कोरोला नाकाबाट नेपाल भित्र्याइएका ७७५ ईभी गाडी अझै सशस्त्र प्रहरीको नियन्त्रणमा

पोखरा । मुस्ताङको कोरोला नाकाबाट भन्सार छली गरेर नेपाल भित्र्याइएको आशंकामा सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएका ७७५ वटा विद्युतीय सवारीसाधन (ईभी) अझै विभिन्न स्थानमा राखिएका छन् । तीमध्ये ९६ वटा गाडी कास्कीको पोखरा महानगरपालिका–२५, सुइखेतमा सशस्त्र प्रहरीको निगरानीमा रहेका छन् ।

सशस्त्र प्रहरी बलको विशेष टोलीले जेठ २८ गते मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जालगायत विभिन्न स्थानबाट ती गाडीहरू नियन्त्रणमा लिएको थियो । विशेष सूचनाकाे आधारमा कोरोला नाका हुँदै ठूलो परिमाणमा भन्सार छली गरी विद्युतीय गाडी नेपाल भित्र्याइएको आशंका भएपछि सशस्त्र प्रहरीले संयुक्त अपरेसन सञ्चालन गरेको थियो ।

त्यसका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत तथा नं. २४ कालिका गण कास्कीबाट विशेष टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका गाडीहरू नाकादेखि पोखरासम्मका विभिन्न स्थानमा राखिएका छन् ।

पोखरा महानगरपालिका–२५ सुइखेतमा मात्रै ९६ वटा ईभी सुरक्षित रूपमा राखिएको छ भने बाँकी गाडीहरू अन्य स्थानमा निगरानीसहित राखिएको जनाइएको छ । घटनाबारे सरकारले छानबिन समिति गठन गरि अनुसन्धान अघि बढाएको छ । गाडीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया छलेर भित्र्याइएका हुन् भन्ने विषयमा छानबिन प्रक्रिया अघि बढाएको हो ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया