नेपालको राजनीति : मुखले राम राम बगलीमा छुरा

मोहनप्रसाद सापकोटा

केही समय अगाडि डा.बाबुराम भट्टराईज्यूले ‘हामी किन पछि प¥यौँ’ भनेर केही लेख्नु भएछ । उहाँसँग आंशिकरूपमा म पनि सहमत छु । म केही आफ्नै तर्क राख्छु । नेपाली नेतृत्वमा मुगेरीलालहरू मात्र बढी छन् । सपना देख्छन् मात्र, देखाउँछन् मात्र । सपनालाई विपनामा रूपान्तरण गर्ने तिनको वास्तविक क्षमता कहिल्यै देखिएन । ३० वर्षमा पञ्चायतले गरेको जति द्रूत विकास ४० वर्षको परिवर्तनले गर्न सकेन । हामी एकीकृत हुनुपर्नेमा झन् झन् विखण्डित हुँदै गयौँ ।

यथार्थ परक ढंगले लेख लेख्यो, ‘वाहियात कसलाई थाहा छैन र’ भन्दछन् । प्रसंशा गरे चाकडी गरेको भनिदिन्छन् । गाली गरेर लेख्यो ‘यो सत्ताको विरोधीे रहेछ’ भनिदिन्छन् । कांगे्रसलाई गाली गरेर लेख्यो कम्युनिस्ट रहेछ भनेर सोचिदिन्छन् । कम्युनिस्टलाई गाली गरेर एक हरफ लेख्यो कि ‘यो साला कांंग्रेस रहेछ’ भन्ठान्दछन् । कांग्रेस र कम्युनिस्ट दुबैलाई अपाच्य हुने गरी लेखे राजावादीको बिल्ला भिराइदिन्छन् । सिद्धान्त र पद्धतीको कुराको समर्थन गर्न खोज्छु तर त्यो न कहिल्यै राजतन्त्रमा पाएँ, न कांंग्रेसमा न त कम्युनिस्टमा नै पाएँँ ।

विश्व आधुनिकरूपमा विकास हुन थालेको पाँच सय वर्ष भयो । तीव्ररूपमा विकास हुन थालेको दुई सय वर्ष भो । एसियाकै कुरा गर्नुहुन्छ भने कुने कुनै देश विकास हुन थालेको त ५० वर्ष मात्र भयो । फेरी पनि हजुरको सोच यहाँ पृथ्वीको यो भूखण्डमा नेपाली बसे त्यही भएर यो देश विकास भएन भन्ने नै छ । धिक्कार छ हजुरको सोचलाई । एसियाका अरू देशसँग तुलना गर्दै विगत ५० वर्षको मात्र पनि इतिहास केलाउन बिर्सनु भयो, त्यसमा खेद छ । सिंगापुर व्यापारिक केन्द्र बनिरहँदा हामी तस्करको केन्द्र बन्नमै व्यस्त भयौँ, मलेसिया औद्योगिक केन्द्र हुँदै गर्दा हामी राजनीति, कृषि, स्वास्थ्य र शिक्षाको प्रयोगको केन्द्र भइरह्यौँ ।

देश उपनिवेश त बनेन तर विकास नहुनुको प्रमुख कारण यहाँको औपनिवेशिक राजनीति पनि हो, औपनिवेशिक दिमाग पनि हो, हामीले यो यथार्थता कसैले कहिल्यै स्वीकार गर्न सकेनाँै । सबै अरूलाई दोष दिने मात्रै जन्मिए, त्यसैले देश विकास भएन, हुँदा पनि हुँदैन । हजुरको त्यो सानो आलेखमा देश विकास नहुनुको एक कारणमा राजनीतिको ‘र’ पनि अटाएन दुःख लाग्यो, त्यसैले एकांकी लाग्यो । सायद द्विअर्थक भएर पो हो कि ? हाम्रा दिमागमा यही ‘र’ ‘म’ कहिल्यै खराब हुन्नन् भन्ने सोच छ, त्यही नै हाम्रो देश विकास नहुनुको प्रमुख कारण हो ।

इतिहासमा पनि यो भूखण्डमा कहिल्यै विकास भएन भन्नुभयो, त्यसो भन्नु मूर्खता हुन्छ । प्राचीन इतिहास केलाउँदा त्यतिखेर विश्वमा जस्तो विकास भएको थियो नेपालमा पनि भएको थियो । पौराणिक कालमा नेपाल त्रानका लागि, साधनाका लागि र शक्ति आर्जनको प्रमुख केन्द्र थियो । प्राचीन कालमा चीनदेखि भारतसम्म नेपाल कलाकौशल र उत्पादनहरूको लागि प्रख्यात थियो । आधुनिक कालमा नेपालीको रगत, अस्मिता र मूर्खता मात्र विश्वभर बेचियो त्यसैले नेपाल विकास भएन ।

विश्व आधुनिक विकासतिर लम्कियो तर नेपाल जहाँको त्यहीँ रह्यो । यहाँ हरेक व्यक्ति अचम्मका मस्तिष्क लिएर जन्मिन थाले । सर्वज्ञ आफैँ । ऊ कतै डाक्टर चाहिए आफैँ नाडी छाम्दै हिँड्ने गर्दछ । पाइलट चाहिए आफैँ ककपिटमा गएर बस्न थाल्दछ । विद्यार्थी चाहिए झोला बोकेर विद्यालयतिर कुदी टोपल्छ । अल्पज्ञानं भयंकरी । सबै थोकमा अलिअलि ज्ञान हुने तर विशिष्ट ज्ञान केहीको पनि नहुने । उपदेश दिन जान्ने तर आफूमा लागू गर्न नचाहने वा नसक्ने । हजूर अनि म जस्तै ।

एउटै व्यक्ति समाजशास्त्री, डाक्टर, इन्जिनियर, राजनीतिज्ञ, वकिल, वैज्ञानिक, कर्मचारी, प्रहरी आदि देखिन त सक्छ तर हुन सक्दैन । राजनीतिज्ञको काम सबै क्षेत्रमा र व्यक्तिमा हुने विशिष्टत ज्ञानलाई संयोजन गर्नु हो, सबै आफैँ बन्नु होइन । जसले विविध जात, भूगोल, धर्म, आस्था र परम्परा आदिलाई विकास नहुनुको प्रमुख कारण देख्दछ, त्यो व्यक्तिमा देशलाई एकाकार बनाउने क्षमता हुँदैन । विश्वका करिब दुई सय देशमध्ये कुनै एक देशको राजनेताको नाम बताउनुहोस् जसले आफ्नै देशभित्रका विविध जात, भूगोल, धर्म, आस्था र परम्परा आदिलाई विकास नहुनुको प्रमुख कारण मानी त्यसलाई निमिट्यान्न पारेर देश विकास गर्न सफल भएको छ । अहिलेकाहीँ चार्ली चाप्लिन त कोही जादुगर बनिरहेका छन् । समय कटाउन सजिलो भइरहेको छ, यस्ता व्यक्ति पनि चाहिन्छन् ।

भविष्यवाणी, गफै त हो .
..
दल–ज्योतिषले देउवालाई सातपटक प्रधानमन्त्री हुन्छौ भने । राजज्योतिष कोही जीवित छन् कि छैनन् होला ? भए तिनले ज्ञानेन्द्रलाई कति पटक राजा हुन्छौ भनेका छन् होला ? कि ज्योतिष पनि सीमा बाहिरबाटै … ।

पिता, माता, गुरु, दाजुभाइ, बन्धुबान्धव, कुबेर र यमराज गरी सात जनाको गुण भएको व्यक्ति मात्र राजा हुन्छ नत्र हुँदैन भनिएको छ । कोसँग होला यी गुण ? ज्ञानेन्द्र ? पारस ? हृदयेन्द्र ? कि अरू कोही ?

शास्त्रले दुई थरी राजाको परिकल्पना गरेको छ । एउटा दैवी अंश लिएर जन्मने र अर्को दानवीय अंश लिएर जन्मने । अब यदि राजा आए वा भए कुन अंशका राजा होलान् ? शून्य सहनशीलता भएको व्यक्ति राजा भए त्यो टिक्दैन भनिएको छ । राजा हुन योग्य सहनशीलता कोसँग होला ? आफू स्वयं विनयशील भई परिवार, सहयोगी र जनतालाई विनयशील बनाउन सक्षम व्यक्ति राजा हुनु पर्दछ भनिएको छ । कोसँग होला यस्तो क्षमता ? विषयवासना राजाको अन्त्यको प्रमुख कारण हुने गर्दछ भनिएको छ । को होला त्यसमा नफसेको टिकाउ व्यक्ति ?

