमेन्ट वा डिभाइसहरूबीच तथ्यांक वा सामग्री कपी–पेस्ट गर्न सक्ने २४.२ प्रतिशत छन् ।

यसले मोबाइल तथा इन्टरनेट प्रयोगमा नेपाली अगाडि रहे पनि सफ्टवेयर निर्माण र उच्च प्राविधिक जनशक्ति उत्पादनमा पछाडि रहेको संकेत गर्छ  । पेनड्राइभ, क्यामेरा वा प्रिन्टरजस्ता डिभाइस जडान गर्न जान्नेहरू ९.३ प्रतिशत मात्रै छन् । इलेक्ट्रोनिक प्रिजेन्टेसन बनाउन जान्नेहरूको हिस्सा १७.६ प्रतिशत छ । साथै, आफ्नो डिभाइस, एकाउन्ट वा एपमा प्राइभेसी सेटिङ मिलाउन जान्नेहरू जम्मा १९.९ प्रतिशत रहनुले प्राविधिक र डिजिटल सारक्षता कति कमजोर छ भन्ने अनुमान लगाउन सकिन्छ ।

सर्वेक्षण प्रतिवेदनअनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ९०.४ प्रतिशत पुरुषसँग मोबाइल फोन छ भने सोही उमेर समूहका ८१.६ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन छ । आर्थिक रूपमा विपन्न वर्गका ५२.९ प्रतिशत घरधुरीमा इन्टरनेट पहुँच पुग्दा सबैभन्दा धनी २० प्रतिशतमा यो दर ९९.२ प्रतिशत छ । यसले प्रविधिमार्फत् आर्थिक रूपान्तरण गर्ने अवसरमा ठुलो वर्गीय खाडल सिर्जना गरेको औँल्याउँछ । नेपालका ८२ प्रतिशत घरधुरीमा इन्टरनेटको पहुँच पुगिरहँदा सहरी क्षेत्रमा यो दर ८६.५ प्रतिशत र ग्रामीणमा भने ७३ प्रतिशत छ । कुल ९५.५ प्रतिशत घरधुरीमा कुनै न कुनै प्रकारको टेलिफोन (फिक्स्ड लाइन वा मोबाइल) छ । १५ देखि ४९ वर्ष उमेर समूहका ८५.३ प्रतिशत व्यक्तिसँग आफ्नै मोबाइल फोन र ७६.७ प्रतिशतसँग आफ्नै स्मार्टफोन छ । आर्थिक अवस्था, भौगोलिक अवस्थिति, शिक्षा र लैंगिक आधारमा डिजिटल डिभाइडको पनि प्रष्ट चित्र देखिन्छ ।

प्रतिक्रिया