प्रविधि र इन्टरनेटले ल्याएको रूपान्तरण : ढुंगे युगदेखि एउटै ‘जालो’मा सिंगो विश्वसम्म

मानव विकाससँगै प्रविधिको विकास पनि हुँदै आएको छ । प्रविधिको विकासले मानव सभ्यतालाई ढुंगे युगबाट डिजिटल युगसम्म ल्याइपुर्याएको छ । प्रविधिको विकास र यसका पाटाहरू धेरै छन् । पछिल्लो समय हरेक व्यक्तिको दैनिकी प्रविधिमा आधारित भएजस्तै राष्ट्रको हरेक गतिविधिमा प्रविधि अनिवार्यजस्तै भइसकेको छ । विश्वमा प्रविधिको इतिहास निकै लामो भए पनि नेपालमा भने केही ढिला सुरु भएको पाइन्छ । यद्यपि विकासको गति भने निकै उत्साहजनक देखिन्छ । प्रविधिसँग सम्बद्ध हरेक कुरा नेपालले अन्य देशबाटै सिक्ने तथा आयात गर्नेे भएकाले पहिला विश्व परिवेश थाहा पाउनु जरुरी छ ।

विश्वको प्रविधि इतिहास हेर्दा १८औँ शताब्दीको अन्त्यतिर बेलायतबाट सुरु भएको पहिलो औद्योगिक क्रान्तिलाई लिने गरिन्छ । उक्त क्रान्तिले मानव श्रमलाई मेसिनले विस्थापन गरेको थियो । त्यसबेला बाफबाट चल्ने इन्जिनको आविष्कारले यातायात र कपडा उद्योगमा ठुलो परिवर्तन ल्याएको थियो । १९औँ शताब्दीको अन्त्य र २०औँ शताब्दीको सुरुमा भएको विद्युतीकरणले प्रविधिलाई सहज बनायो । त्यसबेला बिजुली, ग्यास र तेलको प्रयोग बढेको थियो । सन् १९५० पछि विश्वमा डिजिटल क्रान्ति सुरु भयो । उक्त समयमा नै ट्रान्जिस्टर र सेमिकन्डक्टरको आविष्कार भयो । जसले कम्प्युटर, इन्टरनेट र डिजिटल सञ्चारको जग बसाल्यो ।

सन् १९९० को दशकमा ‘वल्र्डवाइड वेब’ को सार्वजनिक प्रयोगले विश्वलाई नै एउटा गाउँमा परिणत गरिदिएको छ । हाल विश्व प्रविधि फ्युजन क्रान्ति अर्थात् अहिलेको भौतिक, डिजिटल र जैविक क्षेत्रहरू एकसाथ जोडिएको प्रविधिको युगमा पुगेको छ । कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, क्वान्टम कम्प्युटिङ र बायो–टेक्नोलोजी अहिलेका मुख्य उपलब्धि हुन् ।

प्रविधिमा नेपालको फट्को

नेपालमा १९६८ सालमा फर्पिङ जलविद्युत् केन्द्र (दक्षिण एसियाकै दोस्रो जलविद्युत् आयोजना) को स्थापनासँगै नेपालमा आधुनिक ऊर्जासँगै प्रविधिको सुरुआत भएको दाबी गरिन्छ । १९७० सालमा काठमाडौँ र रक्सौलबीच टेलिफोन लाइन जोडिएको तथा २००७ मा रेडियो नेपालको स्थापना हुनुलाई पनि प्रविधि विकासको पहिलो चरण मानिन्छ । नेपालमा २०२८ सालको जनगणनाका लागि आइबिएम १४०१ कम्प्युटर भाडामा ल्याइएको थियो । पछि २०३१ सालमा ‘इलेक्ट्रोनिक डाटा प्रोसेसिङ सेन्टर’ (हालको राष्ट्रिय सूचना प्रविधि केन्द्रको जग) स्थापना भएको थियो । २०३० को दशकको अन्त्यतिर म्याकिन्टोस र आइबिएमका व्यक्तिगत कम्प्युटरहरू नेपाल भित्रिन थालेको बताइन्छ ।

२०५१ मा मर्कन्टाइल कम्युनिकेसनले पहिलो पटक नेपालमा व्यावसायिक इन्टरनेट सेवा सुरु गर्यो । २०५६ सालमा नेपाल टेलिकमले मोबाइल सेवा सुरु गरेसँगै नेपालको डिजिटल युग सुरु भएको हो । हाल नेपालमा वित्तीय प्रविधि इसेवा, खल्ती र कनेक्ट आइपिएसले भुक्तानी प्रणालीलाई डिजिटल बनाएका छन् । नेपाली आइटी कम्पनीहरूले अमेरिका र युरोपका ठुला कम्पनीका लागि सफ्टवेयर बनाइरहेका छन् । कनेक्टिभिटी फोरजी सेवा देशभर पुगेको छ र फाइभजीको परीक्षण गर्ने तयारी भइरहेको छ । २०७६ मा डिजिटल नेपाल फ्रेमवर्क सुरु गरिएको थियो । नागरिक एपलाई व्यापक बनाउने विषयका साथै डाटाको सुरक्षासम्मका विषय पनि यसमै परेका छन् ।

सरकारले गत वर्ष नै डिजिटल नेपाल बनाउन ७ वटै प्रदेश तथा ७५३ वटै स्थानीय तहमा सम्पूर्ण रूपमा डिजिटाइजेसन गर्ने योजना बनाएको थियो । सबै स्थानीय तह र वडा केन्द्रसम्म यसै वर्षको अन्त्यसम्ममा दिगो ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्याई त्यहाँँबाट विद्युतीय सुशासन (इ–गभर्नेस) को अभ्यास हुँदै छ । नेपालमा पनि सूचना तथा सञ्चार प्रविधिको महत्वलाई आत्मसात् गर्दै सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति, २०५९ सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ अवलम्बन गरिएको छ । हाल कार्यान्वयनमा रहेको १६औँ योजनामा उत्पादकत्व बढाउन सूचना, सञ्चार प्रविधिको विकासमा जोड दिइएको छ ।

इन्टरनेटले जोडेको विश्व

इन्टरनेटको प्रवेश र विस्तारले नेपाली समाजको मुहार नै फेरिदिएको छ । २ दशकअघिसम्म विलासिताको साधन मानिने इन्टरनेट पछिल्लो समय ‘गाँस, बास र कपास’ जत्तिकै अत्यावश्यक बनिसकेको छ । ल्यापटप, डिजिटल क्यामेरा, सिसिटिभी क्यामेरा, फ्याक्स मेसिन, फोटोकपी मेसिन, स्क्यानर, इन्टरनेट, रेडियो, टेलिभिजन आदि सञ्चारसाधनले मानिसको दैनिक जीवन सहज बनाइदिएको छ । मोबाइल फोनमा भएको विकास र परिवर्तनलाई सूचना प्रविधि क्षेत्रमा भएको आमूल परिवर्तन मान्न सकिन्छ । बारफोनबाट सुरु भएको मोबाइल यात्रा स्मार्टफोनसम्म आइपुगेको छ ।

प्रविधिको विकाससँगै महिनौँ लाग्ने चिठीको युगबाट नेपाल भिडियो कल गर्न सक्ने युगमा आएको छ । विदेशमा रहेका आफन्तसँग कुरा गर्न अब छिनमै मिल्ने भएको छ । फेसबुक, टिकटक, इन्स्टाग्राम र ट्विटरजस्ता सामाजिक सञ्जाल प्लेटफर्मले सूचना आदानप्रदान, सामाजिक बहस, शिक्षा, व्यापार तथा सन्देश प्रवाहमा सहजता ल्याएको छ । नागरिक एपमार्फत् प्यान कार्ड, प्रहरी रिपोर्ट र मतदाता परिचयपत्र मोबाइलमै प्राप्त गर्न सकिन्छ । प्रविधिले फट्को मार्नुमा इन्टरनेटको मुख्य भूमिका छ । अहिले इन्टरनेटबाटै खानेपानी, बिजुली र टेलिफोनको महसुल घरमै बसेर तिर्न सकिन्छ । राहदानी (पासपोर्ट) र सवारी चालक अनुमतिपत्रजस्ता आवश्यक कागजातको फारम भर्न र मिति लिन अनलाइन प्रणालीको विकास भएको छ ।

