१४ वर्षपछि बसपार्क सञ्चालन, यात्रु र यातायात व्यवसायीलाई सहज

रुकुम पश्चिम । निर्माणको पाँच वर्षसम्म र सडक सञ्जालमा जोडिएको १४ वर्षदेखि अलपत्र एवं अव्यवस्थित बनेको आठबिसकोटको बसपार्क सञ्चालनमा आएको छ । आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले काठमाडौं जाने बसको चालकसहित यात्रुलाई यात्रा सफतालको कामनासहित बसपार्क सञ्चालनमा आएको औपचारिक घोषणा गरेका हुन् ।

उनका अनुसार निर्वाचित भएर आएसँगै नगरको कार्ययोजनाको प्राथमिकताको सूचीअन्तर्गत बसपार्क सञ्चालनका लागि निरन्तर सरोकारवालासँगको बैठकले गरेको निर्णयअनुसार कार्यान्वयनमा ल्याइएको हो । जिल्लाको सदरमुकाम मुसिकोटदेखि राडीबजारसडक यातायात सेवा सुरु भएको १४ वर्षपछि बसपार्क सञ्चालनमा ल्याइएको छ । ०६५ सालमा जिल्ला सदरमुकामदेखि राडी बजारसम्म सडक यातायातले जोडिएकोमा शनिबार पहिलोपल्ट बसपार्क सञ्चालनमा ल्याइएको हो ।

‘बसपार्क सञ्चालनका लागि नगरपालिकाको आयोजनामा पालिकाका सरोकारवाला पक्षसँग पटकपटक बसेको बैठकको निर्णय र मुख्य बजार क्षेत्रको सवारी पार्किङ व्यवस्थित बनाउन सुरु पछिको उपलब्धि हो’, नगरप्रमुख केसीले भने, ‘निर्माण सम्पन्न भएर वर्षौंदेखि अलपत्र बनेको बसपार्क सञ्चालन गर्नुभन्दा निरन्तर चलाउनु चुनौती महसुस गरेका छौँ ।’

उक्त बसपार्क राडी, सुन्दरपानी, मैडाँडा सडक योजनाअन्तर्गत पर्दछ । ‘बजार क्षेत्रबाट करिब एक किलोमिटर टाढाको दुरीमा बसपार्क निर्माण गरिएको छ । मुख्य बजार क्षेत्रबाट भित्र पर्ने भनेर अलपत्र छाडिएको थियो । लाखौँ लगानी भइसक्यो’, नगरप्रमुख केसीले भने, ‘अब देखिएका चुनौतीसँगै निरन्तर सञ्चालनमा हुनेछ ।’ यसअघि पनि बसपार्क सञ्चालनका लागि विभिन्न समयमा गरिएको प्रयास असफल भएकाले अब त्यस्तो हुन नदिने नगरप्रमुख केसीले बताए ।

बसपार्क सञ्चालनमा आएसँगै अबदेखि आठबिसकोट नगरक्षेत्रमा बसपार्कमा मात्रै टिकट काउन्टर राखिएको छ । राडीबजार केन्द्रस्थापना गरिने भएको छ । यसअघि बजार क्षेत्रको पीपलबोट, सिमबजार लगायतका स्थानमा टिकट काउन्टर राखेर अव्यवस्थित बनेको सार्वजनिक यातायातका सेवा व्यवस्थित र सवारी दुर्घटना न्यूनीकरण गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको वडा–९ का अध्यक्ष जनकबहादुर बटालाले बताए ।

बसपार्क सञ्चालनका क्रममा उत्पन्न समस्या समाधानका लागि नगरप्रमुख रवि केसी लगायतका जनप्रतिनिधि र नगर प्रहरी, कर्मचारीले दैनिकरूपमा अनुगमन तथा निरीक्षण गर्ने भनिएको छ । नगरप्रमुख केसीले विकासका लागि यो पनि एउटा आधार भएको बताउँदै यसलाई राम्रोसँग सञ्चालन गर्न सञ्चालन समितिलाई दिए । उनले बसपार्क सञ्चालनमा आएपछि बजार क्षेत्रमा भइरहेका अव्यवस्थित सवारी साधन पार्किङको समस्या समाधान भई यसले दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

