पर्वत र बागलुङका माझी समुदायले पहिलोपटक नदीको पूजा गरी पर्व मनाए

पर्वत । पर्वत र बागलुङका माझी तथा बोटे समुदायले पहिलोपटक नदीको ओउजा गरि लदि अर्थात नदि पूजा गरेका छन् । कुश्मा नगरपालिका १ मालढुंगा र बागलुङमा बसोबास गर्ने माझी समुदायले संयुक्तरुपमा कालीगण्डकी नदीको पूजा गरेर लदि पर्व मनाएका हुन् ।

लोपोन्मुख माझी तथा बोटे समुदायको मुख्य पेशा नदिमा माछा मारेर जिविकोपार्जन गर्ने हो । त्यसैले माझी तथा बोटे समुदायले नदिको पूजा गरेर आफ्नो पेशाको सम्मान झल्काएको बताएका छन् । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले प्रमुख अतिथिको रुपमा सहभागी भई माझी तथा बोटे समुदायको परम्परागत पेशा संरक्षण गर्न र अन्य वैकल्पिक पेशा पनि अँगाल्न नगरपालिकाले सहयोग गर्ने बताए ।

विभिन्न समुदायका परम्परागत पेशा आधुनिक समाजसँगै परिवर्तन भएको भन्दै जोशीले माझी तथा बोटे समुदायलाई पनि परम्परागत पेशासँगै दिगो आर्थिक उपार्जनको पेशामा आवद्ध हुन प्रमुख जोशीले आव्हान गरे ।

उनीहरुलाई सधैंभरी नदी किनारमा बसेर बालुवा चाल्ने मात्रै नभई अन्य आधुनिक पेशामा फड्को मार्न जोशीले सुझाव दिए । जोशीले यो समुदायको माग सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताए । कार्यक्रममा उपप्रमुख स्वस्थानी रिजालले माझी तथा बोटे समुदायको जिविकोपार्जन रक्षाका लागि नगरपालिका तयार रहेको बताइन् ।

रिजालले लोपोन्मुख पेशा जोगाउन आवश्यक सहयोग गरिने घोषणा गरिन् । कार्यक्रममा कुश्मा– १ पाङका वडाध्यक्ष खगराज पौडेल, कुश्मा नगरपालिका– २ का वडाध्यक्ष लालकृस्ण शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोस थापा, माझी महिला उत्थान संघकी कोसाध्यक्ष सुनिता माझी, कुश्मा नगरपालिकाका जिन्सी शाखा प्रमुख बालकृष्ण शर्मा, माझी समुदायका गुरु बालकृष्ण माझी तथा स्थानीय तहका वडा सदस्यहरुलगायत सहभागी थिए ।

नेपाल माझी बोटे उत्थान समाज कुश्मा नगर र नेपाल माझी महिला उत्थान संघ बागलुङको आयोजना र कुश्मा नगरपालिकाको आर्थिक सहयोगमा नदी पूजा कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा माझी समुदायका अगुवा सहभागी भएका थिए ।

नेपाल माझी महिला उत्थान संघ बागलुङकी अध्यक्ष अञ्जली माझीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल माझी बोटे उत्थान संघ पर्वतका अध्यक्ष बलबहादुर माझीले गरेका थिए भने स्वागत जिल्ला माझी बोटे उत्थान संघकी सदस्य सरु माझिले गरेकी थिइन् ।

प्रतिक्रिया