परम्परागत बजार अहिले डिजिटल बन्दै गएको छ । स–साना तरकारी पसलदेखि ठुला सपिङ मलसम्म क्युआर कोडमार्फत् पैसा तिर्ने चलन सामान्य भइसकेको छ । खुद्रा पैसाको झन्झट हटेको छ, भने रकम चोरी हुने डरबाट मुक्ति मिलेको छ । अनलाइन सपिङ साइटमार्फत् घरमै बसीबसी खानादेखि अन्य विभिन्न आवश्यक वस्तुहरू मगाउन सकिने अवस्था छ । प्रविधिका कारण यातायात क्षेत्रमा बार्गेनिङ गर्ने, ठगीमा परिने घटनाहरूमा कमी आएको छ । पठाओ, इन्ड्राइभ, यांगोजस्ता राइड सेयरिङ एपले काठमाडौँ उपत्यकाको यातायात प्रणालीलाई सहज बनाएको छ भने बससेवा जस्ता एपमार्फत् लामो दुरीको टिकट र खल्ती, इसेवाजस्ता एपमार्फत् जहाजको टिकटसकेत आफैँले काट्न सक्ने अवस्था छ ।
कतिपय शिक्षाविद्हरू इन्टरनेटले ज्ञानको दायरा फराकिलो बनाइदिएको दाबी गर्छन् । कोभिड–१९ महामारीका बेला जुममार्फत् भर्चुअल कक्षा सञ्चालन हुनुले नेपालको शिक्षा प्रविधिमा ठुलो फट्को मारेको हो । त्यस्तै, विकिपिडिया, गुगल र युट्युब अहिले विद्यार्थीका लागि सबैभन्दा ठुला शिक्षक बनेका छन् ।

कुनैबेला समाचार पढ्न पत्रिका नै किन्नुपथ्र्यो, बिहानसम्म कुर्नुपथ्र्यो भने अहिले सेकेन्डभरमा समाचार हातमै पुग्छ । कुनै घटना हुनासाथ सर्वसाधारणले नै भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने हुँदा मूलधारका मिडियाभन्दा छिटो सूचना प्रवाह हुन थालेको छ । यद्यपि प्रविधिको दुरुपयोगले कहिलेकाहीँ समस्या पनि ल्याउने गरेको छ । टेलिभिजनमा निश्चित समय कुर्नुको सट्टा युट्युब, नेटफ्लिक्स वा टिकटकमा आफ्नो फुर्सदको समयमा सामग्री हेर्ने बानीको विकास भएको छ भने आफ्नो क्षमता देखाउने खालका भिडियो पोस्ट गर्न मिल्ने हुँदा कतिपयले राम्रै आम्दानी गरेका पनि छन् ।

वार्षिक सवा खर्बको आइटी सेवा निर्यात

इन्टरनेट र प्रविधिमा फट्को मार्दै नेपालले आइटी सेवा निर्यात पनि बढाउँदै लगेको छ । पर्याप्त स्रोतसाधनको अभाव विद्यमान रहे पनि सरकारले नीतिमार्फत् आइटी निर्यात गर्न सकिने बनाएपछि अहिले नेपाली युवाहरूको आकर्षण देखिएको हो । पछिल्लो अध्ययन प्रतिवेदन २०२२ अनुसार ६७ अर्ब रुपैयाँ बराबरको आइटी सेवा निर्यात भएको छ । तर, नेपालले आइटी सेवा निर्यात गरेर वार्षिक सवा खर्ब रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको सम्बद्ध उद्यमीहरूले बताएका छन् ।

