
काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि उठेका विवादित विषयहरुको निरुपण गर्न गठित अध्ययन तथा छानबिन समितिले प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाएको छ ।
गुरुङको सम्पत्ति विवरण समेत केलाएर समितिले ४५ पेजको प्रतिवेदन तयार गरेको हो । मन्त्रिपरिषद बैठकले गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए । सुरुमा १५ दिनको म्याद पाएको समितिले फेरि ५ दिनको म्याच थपेर छानबिन पूरा गरेको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतले प्रतिवेदनको निस्कर्ष ‘सकारात्मक’ रहेको बतायो । उनी फेरि गृहमन्त्रीमा फर्किन बाटो खुलेको पनि स्रोतको दाबी छ ।
विवादमा परेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसयता प्रधानमन्त्री वालेन्द्र शाहले गृह मन्त्रालय आफैसँग राखेका छन् । गुरुङकै लागि प्रधानमन्त्रीले गृहलाई होल्ड गरेको अनुमान र आशंकाहरु हुँदै आएका थिए ।
गुरुङ स्वयम् पनि फेरि गृहमन्त्री पदमा फर्किनेमा ढुक्क देखिएका छन् । अब ५ वर्ष आफूलाई कसैले हल्लाउन नसक्ने दाबी उनले निकटस्थहरुसँग गरिरहेका छन् । पोखरामा लिजमा लिएको धेरै क्षेत्रफलको जग्गा तथा अन्य पनि विभिन्न स्थानमा जग्गा गुरुङको नाममा रहेको पाइएपछि उनीमाथि गम्भीर प्रश्न उठेको थियो ।
त्यसपछि उनीमाथि दाबाब बढेसँगै गृहमन्त्री पदबाट बाध्यताले गुरुङले राजीनामा दिएका थिए । उनको राजीनामापछि गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री वालेन्द्र शाह आफैँले सम्हालेका छन् ।
सम्पत्ति शुद्धीकरणको कसुरमा व्यवसायी दीपक भट्ट १९ चैतमा काठमाडौंबाट पक्राउ परेका थिए । उनी अहिले पनि प्रहरी हिरासतमै छन् । हिरासतमा रहेका व्यवसायी भट्टसँग साझेदार देखिएपछि गुरुङ पनि विवादमा तानिएका थिए ।
प्रतिक्रिया