संस्कृति, संस्कार र परम्परा

मोहनप्रसाद सापकोटा

कर्णवेध

संस्कारका संख्या र नामलाई लिएर शास्त्रमा मतैक्यता छैन । गौतमले ४८ वटा संस्कारका नाम लेख्दा कर्णवेध लेखेका छैनन् । उता पराशरले १६ संस्कारको नाम लेख्दा त्यसमा कर्णवेध पनि लेखेका छन् । पारस्कर गृह्यसूत्रमा कर्णवेधको प्रसंग छैन । यसैले यो अन्य गृह्यसूत्रबाट आएको प्रचलन देखिन्छ (त्यो कुन हो हेर्न भ्याएको छैन) । सामान्य किसिमले दुई वटा मन्त्र प्रयोग गर्ने बाहेक कान छेड्दा विशेष अन्य कुनै मन्त्रको प्रयोग भएको कर्मकाण्डका पुस्तकहरूमा पाइन्न । तैपनि प्रचलन पनि संस्कार नै मानिएकाले शुक्ल यजुर्वेदाध्यायीहरूले पनि कर्णवेध गर्ने गरेको पाइन्छ ।

कान छेडेपछि तुरुन्त मुन्द्रा लाउनुपर्ने कुरा लेखिएको हालसम्म पाएको छैन । छेस्का हाल्नु भन्ने कुरा आयुर्वेदका ग्रन्थमा पाइन्छ । तर स्नातक धर्मका (अध्ययन सकेपछिको अवधि) कुरा गर्दा अनेकौँ स्थानमा कानमा सुनको मुन्द्रा वा कुण्डल लगाउनू भनिएको छ । कतैकतै ब्रह्मचारी हुँदा (अध्ययन काल) मा पनि कुण्डल लगाउनु भनिएको छ । त्यसैले लगाउनु भनिएको समयमा लगाउनका लागि भए पनि छेडिएको कान बुझिन दिनु त भएन ।
जेजस्ता प्रसंग र विवरण संकलित छन् त्यसका आधारमा मैले भन्नुपर्दा लगाउनेको शरीरलाई आन्तरिक र बाह्य कारणले कुनै समस्या पर्दैन भने कानमा सुनका मुन्द्रा लगाउनु फाइदाजनक नै हुन्छ ।

विवाह संस्कार पनि अब त त्यान्द्रो मात्र बाँकी छ । अबका केही वर्षमा वेदका मन्त्रको दुरुपयोग गर्दै चर्चमा जेजसरी विवाह हुन्छ त्यसरी नै बिहे गर्ने खालका नाम मात्रका हिन्दूहरूले पृथ्वी भरिनेछ । कलियुगे पण्डितहरूले यसरी गरिने विवाहलाई पनि वेदसम्मत छ भनी व्याख्या गरिदिनेछन् । टाइम टाइमकी बात हे भाइ । स्वस्थानीमा येशु छिर्न हुन्छ भने संस्कारमा छिर्न किन नहुने ? त्यसैले अन्य संस्कारका के कुरा गर्नु हौ, खैर एउटा लोप भइसकेको संस्कारका बारेमा जानकारी दिन चाहेँ ।

व्रतबन्ध, विवाह आदिजस्ता मंगलकर्म गर्नुभन्दा ३, ५, ७ वा ९ महिना पहिले सम्पूर्ण जुराउनुपर्ने कुरा जुराई घरलाई मंगलकर्म गर्नेबेलामा जे जसरी सजाइनेछ त्यसरी नै सजाई मंगलदायक बिरुवा रोप्नु वा सार्नु पर्दछ । यसका अन्य नियम पनि बताइएका छन् । यो संस्कार कतै प्रचलनमा भएको कुरा मलाई थाहा छैन । यसलाई मंगलांकुरण संस्कार भनिदो रहेछ ।

बेहुलाले बेहुलीको छाती छुने संस्कार

विवाहमा पण्डितले भन्दछन्, ‘ल अब बेहुलाले बेहुलीको छाती छुने’ । सबै घरगाउँले र जन्ती कुतूहलताले वरवधूलाई आँखा झिमिक्क पनि नगरी हेरिरहेका हुन्छन् । बिहे भइसकेकाहरू आफ्ना पालाका अनुभव सम्झन थाल्दछन् । त्यसपछि दुलहा केही लजाउँदै र केही उन्मादित हुँदै बेहुलीको छाती छुन पुग्दछ । उपस्थित मानिस मनोरञ्जन लिँदै रमाइरहेका हुन्छन् । तर यो विधि के मनोरञ्जनकै लागि भनेर गरिने विधि हो त ? होइन । एकचोटी त्यसबेला पढिने मन्त्रको अर्थ हेरौँ ः–

‘हे कन्या, शास्त्रमा बताइएका नियम पालनाका लागि म तिम्रो हृदय छुँदै छु । तिम्रा चित्तवृत्ति मेरा अनुकूल बनुन् । तिमी एकनिष्ठभावले मेरा भनाइहरूको अनुगमन गर्ने बन्नु । प्रजापति देवताले तिमीलाई आजबाट आमरण मसँग एकाकार गरुन् । तिमी हरेक दृष्टिले मेरी सहयोगिनी बन्न सक ।’

वैदिक मन्त्रहरूको शक्तिको रहस्य अचम्म लाग्दो छ । वैदिक मन्त्रको शक्तिको आर्जन र जगेर्ना गर्न नसक्ने व्यक्ति ब्राह्मण नै हुँदैन पनि भनिएको छ । जोसँग यस्तो शक्ति हुन्थ्यो तिनलाई नै वेद पढाउने र अन्य प्रमुख संस्कार गराउने अधिकार हुन्थ्यो । यसैले राम हुन् वा कृष्ण वा अन्य महापुरुष नै किन नहुन् यस्ता आचार्यलाई प्राप्त गर्न आपैmँ ढाढाटाढा जान्थे वा आमन्त्रण गरेर तीमार्फत आफ्नो संस्कार गराउँदथे ।

हृदय स्पर्श गरेर वा चरणस्पर्श गरेर शक्ति प्राप्त गर्ने वा दिने कुरा स्पर्श–विज्ञानसँग जोडिएको देखिन्छ । यसका नाताअनुसार, स्थानअनुसार र संस्कारअनुसार अनेकौँ विधान छन् । सबै कुरा लेख्न सामथ्र्य छैन । हृदय छुने कुरालाई भने केही तन्काउन खोजेँ । मानिस जबसम्म आफू ऊर्जाशील हुँदैन तबसम्म उसले अरूलाई ऊर्जा स्थानान्तरण (ट्रान्सप्लान्ट) गर्न सक्दैन । यसैले अपवादमा बाहेक उपनयन गरी विधिपूवर्क वेद नपढ्दासम्म उसलाई यो कार्य गर्ने अधिकार दिइएको छैन । अर्थात् मानिस यदि ऊर्जाशील हुन्छ भने त्यो वेदमार्पmत नै हुन्छ । तपाईं हामीले मान्ने गरेका प्रायः सबै दैवी पात्रले समेत वेदाध्ययन गरेको उल्लेख पाइन्छ ।

व्रतबन्धमा सबैभन्दा पहिले व्रतबन्ध गराउने आचार्यमार्फत कुमार केटालाई हृदय छोई ऊर्जाको केही अंश स्थानान्तरण गरिन्छ । त्यसपछि उसमा सारिएको त्यो ऊर्जाको अंशलाई गुरुकुलमा ब्रह्मचर्यका कठोर नियम पालना गराउँदै बढाइन्छ । यसको विशेष प्रयोजन भनेको उसले फेरी त्यो ऊर्जा पत्नीलाई, सन्तानलाई वा आवश्यक पर्दा जोकोहीलाई स्थानान्तरण गर्न सकोस् भन्ने नै हो । निचोडमाा भन्नुपर्दा ऊर्जा ग्रहण नगरेको वा ग्रहण गरेको ऊर्जा नबढाएको व्यक्तिले ढोगाउन र विभिन्न संस्कारका क्रममा हृदय स्पर्श गरी त्यो ऊर्जालाई स्थानान्तरण गर्न नसक्दो रहेछ । आफैँ ऊर्जाशील नहुनेले यी कार्य गर्नु ढोंग मात्र हुँदो रहेछ ।

