
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका डा धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका दुर्गा प्रसाईँबीच नयाँ दल गठन गर्ने सहमति भएको छ ।
शुक्रबार राणा र प्रसाईँले ११ बुँदे सहमतिमा शुक्रबार हस्ताक्षर गरेका हुन् । किरात, बौद्धसहित वैदिक सनातन हिन्दु अधिराज्य राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिज्ञा दुई पक्षले गरेका छन् ।
संवैधानिक राजसंस्था पुनः स्थापनाका लागि सशक्त, लोकतान्त्रिक तथा राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकताले नयाँ दल गठन गर्नुपरेको सहमतिमा उल्लेख गरिएको छ । पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन अंगाल्ने नीति लिइएको छ । सुधारमुखी संघीयता, एक पटकको नेपाली सधैंको नेपाली र दोहोरो नागरिकता राख्न पाउनने व्यवस्थामा दुई पक्षबीच सहमत भएका छन् ।
विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन र व्यक्तिहरूलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा गर्ने सहमति भएको छ । डा राणाको मिडिया हेरिरहेकी राधिका जोशीले आज दुर्गा प्रसाईँकै घरमा मिलेर जाने सहमति भएको र अब पार्टी नाम, चुनाव चिह्नलगायतको विषयमा मलमासपछि छलफलपछि हुने जानकारी दिइन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग विवाद भएपछि जेठ २१ गते राणासहित १८३ जना नेताहरूले राप्रपा छाडेका थिए । राप्रपा छोड्नेमा काठमाडौं उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी र सदस्यहरू रहेका छन् ।
पदाधिकारीहरूमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री धवल शम्शेर राणा, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, सगुनसुन्दर लावती, धनसुर शाही, मीना शाही, दिलविकास राजभण्डारी, नानीमैया आचार्यलगायत छन् । उनीहरू अधिकांशलाई अध्यक्ष राजेन्द्र लिङ्देनले यसअघि कारबाही गरेका थिए ।


प्रतिक्रिया