सरकारले दैलेखमा पेट्रोलियम अन्वेषण गर्ने

काठमाडौं । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषण गर्ने भएको छ । उक्त प्रयोजनका लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पेट्रोलियम अन्वेषणका लागि सो जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको बताइन् । मन्त्रिपरिषद् बैठकले नागमती बाँध आयोजनाको कार्यान्वयनका अघि बढाउन काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ मा रहेको करिब १४ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ ।

त्यस्तै, बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई दक्षिण अफ्रिकामा हुने आइडब्लुएमआई छलफलमा भाग लिन स्वीकृति दिएको छ ।

यसैगरी रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आगामी फागुन १ देखि ५ गतेसम्म भारत भ्रमण गर्ने भएका छन् । मन्त्रिपरिषद्को बैठकले रक्षामन्त्री उप्रेतीको नेतृत्वको टोलीलाई भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेग्मीले बताइन् । उनले रक्षामन्त्रीको भारत भ्रमण नियमित सुरक्षासम्बन्धी दुई देशीय छलफलको आयोजना गर्ने बैठक भएको बताइन् ।

त्यस्तै बैठकले आगामी फागुन ५ र ६ गते भारतमा आयोजना हुने नेपाल–भारत विद्युत् व्यापार सम्झौताअन्तर्गतको संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालक समितिको दशौँ बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको आयोजनामा अस्ट्रियाको भियनामा आगामी चैत ६ गतेदेखि ८ गतेसम्म हुने ‘टिसी एसिया एन्ड दि प्यासिफिक एनएलओ वर्कसप’ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (विज्ञान तथा प्रविधि) प्रमिलादेवी शाक्य बज्राचार्यलाई भाग लिन स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

बैठकले फागुन १ गतेदेखि ३ गतेसम्म थाइल्यान्डको बैंककमा हुने क्षयरोग, एचआइभी एड्स र मलेरियासम्बन्धी दक्षिण पूर्वी एसिया क्षेत्रका मुलुकको गोष्ठीमा भाग लिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा.संगीता कौशल मिश्रलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको सञ्चारमन्त्रीले बताइन् ।

प्रतिक्रिया