भैरवको मखुण्डो र रातो मच्छिन्द्रनाथ

कहाँबाट, किन र कसरी मच्छिन्द्रनाथलाई नेपाल लेराइयो भन्ने किंवदन्तीहरू यत्रतत्र प्रशस्त पाइन्छन् । (वंशावली इतिहास होइन तर इतिहास नपाउँदा यसैको भए पनि आश्रय लिनुपर्ने हुन्छ । पढ्दा यो कुरा मनन गरिदिनुहोला) । उपत्यकामा भोटोजात्राको दिन पारेर मुकुन्द सेन प्रथमले एक लाख सेनासहित आक्रमण गरेका रहेछन् । जात्रामा सबै एकधुन भएर लागेका हुनाले कुनै प्रतिकार भएनछ । मच्छिन्द्रनाथको गलामा अहिले रथयात्राको बेलामा देखिने माला तिनैले चढाएका रहेछन् । पहिला मच्छिन्द्रनाथको रथभन्दा अघिअघि भैरवको पनि रथ तान्ने चलन रहेछ । मुकुन्दसेनलाई त्यो भैरवको मूर्ति साह्रै राम्रो लागेछ रथ ध्वस्त गरी मूर्ति कब्जा गरेर पाल्पातिर पठाएका रहेछन् । त्यसपछि उनका सेनाले विजय उन्मादमा उपत्यकामा अनेक उद्दण्ड कार्य गरेछन् । अन्न बाली नाश गर्ने, मन्दिर तोडफोड गर्ने जस्ता मात्र होइन त्योभन्दा पनि निकृष्ट कार्य गरेको पनि त्यहाँ उल्लेख छ । त्यसपछि अर्थात भैरवको मूर्ति नै नभएपछि परम्परा धान्न रथको अग्रभागमा भैरवको मखुण्डो राखी रथ तान्ने चलन चलाइएको रहेछ । पढेको आधारमा प्रसंग कोट्याएँ, सत्यतथ्य सरोकारवालाहरूले खोजुन् ।

नयाँ अन्न र होम

अन्न उत्पादनमा संलग्न हुने दृश्य अदृश्य सबै पात्रलाई चढाउन मंसिरमा नयाँ अन्न होम गर्नुपर्ने विधान छ, शास्त्रले यो होम फुर्सदमा गर्नु भन्दैन, प्रमुख नयाँ अन्न घरभित्र हुलेपछि नै गर्नु भन्दछ । चलन अझै बाँकी छ । किराँतहरू यस अवसरमा साकेला (उभौली) पर्व मनाउँदछन् । विधि फरक छ तर पूजा प्रकृतिकै वा ऋतुकै हो र ध्येय कृषि उत्पादनसँग नै गाँसिएको हुन्छ । अब त आआफ्ना परम्पराअनुसार गरिने प्रकृति पूजा पनि देखावटी (सो पिसमा सीमित) हुँदै गइरहेका छन् । यति मात्र होइन कम्तीमा पनि मंसिर र पुस दुई महिना नयाँ अन्न नै खानु भनेरसमेत आयुर्वेदका ग्रन्थमा लेखिएको रहेछ ।

शास्त्रमा धेरै ठाउँमा एउटा वचन आउँछ ‘ऋतु, संस्कार, नियम, खाने वा नखाने नियम आदि यावत् कुरा जे जति लेखिएका छन् ती उत्तरमा हिमाल र तीनतिर समुद्रका बीचमा पर्ने थातथलोका वासिन्दाका लागि हुन् ।’ यसले के बुझाउँछ भने हाम्रा ग्रन्थका प्राकृतिक नियम विशेषहरू यही भूगोलमा लामो अनुसन्धानपछि बनाइएका नियम हुन् । हामीले पनि तिनलाई विज्ञानसम्मत ढंगले खोज गर्न जरुरी छ । अन्तका नियम यस क्षेत्रमा लेराएर प्रयोग गर्दा त्यो प्रत्युत्पादक हुने गर्दछ, भइरहेछ ।