इतिहासमा नेपालको अस्तित्व सर्वप्राचीन देखिन्छ । तर, कहिल्यै सीमाना स्थिर देखिँदैन । न त कुनै राजवंश नै स्थिर देखिन्छ । त्यसो भए के अर्को कुनै वंशको व्यक्ति राजा हुन सक्दछ त ? दैवी योग्यता त बेग्लै भए राजा हुनका लागि अब कुन कुन कस्ता कस्ता आधुनिक योग्यता चाहिने होलान् ? अब यदि कोही राजसिंहासनमा बस्यो भने त्यो राजा होला कि रजौटा ? राजा हुन खोज्दा जेठ १९ को घटना घटेको होइन र ?

नयाँ तरंग उठेको छ, यसैले यो तरंग सँगै अब यी नयाँ प्रश्नहरू पनि उठ्नेवाला छन् । तर्क, वितर्क, कुतर्क, आक्रोश, डाह, भय, सन्त्रास, हर्ष, आरोप, प्रत्यारोप, पलायन, आगमन आदि सतहमा छताछुल्ल हुनेवाला छन् । यसका साथै परिवर्तन र धर्मको ब्यापारका बीचको अन्तरसम्बन्धका बारेमा पनि कडा बहस हुने वाला छ ।

यथार्थ कुरो

गलत गरे भनेर परिवर्तन भए वा भइरहे । तर ‘गलत’ कहिल्यै दण्डित भएन । ‘संगठितरूपमा तर्साएर वा धम्क्याएर जे पनि गर्न सकिन्छ’ । हामीले ०३६ साल यता देखेको प्रमुख विकास भनेको यही हो । घर मूली नै थान्कोमा नबसेपछि सन्तान बिग्रेको औषधि खोजेर हुँदैन ।
गोडामा चप्पलको साटो इटालियन जुत्ता, जडौरीको साटो बेलायती सुट, पैदलका साटो पाजिरो, झुपडीको साटो बंगला देखिने गरे । तर मानिसमा अनायाश यस्तो परिवर्तन देखिनुको औचित्य वा कारण पुष्टि हुन सक्ने आधार देखिएन । यसरी भइरहेको जीवनस्तरको अस्वाभाविक वृद्धिप्रति न नागरिकले कुनै चासो देखाए न त राज्यले नै ।

सार्वजनिक जग्गामा लेराएर मानिस थुपारिन्छ र जिम्मेवार नेताहरू तिनलाई हटाए विष्फोट हुन्छ भनेर धम्की दिन्छन् । मलाई जिताउनु नत्र … भनेर चुनाव जित्दछन् । मलाई मन्त्री देउ नत्र … भनेर मन्त्री बन्दछन् । बिरामीलाई कंगाल बनाउन नपाए स्वास्थ्य क्षेत्र, अभिभावकलाई धुत्न नपाए शैक्षिक क्षेत्र, ग्राहक लुट्न नपाए ब्यापारी, घुस खान नपाए कर्मचारी, यात्रुलाई शोषण गर्न नपाए सार्वजनिक यातायात क्षेत्र, सेटिङ मिलाएर रम्न नपाए न्याय क्षेत्र, भिजिलान्ते हुन नपाए विद्यार्थी जगत, तेल दल्न नपाए कार्यकर्ता नत्र.., नत्र… भन्न थाल्दछन् । हो यस्तै नत्र…, नत्र…रोग देशव्यापी भएको छ ।
बनेका र बनाएका कुरा भत्काउन सजिलो छ । गाडी जलाउन, पल्टाउन, प्रहरी बीट जलाउन वा उखेल्न सजिलो हुन्छ तर बनाउन धेरै कठिन हुन्छ । हामीले विगत एक शताब्दीदेखि बनाउनेभन्दा बढी बिगार्ने संस्कारलाई प्राथमिकतामा राख्यौँ । बिगार्नुलाई नै आन्दोलन मान्दै आयौँ ।

ए बाबा बिगार्दा प्रगति हुन्छ भने बनाउनतिर किन लाग्नु ? अहंले सत्ताका वरिपरि हुनेजति सबैको संस्कार बिगारेरै त्यहाँ पुगेको संस्कार हो, बनाएर होइन । यही मेसोमा ऋण तिर्दिनँ भन्नेहरू संगठित हुन थालेका छन् । हामीले कति राम्रा राम्रा परिवर्तन गर्दै आएछौँ हगि ? बाउ मान्दिनँ, आमा मान्दिनँ, पत्नी मान्दिनँ, पति मान्दिनँ, झन्डा मान्दिनँ र देश मान्दिनँ नत्र… भनेर समेत आन्दोलन भए । ७५ प्रतिशत सञ्चार जगत यस्तै नत्र…नत्र…का समाचार बटुलेर टिकिरहे । कसले सिकायो यसो गर्न ?

