बंगलादेशसँग नेपालको बराबरी

काठमाडौं । सुरुवाती अग्रता जोगाउन नसक्दा साफ यू–१७ महिला च्याम्पियनसिपको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपाल घरेलु टोली बंगलादेशसाग बराबरीमा रोकिएको छ । नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेलेको हो । बंगलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको खेलमा नेपालकी सेनु परियारले गोल गर्दा बंगलादेशकी एमएसटी सागोरिकाले बराबरी गोल फर्काइन् ।

खेलको आठौं मिनेटमा सेनु परियारको गोलबाट नेपालले सुरुवाती अग्रता लिएको थियो । तर त्यो अग्रतालाई नेपालले दोस्रो हाफमा जोगाउन सकेनन् । ७५औं मिनेटमा सागोरिकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
यस बराबरीसँगै बंगलादेशको पनि उपाधि जित्ने सम्भावना सकिएको छ । बंगलादेशले ४ खेलबाट ७ अंक जोड्यो । यसअघि नै उपाधि होडबाट बाहिरिएको नेपालले ४ खेलबाट ४ अक बटुल्यो । भुटान अंकविहीन हुँदै बाहिरिसकेको छ ।

भारत र रसियाबीचको खेलबाट नै विजेताको टुंगो लाग्नेछ । रसिया ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलबाटै भारतको ६ अंक छ । भारतलाई च्याम्पियन बन्न जित आवश्यक रहँदा रसियालाई बराबरी नै पर्याप्त हुनेछ ।

प्रतिक्रिया