मलाई अर्को एउटा पौराणिक कुराले सधैँ अचम्म पार्ने गर्दछ । जहाँजहाँ प्रकृतिको वर्णन गरिएका हुन्छ । त्यहाँ त्यहाँ प्राकृतिक ताल, तलैया, झर्ना र फलफूलका प्राकृतिक बगैँचाको अचम्मसँग वर्णन गरिएको हुन्छ । यो क्रम संस्कृतका महाकवि कालिदास (जो नेपालकै थिए भनिन्छ, हामी अनुसन्धान गर्दैनाँै) वा त्यस समय पछिसम्म पनि देखिन्छ । पछि यस्तो अनुपम प्राकृतिक छटा यो क्षेत्रबाट कसरी लोप हुँदै गयो, पत्ता लगाउन सकेको छैन ।

आजभन्दा करिब सय वर्षअघि जापानी विशेषज्ञको एक टोलीले नेपालको अधिकांश भूभागको भ्रमण गरी यहाँ पाइने वनस्पति, बोट, विरुवा र कृषिजन्य उत्पादनका विषयमा अनुसन्धान गरी एउटा सचित्र पुस्तकसमेत लेखेका रहेछन् । उक्त पुस्तकको सार सुन्नुभयो भने हामी कतिसम्म पतनतिर गइरहेको छौँ भन्ने प्रमाण पाइन्छ । त्यस पुस्तकमा भनिएको छ ‘यो देशमा पाइने जडीबुटी, यहाँका जनताले परम्परागतरूपमा उत्पादन गर्ने कृषिजन्य पदार्थहरू र त्यसलाई जीवनको अभिन्न अंग बनाउँदै चलाइएका संस्कृतिहरू विश्वका सबै क्षेत्रका जनताका लागि औषधि हुन्भन्दा पनि फरक पर्दैन’ । दुःख लाग्दछ, अहिले हामीसँग सय वर्ष अगाडि उत्पादन हुने प्रायः सबै कुराको बिउसमेत पनि बाँकी छैन । अमेरिका, सिंगापुर, आदि विकसित देशमा अरू देशबाट बिउवीजन लेराएर खेती गर्न निषेध गरिएको हुन्छ, भन्सारमा कडा जाँचबुझ हुन्छ । हामी त पुङमाङे हुँदै गइरहेका छौँ, आफ्नो भन्ने केही पनि जोगाउन सकिरहेका छैनौँ । यसलाई पनि विकसित संस्कार मान्ने नै होला नि होइन र ?

रौँ र शास्त्र

कुनै भोजमा जाँदा वा कतै गतिला होटल वा रेस्टुराँमा जाँदा खाना बनाउने, पस्कने र दिनेले टाउकामा विशेष किसिमको टोपी लगाइरहेको देखिन्छ । रौंमा शरीरका अरू अंगमा भन्दा किटाणु बस्न सक्दछन् बसेको हुन्छन् । त्यसैले खाने कुरामा रौं नपरोस् भनेर यसो गरिएको हो । यो आधुनिक संस्कृति हो ।

शास्त्रमा कुनै पनि प्रयोजनका लागि रौं मिश्रित काँचो वा पाकेको खाद्यान्न प्रयोग गर्न र खान निषेध गरिएको छ । देवकर्म वा पितृकर्म गर्दा रौं मिश्रित वस्तु प्रयोग गरे कुनै फल नपाइने कुरा लेखिएको छ भने त्यस्तो खाना खाँदा राक्षसको भाग खाएको मानिनेछ भनिएको छ । आयुर्वेदीय ग्रन्थमा राक्षस भनेको भयंकर शक्तिशाली तर नांगा आँखाले देख्न नसकिने शरीरलाई नोक्सान गर्ने ब्रह्माको सृष्टि भनेरसमेत व्याख्या गरिएको छ ।

हाम्रा भान्छामा बस्ने प्रायः स्त्री हुन्छन् । केही वर्ष अघिसम्म टाउकामा नातो बाँधेर पकाउने चलन थियो, राती सुत्दा वा अघिल्लो दिन लगाएर नधोइएका लुगा लगाएर पकाउने चलन थिएन । यहाँसम्मकी चोलोसमेत लगाउन पाइन्नथ्यो । आजभोली भोजभतेरमा अति व्यस्त भइरहेका टाउकामा विशेष किसिमका टोपी लगाएका खाना वा अरू कुरा लिएर यताउता गरिरहेका व्यक्तिहरु देखेर म मेरी हजूरआमा एवं आमाले चुलामा नातो बाँधेर फुई फुई गरेर आगो फुकिरहेको पुराना दिनहरु झलझली सम्झिरहने गर्दछु । सबै प्रचलन र संस्कार गलत नहुँदा रहेछन्, बुझ्ने क्षमता (वा गिदी) चाहिँदो रहेछ ।

अमेरिकी संस्कार ‘पमकिन प्याच’

हिउँद सुरु हुनै लाग्दा अमेरिकाका फर्सीबारीमा मेला लाग्दो रहेछ । फर्सी आदिको खेती गरिएका खेतबारी घुम्ने र विशेषतः फर्सी किनेर घर लैजाने गरिँदो रहेछ । यसबाहेक मेलामा अन्य कृषि उत्पादन बेच्ने, रेल जसरी जोडिएका ट्याक्टर चढ्ने, परालको मेचमा बस्ने, घोडा चढ्ने आदि जस्ता काम पनि हुँदा रहेछन् । मकै, फर्सी आदिका परिकार खान पनि विशेष भिड लाग्दो रहेछ । यस्तो बारीलाई यहाँ ‘पमकिन प्याच’ भनिँदो रहेछ ।
इसाइ धर्मावलम्बीहरू (र अन्य) ले हरेक वर्षको ३१ अक्टुबरका दिन मनाइने हैलोविन नामक पर्व विशेषका दिन अनुहारजस्तो बनाएर भित्र मैनबत्ती बाली फर्सी राख्ने चलनअनुसार फर्सी किनेर लगिँदो रहेछ ।

हैलोविन पर्वमा आत्माहरू चिहानबाट (वा अन्य लोकबाट) बाहिर आउँदछन् र यस दिन गरिने प्रार्थना आदिबाट विश्वभर शान्ति हुन्छ भन्ने विश्वास रहेछ । जे जे गर्दा खराब आत्माहरू खुसी हुन्छन् यो रात त्यही त्यही गर्ने संस्कार रहेछ । फर्सीलाई खप्परको आकार बनाई प्वाल पारेर भित्र खोक्रो बनाई मैनबत्तीसमेत बालिँदो रहेछ । यस्तो फर्सीभित्र बालिने बत्तीलाई ‘ज्याक ओ ल्याट्रिन’ भनिन्छ र यसका बारेमा पनि कथाप्रसंग पाइन्छ । पछि यो फर्सीलाई गाडिने वा सेलाइने गरिन्छ रे !

हैलोविन पर्वको साँझ डरलाग्दा लुगा लगाई बाहिर बत्ती बालिएका घरघरमा गएर चकलेट बटुल्ने कार्य गरिन्छ । आजकल यो कार्य अभिभावकको उपस्थितिमा बालबालिकाले मात्र गर्दछन् । यसलाई ट्रिक वा ट्रिट भनिँदो रहेछ । म यो जानकारी पाएसँगै नेपालमा खेलिने भैलो र देउसी (आदि) सम्झन पुग्दछु ।

पहिले पहिले यो पर्व नयाँ वर्षका रूपमा मनाइने गरेको र यो दिन व्रतसमेत बसिने चलन रहेछ । किसानहरूको बालीनाली तयार भएपछि दुष्ट आत्माहरूले आएर त्यस्तो बालीनाली नष्ट नगरुन् भनी तिनलाई तर्साउन वा खुसी पार्न डरलाग्दो रूप बनाएर बस्ने परम्परा चलेको रहेछ । आजकल यो मनोरञ्जनको तरिका मात्र हुन पुगेको छ भनिन्छ ।

यो पर्वको उद्देश्य हिन्दूहरुको होली, गठेमुंगल, यमपञ्चक आदि पर्व जस्तै जस्तै रहेको देखिन्छ । यमपञ्चक र यो पर्व एउटै हप्तामा पर्नु संयोग मात्र हो भन्न मिल्दैन । आफ्नो संस्कार र संस्कृतिप्रति भद्दा मजाक गर्ने म जस्ता उडन्तेलाई अत्यन्त विकसित अमेरिकी समाजको आफ्नो संस्कृतिप्रतिको प्रेम देखेपछि लाज लाग्दो रहेछ । आफ्ना हरेक संस्कृतिमा किन भनी प्रश्न गर्नेहरू पनि यस्तो संस्कृति मनाउन पाउँदा किन नभन्ने बन्दा रहेछन् । मनमा उठेका अनेक कुरा लेख्न र यस पर्वका बारेमा धेरै कुरा जानकारी दिन सकिएन, सारांशमा केही बटुुलबाटुल पारी टाँसेँ ।