नास्ट आइटीका अध्यक्ष गौरव पाण्डेले सन् २०२२ को तथ्यांकले ५१५ मिलियन डलर (करिब ६७ अर्ब रुपैयाँ) निर्यात देखाए पनि अहिले त्यो बढेर १ अर्ब डलर (करिब १ खर्ब ३३ अर्ब रुपैयाँ) नाघिसकेको बताए । पाण्डेले विश्वमा भइरहेको एआईको क्रान्तिलाई मानव इतिहासकै महत्वपूर्ण मोडका रूपमा व्याख्या गरे । नाष्ट आइटीकी महासचिव अलिशा श्रेष्ठले आइटी उद्यम गर्ने कम्पनीहरू नेपालमा बढ्दै गएको बताइन् । ३२ वटा कम्पनीबाट सुरु भएको नास्ट आइटीमा अहिले ८० भन्दा बढी कम्पनी आबद्ध भइसकेको उनले जानकारी दिइन् ।

अमेरिका, अस्ट्रेलिया, बेलायत र जापान जस्ता मुख्य बजारहरूसँग दोहोरो कर मुक्ति सम्झौता गरेमा लगानीकर्तालाई नेपालमा काम गर्न थप सहज हुने उनीहरूको भनाइ छ । नेपाल भूपरिवेष्ठित देश भएकाले सामान निर्यात गर्दा लजिस्टिक खर्च उच्च हुने तर आइटी सेवा इन्टरनेटको माध्यमबाट पठाइने हुँदा यसमा नेपाललाई ठुलो लाभ हुने विज्ञहरू बताउँछन् ।

विश्वका ठुल्ठुला ब्रान्डले पनि सफ्टवेयर डेभलपमेन्टको अधिकांश काम दक्षिण एसियाली देशमै गर्ने गरेका छन् । विशेष गरी युरोप, अमेरिका र अस्ट्रेलियाका ब्रान्डहरू भारत, पाकिस्तान, नेपाल र बंगलादेशमा काम गर्न रुचाउँछन् । यहाँ, उनीहरूले तिर्नुपर्ने पैसा पनि तुलनात्मक रूपमा कम हुन्छ । विभिन्न फ्रिल्यान्स प्लेटफर्ममार्फत् आइओएस (एप्पलको मोबाइल अपरेटिङ सिस्टम), एन्ड्रोइड, फेसबुक, टिकटकलगायत धेरै बहुराष्ट्रिय कम्पनीका लागि सफ्टवेयर तथा एप डेभलप गर्ने काममा स्वतन्त्र वा ‘थर्ड पार्टी कम्पनी’मार्फत् नेपाली दक्ष डेभलपरहरू संलग्न छन् ।

रूपान्तरणसँगै चुनौती

हरेक क्षेत्रमा अवसरसँगै चुनौती पनि हुन्छन् । प्रविधिको विकास र इन्टरनेटमार्फत् भएको रूपान्तरणले जति मानव जीवनलाई सजिलो बनाएको छ, जोखिम पनि त्यति नै ठुलो छ । अनलाइन कारोबार र डिजिटल प्लेटफर्मको संख्या बढेसँगै साइबर सेक्युरिटी एउटा गम्भीर चासोको विषय बनेको छ । बैंकिङ कसुर, ठगी, ह्याकिङ र सामाजिक सञ्जालमा हुने गालीगलौज÷मानहानिका घटना बढेका छन् । सामाजिक सञ्जालमा फैलिने अफवाहले समाजमा भ्रम, उत्तेजना र द्वन्द्व फैलिने ठुलो चुनौती छ । धेरैजसो नेपालीको क्रयशक्तिले नधान्ने मोबाइल, कम्प्युुटर, ल्यापटप नेपाली बजारमा आउँछन् । प्रयोग गर्नैपर्ने, तर आर्थिक अवस्था कमजोर हुँदा धनी–गरिब भन्दै तयार पारिने मानसिक खाडल झन बढ्ने खतरा छ । सहरमा ५जीको कुरा हुँदा गाउँमा अझै भरपर्दो नेटवर्क नपुगेको अवस्था छ, जसका कारण नयाँ पुस्ता सहर केन्द्रित बन्दै गएको छ । व्यक्तिगत विवरण, तस्बिर दुरुपयोग गरेर अपराधीहरूले हानि गर्न सक्ने जोखिम पनि उत्तिकै छ । सरकारले कडा कानुन बनाएर कार्यान्वयन गर्नु, आममानिसलाई सुरक्षाबारे जानकारी गराउनु अनिवार्य भइसकेको छ ।

प्रतिक्रिया