व्यवसाय बन्द गर्ने होटल संघको चेतावनी

काठमाडौँ । होटल संघ नेपाल (हान)ले होटल व्यवसायीका समस्या सामाधानका लागि पहल नगरे व्यवसाय बन्द गर्ने चेतावनी दिएको छ । सोमवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै हानले बिग्रँदो अर्थतन्त्रसँगै मुलुकको होटल क्षेत्र धरासायी बनेको भन्दै व्यवसायीहरुको समस्या समाधानको लागि सरकारले पहल नगरेर होटल बन्द गर्ने चेतावनी दिएको हो ।

हानले सरकारलाई होटल व्यवसायीहरुका समस्या समाधानको लागि ध्यानाकर्षण गराउँदा समेत समस्याको सामाधानको लागि पहल नगरे व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको बताएको छ ।

हानका प्रथम उपाध्यक्ष विनायक साहले बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानीमा थेग्नै नसकिने अवस्था आएको बताए ।

उनले सरकारका नीति निर्माताहरु,संवद्ध सरकारी निकायलगायत नेपाल राष्ट्र बैंक,बैंक तथा वित्तीय संस्थाहरुमा बढ्दै गएको समस्या समाधानका लागि गरिएको पटक पटकको बैठक,ज्ञापनपत्र, सुनुवाई लगायतका प्रयासहरुबाट हालसम्म कुनै वाञ्छित नतिजा नआएको बताए ।

उनले पछिल्लो समय चालु खर्च समेत धान्न नसक्ने गरी होटलहरु घाटामा सञ्चालित रहेको बताए । उनले राष्ट्रिय वार्षिक बजेटभन्दा बढी परिमाणको लगानी भइसकेको नेपाली होटल क्षेत्रलाई नेपाल सरकारले हालसम्म पनि उद्योग सरहको मान्यता समेत नदिनु खेदजनक रहेको बताए ।

त्यस्तै संघका अध्यक्ष सिर्जना राणाले सरकारले बनाउने नीति नियमले होटल क्षेत्रलाई उपेक्षा गरेको बताइन् । उनले सरकारले कोरोना महामारीको कारण थला परेको होटल क्षेत्रमैत्री नीति नबनाउँदा होटल व्यवसाय घाटामा सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताइन् ।

प्रतिक्रिया