सञ्चालनमा आएको बसपार्क भित्र एक तले भवन, त्यसमा टिकट काउन्टर, महिला÷पुरुष शौचालय बनेको छ भने लामो र छोटो दुरीका बस, माइक्रो, अटो बाइक अलगअलग स्थानमा पार्किङ, गर्ने र खानेपानीको पनि व्यवस्था रहेको छ । विगत १४ वर्षदेखि बसपार्कविहीन राडी बजारमा नयाँ बसपार्क सञ्चालनमा आएपछि यात्रु र यातायात व्यवसायीलाई सहज भएको छ । यस क्षेत्रमा लगभग दर्जन लामो तथा छोटा दुरीका ठूला र साना यात्रुबाहक बसहरू सञ्चालन हुँदै आएका छन् । नगरको आन्तरिक वडाहरू आउजाउ हुने मालबाहक तथा यात्रुबाहक बसहरूको चाप बढ्दै जाँदा बसपार्कको खाँचो अत्यधिक भएको स्थानीयको भनाइ छ ।

लामो समयदेखि बसपार्क सञ्चालनमा नआउँदा जथाभावी पार्किङले बजार क्षेत्रमा भिड बढेर दुर्घटनाको जोखिम र बजार क्षेत्र कुरुप भएसँगै कार्यान्वयनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताए । बसपार्क सञ्चालनपछि सबैखाले सवारी बसपार्कमा मात्रै पार्किङ गर्ने र तोकिएको ठाउँबाट यात्रु ओराल्न एवं चढाउन नियम बनाइएको शाहले बताए । बजार क्षेत्रमा जथाभावी पार्किङ गरे यातायात व्यवसायीलाई कारबाही गरिने जनाइएको छ ।

बसपार्कबाट पश्चिमका पहाडी जिल्लालगायत काठमाडौं, पोखरा, नेपालगञ्ज बस सञ्चालन हुने बताइको छ । रुटमा चल्ने बसहरूसँगै जिल्लावाहिर चल्ने लामो रुटका प्रत्येक गाडीहरू अनिवार्य रूपमा बसपार्क पस्नुपर्ने निर्णय गरेको छ । जथाभावी बजार क्षेत्रमा गार्डीहरू पार्किङ गर्न नदिने र पार्किङ गर्नुपरे, अटो जिप अनिवार्य रूपमा बसपार्कमा पार्किङ गर्नुपर्ने यस अघिको छलफलले निर्णय गरेको छ । ०७४÷७५ देखि निर्माण सुरु भएको बसपार्कको सञ्चालनपूर्व नै आवश्यक भौतिक पूर्वाधारले पूर्ण बनाइएको छ । अबदेखि बजार क्षेत्रमा यात्रु चढाउने र ओराल्ने मात्र गरिने बताइएको छ । लाखौँ रुपैयाँ लगानीमा निर्माण गरेर बसपार्क अलपत्र हुनुमा मूल सडकबाट ५० मिटर र बजार क्षेत्रबाट एक किलोमिटरभित्र पर्ने भएकाले यातायात समिति र स्थानीय व्यवसायीलाई बाधकका रूपमा लिइन्थ्यो ।

तर, निरन्तरको छलफलपछि उनीहरूकै सहयोगमा बसपार्क सञ्चालनमा आएको वडा–९ का वडा अध्यक्ष जनकबहादुर बटालाले बताए । अबदेखि यातायात व्यवसायीले सार्वजनिक यातायातका साधन बसपार्कभित्र लैजानुपर्ने र त्यहाँ १५ मिनेट रोक्नुपर्ने, बजार क्षेत्रमा रहेका टिकट काउन्टर सबै बसपार्कभित्रै राख्नुपर्ने, बसपार्कभन्दा बाहिर यात्रुलाई चढाउने र ओराल्ने सुविधा मात्र उपलब्ध हुने (यात्रुलाई कुरेर बस्न नपाइने) भनेर गरिएका निर्णयको पूर्ण पालना हुनेछ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया