बसाइँसराइले रित्तिँदै जैमिनीका गाउँ

बलेवा । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिराले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए । बसाइँसराइले अहिले गाउँ नै रित्तिएको छ ।

सोही वर्ष जैमिनी–९ पैञ्युथन्थापको पिप्लेगाउँका सबै उठ्ने गरी पहिरो खस्यो, सात घरपरिवार जोखिममा परे । मानवीय क्षति नभए पनि अधिकांश घरको उठिबास लाग्यो । पैञ्युथन्थापकै घ्युरमा आएको पहिराले गाउँले विस्थापित बने । यस्तै यस्तै कारणले यहाँका बस्ती खाली हुँदै छ ।

जैमिनैकै दमेक, जैदी र बिनामारेमा पहिराले धेरै धनजनको क्षति भयो । तत्कालका लागि पहिराले पु¥याएको क्षतिको राहत त पीडितले पाए, तर बाढीपहिरो, बाँदर र विकास अभावले भइरहेको बसाइँसराइका दीर्घकालीन प्रभाव भने देखिन सुरु गरेको छ । प्राकृतिक प्रकोपका कारण भइरहेको बसाइँसराइको एउटा ज्वलन्त उदाहरण हो जैमिनीको जनसंख्यामा आएको गिरावट । ०७८ सालमा भएको राष्ट्रिय जनगणनाको तथ्यांकले यही उजागर गरेको छ ।

जैमिनीकै मुटु कुश्मीशेरामा रहेको शान्ति माध्यमिक विद्यालयको एसइई ब्याच ०६४ का एक सय बढी विद्यार्थीमध्ये अधिकांशले कक्षा १२ उत्तीर्ण गरेपछि जैमिनी छाडेका जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । शान्ति माविमा जैमिनीका अधिकांश विद्यार्थीले अध्ययन गर्थे । उच्च शिक्षाका लागि घर छाडेर हिँडेकामध्ये धेरैजसो गाउँ फर्किएनन् । युरोप, अमेरिका र देशकै ठूला सहरमा पुगेकाहरू उतै बसेका उनले बताए ।

रोजगारीका अवसर गाउँमा नहुनु, कृषि पेसाले मात्रै गुजारा नचल्नुलगायतन कारणले नगरको जनसंख्या घट्दो छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जैमिनीमा २ दशमलव ५३ प्रतिशत जनसंख्या ऋणात्मक रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको जनसंख्या ३२ हजार ४६ रहेकामा १० वर्षपछि २४ हजार ६ सय २८ मा झरेको छ । ऋणात्मक जनसंख्या हुनेमा फलेवास नगरपालिका पनि रहेको छ ।

‘जनसंख्या धेरै घटेको पाइएको छ,’ उपप्रमुख शर्माले भने । देश बाहिरभन्दा देशभित्रै बसाइँ सरेर जाने जैमिनीमा धेरै छन् । जैमिनीका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले बसाइँसराइसँगै जन्मदर घट्दा जनसंख्या घटेको बताए । जैमिनीमा एक प्रतिशतभन्दा कम जन्मदर रहेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया