कलाकारितामा सीमा सफलता

काठमाडौं । गायिका सीमा गुरुङले कलाकारितामा संघर्षसँगै सफलताको फड्को मारेकी छन् । गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल उनको स्याङ्जाको हरिनास गाउँपालिका खैरिकोट (साविकको किचनाश गाविस ६ मा बुवा डम्बरबहादुर गुरुङ र आमा गोमाको कोखबाट पहिलो सन्तानको रुपमा जन्म भएको हो ।

सानै उमेरदेखि गायनमा रुचि भएकी उनले सुरुवाती दिनमा यस क्षेत्रमा आउन आफूले निकै कठिनाइ भएको अनुभव सुनाइन् । तर, लोक संगीतको उर्वरभूमि भनेर स्याङ्जालाई चिनिने भएकाले पनि उनलाई गीत संगीतको हावाले छोइसकेको थियो । उनकै गाउँमा थुप्रै लोकप्रिय कलाकार भएकै कारणले पनि लोक संगीतको हावाले छोएको गायिका सीमाले सुनाइन् । सानैदेखि गीत संगीतमा निकै रुचि राख्ने उनले गायक राजु परियार र गायिका बिमाकुमारी दुराको गीत सुन्ने र आफै पनि उनीहरुको गीत गुनगुनाउने गरेको बताइन् । ‘उहाँहरुको गीत मलाई निकै मनपर्ने गथ्र्यो’, गायिका सीमाले भनिन्, ‘तर बुवा र आमाले भने पटक्कै मनपराउनु हुन्थेन ।’ सुरुवाती समयमा घरमा बुवाआमालाई भने छोरीले गीत गाएको पटक्कै मन नपराउने गरेको अनुभव उनले सुनाइन् । घरकी जेठी छोरी राम्रोसँग पढेर अन्य जागिर गरोस् भन्ने बुवाआमाले धेरै नै रहर गरेको सुनाउँदै उनले आफूलाई भने त्यो समय गीत संगीतको नशाले छोइसकेको बताइन् ।

विद्यालयमा हुने एकल लोकगायन प्रतियोगिता र नृत्य प्रतियोगितामा सहभागी हुने सीमा प्रायः प्रतियोगितामा पहिलो र दोस्रो स्थान हासिल गर्ने गरेको बताइन् । विद्यालयस्तरको पढाइ सकेर उनी उच्चशिक्षा अध्ययनसँगै गायिका बन्ने सोच बोकेर २०७४ सालमा पहिलो पटक काठमाडौं छिरिन् । काठमाडौं छिरेपछि सीमाले २०७५ सालमा आफ्नै लगानीमा ‘रित्तै हजुर’ बोलको पहिलो गीत गायक खेम भण्डारीसँग रेकर्ड गराएको तर बजारमा भने आउन नसकेको बताइन् । त्यसपछि उनले आफ्नो सांगीतिक यात्रा अझै अब्बल बनाउनका लागि सोल्टिनी दोहोरी साँझबाट संघर्षको यात्रा सुरु गरिन् । त्यसपछि उनले दोस्रो एल्बमको रुपमा ‘आँधिखोले’ बोलको रोइला गीत गायक चेतन गोतामेसँग सहकार्य गरेर बजारमा ल्याइन् । त्यसपछि गायक नेत्र भण्डारीसँग ‘पछ्यौरीको सप्को’ बोलको दोहोरी गीत बजारमा ल्याएको बताइन् । साथै, उनले अहिले पनि केही दिनअघि मात्रै ‘स्याङ्जा बजार’ बोलको कौडा गीत बजारमा ल्याएको जानकारी दिइन् ।

गायिका गुरुङको ‘तनहुँ बन्दिपुर’ बोलको दोहोरी गीत र ‘ङोलो ठागु नहौ दोमन’ बोलको कौडा गीत छिट्टै बजारमा आउने तयारीमा रहेको बताइन् । उनी सांगीतिक कार्यक्रमको लागि गण्डकी भेगका प्रायः सबै ठाउँमा पुगिसकेकी छन् । उनी तीन वर्षअघि ल्होसार कार्यक्रमको लागि कतारसमेत पुगेकी थिइन् । स्टेज कार्यक्रममा पुगेपछि दर्शकलाई नचाउने र झुमाउने शैली भएकै कारण एक पटक कार्यक्रम गरेको ठाउँमा फेरि हुने गरेको सीमाले जिकिर गरिन् । साथै, उनले आगामी दिनमा अझै मौलिकपनका गीत पस्किएर फरक पहिचान बनाउने लक्ष्य लिएको सुनाइन् । ‘मैले यही क्षेत्रलाई आफ्नो पेशा ठानेर कर्ममा अघि बढेको छु’, उनले भनिन्, ‘थप फरक पहिचान र मौलिकपनको सांगीतिक पाटो यसै क्षेत्रमा खोजिरहेको छु ।’ गायिका सीमा गीत संगीतमा मात्रै सीमित नभएर उनि मिस गुरुङ सन् २०२२ को फस्ट रनअरअप समेत हुन् ।

प्रतिक्रिया