कुनै पनि तन्त्रका लागि भएका कुनै पनि परिवतर्नमा अराजकता दण्डित हुन्छन् तर हामीले अराजकता गर्ने व्यक्ति मात्र बदल्दै त्यसैलाई परिवर्तन मान्दै आयौँ । परिणाम सबैका सामु छ । कागती रोपेर सुन्तला फल्दैन ।

अकबर र वीरबलको नेपाली पुनर्जन्म

अकबरले भने ‘हेर न वीरबल अल्प विकसित देशबाट विकासोन्मुख देशमा उक्लिन पाए थप विदेशी सहयोग आउँथ्यो, नेपाल नबने पनि हामी र हाम्रा बन्थे भनेर देशभरका गाउँ नासेर न गर बनायौँ । कसैले सुँइको समेत थाहा पाएन । फुत्त छलाङ लगाउन खोज्यो सडकमा टायर बलिहाल्छ, सीमा पारिका देउताले जे निर्णय गर्नु भन्छन् त्यो गर्न खोज्छु कहिल्यै सफलता हात लाग्दैन, के गर्ने होला ?’

वीरबलले जवाफ दिए ‘महाराज हजुरको जीउमा तस्करको वीर र माफियाको भूत सवार छ । विशेष अवसर पारेर म हजुरलाई घोडामा चढाएर दरबारबाट बाहिर निकाल्छु । हजुरको लवाई नचिन्निने किसिमको कालो हुन्छ । आँखामा पट्टी बाँध्नु पर्दछ । बाटामा अनेक थरी वीर र भूतले कोलाहल गरेर, थपडी बजाएर, खिस्याएर, हिर्काएर आँखाको पट्टी खोलाउन खोज्नेछन् । पट्टी खोल्नु भयो भने हजुरमा ‘लागो’ हटाउन सकिन्न । आँखाको पट्टी नखोली घोडाबाट नओर्ली सहर घुमेर दरबार छिर्न सक्नुभयो भने हजुरले जे चितायो त्यही पुग्दछ । के यसो गर्न सक्नुहुन्छ ?’

महाराजले स्वीकृतिमा मुन्टो हल्लाए । त्यसपछि वीरबलले राजालाई अनुहारमा कालो दली कालै लुगा लगाएर आँखामा पट्टी बाँधी गधामा चढाएर बाहिर निकालीदिए । बौलाहाजस्तो मान्छे गधामा चढेर आएको देखेर सहरका नागरिकले खेद्ने, खिज्याउने, हिर्काउने गर्न थाले । उनी वीरबलले बताएको सर्त बमोजिम बल्लतल्ल ज्यान जोगाउँदै सहर घुमेर दरबारभित्र छिरे ।

अनि वीरबलले उनका लुगा सबै फेरिदिए । गधालाई अन्तै लगेर छाडिदिए र नजिकै घोडा लेराएर उभ्याए । राजाको आँखाको पट्टी पनि खोलिदिए । अनि सोधे ‘बाटामा मेले भनेजस्तै भयो नि ?’ राजाले लखतरान हुँदै सहमतीमा मुन्टो हल्लाए । ‘महाराज अब सब ठिक हुन्छ, चिन्ता नै गर्नु पर्दैन’ वीरबलले सान्त्वना दिँदै भने ।

एक जुग हुन लाग्यो दूतावासका वीरबलहरू हाम्रा नेतालाई यसरी नै पालैपालो घुमाइरहेछन् । गधामाथि चढेर सहर घुम्नका लागि यहाँ हानथाप चलिरहेछ । विदेशी दातृ निकायका धामीहरू धर्मको ढ्यांग्रो बजाउँदै धमेल बस्न र बसाउन लामवद्ध छन् । देशलाई नै ‘लागो’ लागेपछि मान्छेलाई फुकेर के हुन्थ्यो र ? भाकल पूरा गर्दै गर्दै आएको पनि ७० वर्ष नाघिसकेछ । कहिले कता के निहुँमा अनि कहिले कता के निउँमा मान्छेको बलि चढाउँदा पनि रोग बढिरहेछ, निको हुने लक्षण देखिएको छैन ।

कहिलेकाहीँ गरी खाला जस्तो केटो फुत्त देखिन्छ । ‘त्यो मूला अस्तिको पाठो हामीसँग कुम जोर्न आउने ? उल्टो तर्साउने ?’ यस्तो बेलामा अरूहरूका मुखबाट यस्तै यस्तै कुरा सुनिन्छ । विगत ७० वर्षदेखि तर्साएर खानेले खाइरहेका छन् क्यारे ! अनि कुनै नयाँ केटाले नयाँ कुरा कहाँबाट सिकोस् ? नत्र… भनेर तर्साएर नखाएका कोही अकबर छन् भने यसो जानकारी पाउँ न । देशको ओखतीका लागि बिउ हुन्थे कि ?

गधामाथि चढेका अकबरका अघिपछि लाग्ने नयाँ पुस्ताले मोबाइल पसल त लुटे अब यिनलाई सुन पसल कहिले लुट्नु भनिएको छ होला ? देश असफल बनाउनकै लागि यहाँ चाल्र्स शोभराजले समेत आश्रय पाउन सक्नेगरी लचकदार कानुन बनाइएको छ, विश्वका कुनै पनि देशमा यस्तो कानुन छैन । कति देशको पासपोर्ट र नागरिकता लिएर यहाँ के नै लछारपाटो हुन्छ र ? समाउने हाँगो र टेक्ने हाँगो गतिलो भएपछि कानुन नेवारी भाषाको ‘का… नु…’ हुन्छ ।

यो देशमा कसले कहिले के गल्ती गरे वा गरेनन् नखोतलौँ । तर राजनीति गर्ने हो भने पहिलो सर्त तस्कर र माफियाको कानुन मान्नुपर्दछ । देशका कानुन देखाउने दाँत मात्र हुन् । तस्कर र माफियाको कानुन नमान्ने जति सबैलाई देशको कानुन लाग्दछ । मलाई त यस्ता कुरा कहाँबाट थाहा हुनु ? ठूलठूला नाम कमाएका कानुनविद्ले नै यसै भन्दै आएका छन् । मैले त तिनले पटकपटक बोलेका कुरा सम्झिएको मात्र हुँ ।

साँच्चि गधा चढेर सहर घुम्नलाई अब को अकबर बन्ला ?

कुरामा कुरा

कुनैवेलाका वास्तविक सञ्चारमन्त्रीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा भन्नुभयो, ‘पत्रकारहरू यो जाडोमा बालुवाटारमा रातरातभर समाचारका लागि कुरेको देखेर दया लाग्यो, अब हामी पत्रकार जम्मा गरेरै चियाले जीउ तताउने व्यवस्था मिलाउँदै निश्चित समय । स्थान र बारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दछौँ ।’

सार्वजनिक गर्न सकिने विषय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न जरुरी नै नै छैन । हनुमानहरूलाई मात्र जनता मान्ने परिपाटीलाई गलत मान्ने हो भने न पत्रकारले जनताका पक्षमा प्रश्न सोध्ने परिपाटी छ न जवाफ दिनेले जनतालाई चित्त बुझ्ने गरी जवाफ दिने पद्धतिको नै विकास भएको छ । खुरुक्क वेबसाइडमा निर्णय हाले हुन्छ । कम से कम चिया खर्च त जोगिन्छ । महिनावारी पाउने पत्रिकाले त्यसको पक्षमा र नपाउनेले विरोधमा त्यही वेबसाइट हेरेर लेख्न पाइहाल्छन् । कुनचाहीँ उदाहरणीय पद्धति बसाइएको छ र तीन हात उफ्रेर प्रशंसा गर्नु ।

यि त भए नबदलिने नेपालका नियतीका कुरा । झूट र यथार्थमा देखिएको भिन्नताका कारण वाक्कदिक्क लागी यी कुरा पनि लेख्न मन थिएन देवी भागवतमा मन्त्रीका विषयमा केही लेखिएको रहेछ । पढ्दै जाँदा यी समसामयिक कुरा सम्झेँ र नलेखी त्यत्तिकै बस्न सकिन । त्यहाँ लेखिएको रहेछ, ‘मन्त्रीमण्डलको कुनै विशेष निर्णय जसले देश र जनतालाई फाइदा गर्दछ, त्यस्ता निर्णय सफलतापूर्वक कार्यान्यन गर्नु छ भने त्यो गोप्य हुनै पर्दछ । यस्ता दूरगामी निर्णय पनि गोप्य हुँदैनन् भने त्यो मन्त्रीमण्डल वा राज्य कहिल्यै सुरक्षित रहन सक्दैन । नियमविरुद्ध मन्त्रिपरिषद्का गोप्य निर्णयहरू आफूखुसी सार्वजनिक गर्ने मन्त्रीहरू राजाका लागि खतरा हुन् । यिनलाई तुरुन्त हटाउनु । मन्त्री बनाउँदा विवादरहित र सदाचारी व्यक्तिलाई छान्नु । खाँदा, बस्दा, सुत्दा वा हिँड्दासमेत मर्यादा क्रमको कहिल्यै उल्लंघन हुन नदिनु ।’

पद्धतिविहीन सामाजिक अवस्थामा पद्धति बोकेको राजनीतिक संस्कार जन्मन नै सक्दैन । पद्धतिविहीन राजनीतिक संस्कार कहिल्यै सन्मार्गमा हिँड्न सक्दैन । मक्किएर कुँयेत्रो लागेको कपडा टालेर इज्जत छोपी टोपल्न गरिने सबै प्रयाशहरू जसले जहिले जुन नाममा गरे पनि ती सबै निरर्थक हुँदा रहेछन् । सिंह पनि बूढो भएपछि धमिरा कोट्याएर खान्छ । खान वाध्य हुन्छ । दुर्भाग्य नै भन्नु पर्ला मेरो देशको कुनै पनि राजनीतिले यो तीतो सत्यलाई कहिल्यै स्वीकार्न चाहेन ।

कसले के गरे गरेनन् ?

जब सत्ताधारीको कुनै गलत गन्तव्यको विरोध हुन्छ तब सत्तामा बस्नेहरू आफ्नो हिँडाइको विरोध गर्नेजति सबैलाई विपक्षी बनाइदिन्छन् र समर्थक जतिलाई जनता । कुरो नौलो होइन । वीरेन्द्र वा पञ्चेले त्यही गरे, ज्ञानेन्द्रले पनि त्यही गरे, कांग्रेसले पनि त्यसै गरेकै हो, अहिलेकाले पनि त्यही गरिरहेछन् । त्यसैले अमुक धर्मको एक कार्यक्रममा भएको सहभागितालाई लिएर धेरै थरी नेताका तस्बिरहरू अरूसँग हुँदै नभए जसरी सार्वजनिक गरिरहेका छन् । हामीलाई सात सालदेखिकै परिवर्तनका नाममा सत्तामा बस्नेहरूले यो देशको विकास के गरिगरिरहेका छन्, एक एक थाहा छ । ०३६ सालपछि कुन दलको कुन नेताले कतिखेर के बोले र के गरे वा अहिले के गरिरहेका छन् त्यो पनि थाहा छ । दन्त्यकथाका ‘तैँ चूप मैँ चूप’ हुने बाँदरका कथाहरू हरेक कुकुत्यका लागि उदाहरण बनाउने कार्य अविलम्ब बन्द गरियोस् । आफूले …. खाएको सही सावित गर्न अरू कसैले … खाएको उदाहरण दिन बन्द गरियोस् । त्यसले झन् दलील कमजोर हुन्छ ।

पहिले सत्तामा बस्नेहरूले गल्ती गरे त्यसैले पाखा लागे । पाखा लागेकालाई आदर्श र उदाहरण बनाएर अघि बढे वर्तमान पनि पाखा लाग्छ । कुनै पनि गलत कुरा अरूको दृष्टान्त दिएर सही हुन सक्दैन । मैले बच्चा बेलामा कमिजको बाहुला टोक्थेँ, त्यसलाई उदाहरण दिएर मेरा सन्तानले कमिजको फेर टोक्लान्, के मैले त्यतिखेर उनीहरूको कार्यलाई सही मानिदिनु नै पर्ने हो ?

थाहा छ देश धर्म निरपेक्ष भएको छ । सबै धर्मलाई समान व्यवहार गर्नै हुति हामीसँग छैन । धर्म निरपेक्षताको औचित्य पुष्टि गर्ने आधार पनि हामीसँग छैन । यति भनिरहँदा पनि धर्म व्यक्तिगत स्वतन्त्रताको कुरा हो भन्ने कुरा भुल्नु हुँदैन । जुनसुकै धर्म मान्न पनि जोसुकै स्वतन्त्र छन्, नमान्न पनि स्वतन्त्र छन् । तर, धर्मको नाउँमा देशको इज्जत लिलाम गर्ने छुट कसैलाई पनि छैन, न त धर्मको व्यापार गर्ने छुट नै कसैलाई छ ।

कसैले प्रशंसा गरे वा पैसा दिए हामी नांगै हिँड्न पनि सक्दछौँ, जान्दछौँ । त्यसैले रगत र पसिना जति विदेशमा बहन्छन् र हावा गफ र लुट्ने कलाचाहिँ देशभित्र बहन्छ । कसले के सर्तमा कसरी सहयोग दिन्छ थोरबहुत जनतालाई पनि थाहा छ । प्रष्टरूपमा अरू देशमा जस्तै बहस चलाए हुन्न र ? गूपचूप सबैथोक गर्नु नै पर्दछ र ?

चाहे त्यो मोदीको जनकपुरदेखि मुक्तिनाथसम्मको यात्रा होस् वा बेलाबेलामा हुने तामझाम सबै गलत हुन् । सबैमा कसले के पाए वा कसले के पाएनन् त्यो पाटोलाई छोडेर हेर्दा, देश भने अत्यन्त निरीह देखिएको छ । आमनागरिक देशको यो निरीहताप्रति चित्त दुखाइरहेछन् । कुनै धर्मप्रति नेपाली असहिष्णु हुन्थे त ०१९÷२० सालदेखि नै यहाँ धर्मयुद्ध सुरु भइसकेको हुन्थ्यो । ०७ सालदेखि ०७५ सालसम्म आन्दोलन नेपालीले गरे, हरेक चुनावमा मत नेपालीले हाल्दै आए तर जहिले पनि विदेशीले नै जिते, हो यो कटुसत्यप्रति नेपालीको चित्त दुःखाइ छ ।

नेपाली चाहन्छन्, हरेक राजनीतिज्ञको दोहोरो चरित्रको अन्त होस् । कागको बथानमा गएर ‘का..का..’ गर्ने अनि कोइलीको बथानमा गएर ‘कु…कु…’ गर्ने हाम्रा नेताहरूको बानीबाट अब जनता आजित भइसकेका छन् । सबै दलका सबै नेताले यसलाई गम्भीरतापूर्वक लिउन् र सुध्रियुन्, नेपाली जनता हृदयदेखि नै अनुरोध गर्न चाहन्छन् । विगतमा ‘मेरा वा हाम्रा गोप्य गतिविधि जनतालाई थाहा हुन्न’ भन्नेहरू जनताबाट दण्डित भएको देख्दादेख्दै, फेरी यस्तै भ्रम वर्तमानमा कसैले नपालुन्, १०÷१० वर्षमा मात्र रगत तात्ने सोझा नेपालीहरू वर्तमानका प्रभूहरूलाई यही बिन्ती बिसाउन चाहन्छन् ।

अत्यमा

यथार्थ परक ढंगले लेख लेख्यो, ‘वाहियात कसलाई थाहा छैन र’ भन्दछन् । प्रसंशा गरे चाकडी गरेको भनिदिन्छन् । गाली गरेर लेख्यो ‘यो सत्ताको विरोधीे रहेछ’ भनिदिन्छन् । कांगे्रसलाई गाली गरेर लेख्यो कम्युनिस्ट रहेछ भनेर सोचिदिन्छन् । कम्युनिस्टलाई गाली गरेर एक हरफ लेख्यो कि ‘यो साला कांंग्रेस रहेछ’ भन्ठान्दछन् । कांग्रेस र कम्युनिस्ट दुबैलाई अपाच्य हुने गरी लेखे राजावादीको बिल्ला भिराइदिन्छन् । सिद्धान्त र पद्धतीको कुराको समर्थन गर्न खोज्छु तर त्यो न कहिल्यै राजतन्त्रमा पाएँ, न कांंग्रेसमा न त कम्युनिस्टमा नै पाएँँ । ‘मुखले राम राम बगलीमा छुरा’ लाई सिद्धान्त मान्न ब्रह्मले दिँदैन । अन्डरवेयरको जुम्रा टोपीमा सरेपछि टाउको अलि बढी नै चिलाउँछ भन्दथे हो रहेछ ।

प्रतिक्रिया