हामी १२ वर्ष लाग्यौँ

सौर्य दैनिकको प्रकाशन सुरु भएको ११ वर्ष पूरा भएको छ । आजबाट हामी १२ वर्षमा प्रवेश गरेका छौँ । राष्ट्रियता, लोकतन्त्र, सुशासन र जनताको सुसूचित हुन पाउने हकको रक्षा तथा संवर्धनलाई व्यावसायिक पत्रकारिताको माध्यमबाट योगदान पुर्याउने उद्देश्यका साथ हामीले सौर्य दैनिकको यात्रा सुरु गरेका थियौँ । आफ्नो यात्राले ११ वर्ष पूरा गरेको यस अवसरमा हामी सम्पूर्ण पाठक वर्ग, सहकर्मी, विज्ञापनदाता एवं समस्त शुभचिन्तकहरूमा बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौँ ।

यो अवधिमा मुलुकले अनेकौँ आरोह अवरोह झेलेको छ । ०७२ वैशाख १२ र २९ गतेको विनासकारी भूकम्पको चोट अझै आलै छ । त्यस लगत्तै छिमेकी भारतले लगाएको नाकाबन्दी हाम्रो मानसपटलबाट विस्मृत हुन नपाउँदै विश्वव्यापीरूपमा फैलिएको कोराना महामारीले ठूलो विनास निम्त्यायो । मुलुकमा सिर्जना भएको यो परिस्थितिबाट हामी पनि अछुतो रहन सक्ने कुरै भएन । यसले हाम्रो व्यावसायिक यात्रामा निश्चय पनि धक्का लाग्यो । मुलुकको समग्र आर्थिक अवस्था ओरालो लागेको अवस्थामा पत्रकारिता जगतलाई त्यसको सामना गर्न निकै कठिन भयो ।

यो अवधिमा वर्षौंदेखि चलिरहेका केही स्थापित र लोकप्रिय प्रकाशनहरू बन्दसमेत भए । आर्थिक संकटको सामना गरेर जेनतेन चलेका प्रकाशन गृहहरूलाई पनि आफ्नो प्रतिष्ठा जोगाउन धौ धौ पर्यो । यो अवस्थाको सामना गरेर आफूलाई टिकाइराख्नकै लागिसमेत संघर्ष गर्नुपर्ने अवस्थाबाट नेपाली प्रकाशन गृहहरू गुज्रिरहेको यथार्थ सबैका सामु छ ।

यी सबै परिस्थितिका बाबजुत सौर्य दैनिक आफ्नो मान्यताबाट अलिकति पनि विचलित छैन । आफूलाई टिकाइराख्न र बजारबाट कृतिम अब्बलताको पगरी गुथ्न गरिने कुनै कुकृत्य हामीलाई स्वीकार्य थिएन र छैन पनि । त्यसो त जो प्रति खबरदारी गर्नुपर्ने हो उसैबाट अनुगृहित हुँदै पुरस्कृत र सम्मानित हुन लामबद्द हुन हानाथाप गर्नेहरूको भिडमा आफूलाई खरो उतार्नु कम चुनौतीपूर्ण छैन । यस्तो परिस्थितिमा व्यावसायिक र जिम्मेवार पत्रकारिता सँगसँगै अघि बढ्न सक्छ कि सक्दैन ? भन्ने बहस अब टड्कारो बनेको छ । पत्रकारिता क्षेत्रमा हाम्रो प्रवेशले कति सार्थकता पायो भन्ने कुरा पाठकले मूल्यांकन गर्ने विषय हो । अनि यो इतिहासले समीक्षा गर्ने विषय पनि हो ।

व्यावसायिक पत्रकारिताको माध्यमबाट आफ्नो जिम्मेवारीलाई अझै परिष्कृत गर्दै लैजानुपर्ने आवश्यकता हामीले यो अवधिमा अझै बढी महसुस गरेका छौँ । हाम्रो यो प्रयासलाई पाठक वर्ग तथा विज्ञापनदाताबाट जुन प्रकारको सहयोग तथा हौसला प्राप्त भएको छ, त्यो नै हाम्रो शक्ति, सामथ्र्य तथा पुँजी हो । सौर्य राष्ट्रिय दैनिकको १२औँ वार्षिकोत्सवका अवसरमा हामी समस्त पाठक वर्ग, शुभचिन्तक तथा विज्ञापनदाताप्रति हार्दिक आभार प्रकट गर्दछौँ । यसैगरी निकै कठिन परिस्थितिमा पनि अहोरात्र काममा खटिएर आफ्नो संस्थाको प्रतिष्ठा कायम राख्न योगदान दिने पत्रकार तथा कर्मचारीहरू साँचो अर्थमा धन्यवादका सही पात्र हुन् ।

प्रतिक्रिया