इलामको माङसेबुङ गाउँपालिका ५ नम्बर वडा कार्यालयमा आगलागी

इलाम । इलामको माङसेबुङ गाउँपालिका ५ वडा नम्बर वडा कार्यालयमा गएराती आगलागी भएको छ । आगलागीबाट कार्यालयको प्राविधिक कक्ष र सभाहलमा क्षति भएको छ । राती अन्दाजी साढे ११ बजे आगलागी हुँदा कार्यालयको झ्यालसहित सोफा, टेबल, कुर्सी, दराज, कम्प्युटर, प्रिन्टर, कार्यपेटलगायत फर्नचर जलेर नष्ट भएको वडा सचिव माधव अधिकारीले जानकारी दिए ।

वडा कार्यालयको आगलागी स्थानीयबासीहरुको सहयोगमा राती नै नियन्त्रणमा आएको वडासचिव अधिकारीले बताए । ‘कार्यालयमा आगलागी भएको छिमेकीले थाहा पाएर गाउँघरमा होहल्ला गर्नुभयो । स्थानीयबासीको सक्रियतामा केही समयपछि नियन्त्रमा लिएकाले थप क्षति हुन पाएन’ वडासचिव अधिकारीले भने ।

वडा कार्यालयमा आगलागी भएपछि वडाबाट हुने सम्पूर्ण सेवाप्रवाह प्रभावित बनेको छ । आगलागीका कारण खुल्न सकेको छैन । आगलागी कसरी भयो भन्ने विषयमा केही खुल्न नसकेको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । ‘वडा कार्यालयमा आगलागी कसरी भयो वा कसले आगजनी गर्‍यो भन्ने विषयमा केही खुल्न सकेको छैन’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यस विषयमा अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरिएको छ । प्रहरीहरु घटनास्थल पुगिसक्नुभएको छ ।’

वडाको प्राविधिक समेत रहेका सचिव अधिकारी भने विहीबार साँझ ९ बजेसम्म सोही कार्यालयमा बसेर काम गरेका थिए । आफू साँझसम्म योजनाको काम गरेर बाहिर निस्किएको केही घण्टापछि कार्यालयमा आगलागी भएको वडा सचिव अधिकारीको भनाई छ । वडा कार्यालयको भवन यसैवर्ष मात्र निर्माण सम्पन्न गरी कार्यालय सुचारु भएको थियो ।

प्रतिक्रिया