‘हल्कारा’ को टिजर

काठमाडौं । हलमा प्रदर्शनमा आउनुअघि नै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत ‘हल्कारा’ को टिजर सार्वजनिक भएको छ । अमेरिकी फेस्टिभल वल्र्डफेस्ट ह्युस्टन र बाफ्टाको कर्माथान फेस्टिभलमा छानिएको यो चलचित्र हलमा प्रदर्शन हुने भएको छ ।

निर्माताका अनुसार यो चलचित्र आगामी वैशाख २९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले बिहीबार मिति घोषणा गर्दै टिजर सार्वजनिक गरेका हुन् ।

नेपालबाट ओस्कारमा सिफारिस भएको चलचित्र ‘ऐना झ्यालको पुतली’ को निर्माण कम्पनी आइसफल प्रोडक्सन र कालीपार स्टुडियोले यो चलचित्र निर्माण गरेका हुन् । चलचित्रले हुलाकी पात्रको जीवनको कथालाई चित्रण गरेको छ ।

चलचित्रको शीर्ष भूमिकामा अभिनेता महेश त्रिपाठी र अभिनेत्री बिनिता थापा मगरको अभिनय छ । रामकृष्ण पोखरेल र विक्रम सापकोटाले निर्माण गरेको चलचित्रका निर्देशक विक्रम स्वयं रहेका छन् ।

वल्र्डफेस्ट ह्युस्टन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलबाट अभिनेता त्रिपाठीले सर्वश्रेष्ठ अभिनेताको पुरस्कार पाएका थिए । सोही फेस्टिभलमा चिन्तन राजभण्डारीले सर्वश्रेष्ठ छायांकारको उपाधि हात पारेका थिए । चलचित्रको सम्पादनमा केही अन्तर्राष्ट्रिय फिल्म प्राविधिकको पनि संलग्नता रहेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया