‘गणपति’ को पोस्टर सार्वजनिक

काठमाडौं । सविन अधिकारीले निर्देशन गरेको चलचित्र ‘गणपति’ को पोस्टर सार्वजनिक भएको छ । आगामी जेठ ५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको मिति तोक्दै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा चलचित्रका प्रमुख कलाकारद्वय अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानलाई देखाइएको छ । गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको व्यक्तिलाई पोस्टरमा अगाडि राखिएको छ ।

निर्देशक अधिकारीले चलचित्रले नेपाली समाजलाई चित्रण गरेको सुनाए । उनले भने, ‘कोही व्यक्ति कुनैबेला त्यही समाजको भगवान बन्छ भने सोही व्यक्तिलाई हाम्रै समाजले नरकीय व्यवहार गर्छ । त्यसकै वरपर यो चलचित्रको कथा घुमेको छ ।’ चलचित्रको कथा निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन् । उनका अनुसार आस्थाको रूपमा रहेका भगवान् र भौतिक रूपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक चलचित्रमा देखाउने प्रयास गरिएको छ । चलचित्रमा अभिनेता मुकुन र अभिनेत्री मेनुकासँगै सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, कविता न्यौपाने, राजाराम पौडेल, पुष्कर गुरुङ, सुशील पोखरेल, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु लगायतका कलाकारको अभिनय छ । निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको बताए । निर्माण पक्षका अनुसार यो चलचित्रको सबै छायांकन तनहुँको बन्दीपुर गाउँपालिकाको थारुवासमा गरिएको हो । एबिगम्यान फिल्म्सको ब्यानरमा बनेको यो चलचित्रमा लक्ष्मण थापाको लगानी छ । चलचित्रलाई हरिबहादुर घलेले खिचेका हुन् ।

प्रतिक्रिया