अन्त्यमा…

उपत्यका भित्रका नेवारहरूसँग जति संस्कृति र धरोहर छन् त्यो नेपालभरी त के विश्वभरी कुनै जातजातिसँग पनि छैन । म यो कुरालाई हृदयदेखि नै स्वीकार गर्दछु । नित्यकर्म र खेतीपातीमा प्रयोग हुने सबै औजार र हातहतियार अष्टमीका दिन बिँड फुकालेर जमराघरमा लेराएर तथा तथा मेसिनहरू धोइपखाली गरी यथास्थानमा पूजागर्ने चलन पहाडियाहरूमा पनि थियो र अझै पनि बाँकी छ । आयातीत संस्कृतिले यसलाई पनि क्रमशः लोप गर्दै लगिरहेको छ ।

शक्तिको आराधना गर्ने विषय नै तन्त्रमन्त्रसँग गाँसिएको विषय हो । मानिस साधना गर्न सक्ने नहुँदासम्म तन्त्रमन्त्र पनि अरू धर्मकर्म जस्तै देखावटीजस्तो बन्दो रहेछ । गुभाजू वा भट्टहरूमा अहिले आत्मसन्तुष्टी लिनुबाहेक पहिलेपहिलेजस्तो कुनै खूबी बाँकी रहेन । पहाडियाहरूले गर्ने शक्तिको आराधनामा पनि तामसी आराधनाले पेल्दै गएको छ । तामसी र सात्विक आराधना हराउँदै गएका छन् । बाँकी छ त केवल विश्वास मात्र । जब विश्वास पनि टुट्छ तब केही पनि बाँकी रहन्न ।

उपत्यकामा राज्य गर्ने विभिन्न शाहवंश बाहेकका राजाहरू शक्तिका साँच्चिकै उपासक थिए । वज्रजोगिनी, विजेश्वरी, हारती माता, चार वाराही, इन्द्रायणी, तुलजा, भाटभटेनी, इन्द्रायणी, नरदेवी, संकटा, पलाञ्चोक, शोभा भगवती, नक्साल भगवती, ज्ञानेश्वर भैरव, आदि आजभोली भिन्न नामले प्रख्यात सबै मन्दिर र मूर्तिहरूको स्थापना देश र जनताको रक्षा गर्न तान्त्रिक विधिले गरेको वंशावली र इतिहासले बताएका छन् । अब त सबै शक्ति धनमा अदलाबदली हुन थालेको छ । भित्रैदेखि आस्था हुने र साधना गर्नसक्ने खुबीहरू लोप हुन थालेका छन् । जसले जे कुरा बढी देखाउन सक्छ त्यही बजारमा बिक्न थालेको छ । अरूका धर्म र संस्कृतिलाई सन्मान गर्ने बानी हराउँदै गएको छ । ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने विचार मौलाएको छ ।

धार्मिक स्वतन्त्रतामा मात्र होइन दिमागी स्वतन्त्रता पनि कुण्ठित हुन थालेका छन्, बिक्न थालेका छन् । पैसाका लागि धर्म बदल्छन् र दोष लगेर धर्मका नाममा चलेका कुसंस्कारलाई थोपर्दछन् । मुसा लागे भन्दै बस्ने घरसमेत डडाउँदै हिँड्ने चलन बढेको छ । यो विकृतिबाट जोगिन सकिए मात्र अनेकताभित्र एकता जीवित रहन्छ । म यस मानेमा उपत्यकाका नेवारहरूले जेजति आफ्ना धर्म र संस्कृतिलाई संरक्षण गर्न सकेका छन् त्यसका निम्ति मनैदेखि सलाम गर्न चाहन्छु । दसैँलाई मात्र होइन अरू संस्कारलाई पनि पहाडिया हिन्दूहरूले दक्षिणतिरबाट अतिक्रमणमा परी दसाजस्तो बनाइसके, जब थेग्न सकिन्न तब चाडपर्वहरू मात्र होइन संस्कारहरू पनि लोप हुन्छन् । सबैले यसलाई गम्भीर भएर मनन गरौँ ।

प्रतिक्रिया