कावासोती । लोपोन्मुख अवस्थामा रहेका डंगर प्रजातिको गिद्ध मृत फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–३ स्थित केरुंगे खोलाको छेउमा पाँच वटा डंगर प्रजातिको गिद्ध मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
वन अधिकृत मोहनराज काफ्लेले पाँच गिद्ध मृत अवस्थामा र दुई घाइते अवस्थामा फेला परेको जानकारी दिए । ‘गिद्ध मरेको ठाउँमा एउटा स्याल पनि मरेको भेटिएको छ’, उनले भने, ‘स्यालको विषाक्त मासु खाएर गिद्ध मरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
गिद्ध मर्नाको कारणबारे अनुसन्धान तथा खोजीका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालयका टोली घटनास्थल पुगेर अनुसन्धान थालेको वन अधिकृत काफ्लेले जानकारी दिए ।
गिद्ध मरेको ठाउँ नजिकै सिमलको रुखमा गिद्धका गुँड भएकाले थप गिद्धको मृत्यु भएको हुन सक्ने हुँदा खोजी थालिएको उनको भनाइ छ । घटना भएको ठाउँ जिल्ला सदरमुकाम कावासोतीबाट करिब दुई किलोमिटर उत्तरी क्षेत्रमा पर्दछ ।
प्रतिक्रिया