कालिकोट । नेकपा एमालेका पार्टी सचिव योगेश भट्टराईले दुर्गममा बाटो खन्नका लागि सडकमा बसेका नेपाली सेनालाई मार्नु क्रान्ति नभएको बताएका छन् । नेकपा एमालेले सुरु गरेको ग्रासरुट अभियानअन्तर्गत कालिकोट पुगेका भट्टराईले नेकपा माओवादी केन्द्रलाई इंकित गदै माओवादीका हिंसात्मक गतिविधीले दुर्गम जिल्लाहरू झन् दुर्गम बन्दै गएको बताएका छन् ।
कर्णाली राजमार्गको पिली सडक खण्डमा सडक निर्माण गर्ने नेपाली सेनालाई मार्नु कुनै पनि क्रान्ति नभएको बताएका हुन् । सशक्त द्वन्द्वमा कालिकोट मात्रै होइन रोल्पा, रुकुम, जाजरकोटजस्ता जिल्लाहरूमा पनि हिंसात्मक गतिविधिले विकासमा बाधा उत्पन्न भएको भट्टराईले बताए । नेकपा एमाले कालिकोटले आयोजनाले गरेको पार्टी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका भट्टराईले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेपालको राजनीतिक अस्थिरतातिर लैजान खोजेको आरोप लगाएका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासय पार्न प्रचण्डले समस्या पर्दा कम्युनिस्टसँग मिल्ने र सत्ता मोहमा दक्षिणपन्थीको पाउ पर्नुले देश गम्भीर दुर्घटनामा परेको भट्टराईले बताएका छन् । प्रचण्ड बामपन्थी नभएर उग्र बामपन्थी र अवसरवादको खोजीमा दौडिने पात्र भएको आरोप लगाए । देशमा आर्थिक मन्दी भइरहेको बेला सरकार फेरबदल र पदमोहमा जानुले देश दुर्दशा लागेको उनले बताएका छन् । नेकपा एमाले आफ्नो समर्थन फिर्ता गरेर सरकारबाट बाहिरएको छ । अब देशको मुख्य प्रतिपक्ष दल भएर जनतामाझ सरकारका गलत गतिविधिहरूको भण्डाफोर र एमाले सरकारले गरेका कामको जानकारी दिन ग्रास लेभलमै रहिरने भट्टराई बताएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको अधिकारका लागि लड्दा नेकपा माओवादी र नेपाली कांग्रेसले महिलाको अधिकार जे छ उसैमा ठिक छ भन्दै सदनमा बोलेको अहिले पनि कानमा गुन्जिएको भट्टराईले बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको पहलले महिलालाई ३३ प्रतिशत अधिकार मिलेको पनि उनले बताएका छन् । भट्टराईले नेकपा एमाले नेपाली जनताको मनमुटुमा रहेको बताउँदै प्रत्येक टोलटोलमा एमाले छाएको बताएका छन् । संसद्मा एक्लै लड्न र सरकार बनाउन नसक्ने भएपछि मुसा मार्ने बिरालो र रेबिज रोग लागेका स्यालहरूको समूह मिलेर बाघसँग लड्न नसक्ने बताएका छन् ।
एमाले भनेको पार्टीहरू भित्रको बाघ रहेको भट्टराईले बताएका छन् । जनताको सामु कुन मुख लिएर भोट माग्न आउँलान् भन्दै सरकार फेरबदल र पद मोहले जनता दिक्क भइसकेको पनि उनले बताएका छन् । कार्यक्रममा केन्द्रीय स्थायी कमिटी सदस्य यमलाल कँडेल, पोलिट ब्युरो सदस्य गोरख बोगटी, नेकपा एमालेका केन्द्रीय सदस्य दल रावललगायत नेकपा एमालेका जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कालिकाेट
प्रतिक्रिया