
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुगेका छन् । यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उनी आज नयाँ दिल्ली पुगेका हुन् ।
उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डा सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका थिए । मन्त्री खनाल आज दिउँसो त्यसतर्फ प्रस्थान गरेका थिए ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले उनका समकक्षी डा जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुने छ । परराष्ट्रमन्त्री खनाल भ्रमण सम्पन्न गरी यही जेठ २४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया