स्थानीय उत्पादनको प्रयोगमा ध्यान दिऔँ : मन्त्री किराँती

स्याङ्जा । होमस्टेले स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रयोगमा जोड दिनुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् । सिरुबारी आँधीखोला गाउँपालिका–१ पञ्चमूलमा अवस्थित दक्षिण एसियाकै पहिलो नमूना पर्यटकीय गाउँ हो । सिरुबारी सामुदायिक होमस्टेको रजत जयन्तीका अवसरमा शुक्रबार सिरुबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले होमस्टेमा सकेसम्म स्थानीयस्तरमा उत्पादन भएका परिकारहरुका साथै स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड दिन आग्रह गरे ।

उनले भने, ‘होमस्टे भनिए पनि कतिपय ठाउँमा बजारबाटै खरिद गरेर ल्याइएका सामग्रीहरुको प्रयोग हुन्छ । घरबासमा आउने पाहुनालाई जे जति सकिन्छ स्थानीय परिकारहरु र स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड दिऔँ, यसले होमस्टेको पहिचान दिन्छ ।’ स्थानीयस्तरमा उत्पादन भएको खाद्यान्नको प्रयोगले स्थानीयता पनि झल्कने र गाउँको आम्दानी गाउँमै रहने भएकाले आर्थिक विकासमा समेत महत्वपूर्ण उपलब्धि हुने उनले बताए । यो घरबासको २०५४ कात्तिक २३ गते विधिवत् स्थापना भएको थियो । क्याप्टेन रुद्रमान गुरुङले सिरुबारीलाई दक्षिण एसियाकै पहिलो सामुदायिक घरबासका रुपमा स्थापना गरेका थिए ।

होमस्टेको रजत जयन्तीका अवसरमा गत बिहीबारदेखि विविध कार्यक्रमहरु गरिएका छन् । होमस्टेको राजधानी अर्थात् पाठशालाका रुपमा स्थापित सिरुबारीले विभिन्न पुरस्कारहरु प्राप्त गरिसकेको छ । सिरुबारीले सामुदायिकस्तरमा पर्यटन प्रवद्र्धनमा पु¥याएको योगदानलाई कदर गर्दै प्यासिफिक एसिया ट्राभल एसोसिएसन–२००१ ‘पाटा अवार्ड’ प्राप्त गरेको छ । विसं २०७४ मा उत्कृष्ट होमस्टेका रुपमा पनि पुरस्कार प्राप्त गरेको छ । देशकै एक सय नयाँ पर्यटकीय गन्तव्यमध्ये सिरुबारी सामुदायिक घरबास पनि सूचीकृत छ । ३९ घरबाट सुरु भएको घरबास हाल २० घरमा सञ्चालित छ ।

यहाँ एक सयको हाराहारीमा पाहुना राख्न सकिन्छ । सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो । यहाँ आउने पाहुनालाई गुरुङ समुदायको कला र संस्कृतिबाट न्यानो स्वागत सत्कार गर्ने गरिन्छ । विशेष गरेर यहाँ घरबासको व्यवस्थापन पक्षका बारेमा बुझ्न टाढाटाढाबाट पाहुनाहरु आउने गर्छन् । विसं २०७८ मा सिरुबारी गाउँको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन भइसकेको छ ।

प्रतिक्रिया