एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बसेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् ।

अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव डा. बेदुराम भुसालले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनमा बैठकमा छलफल गरिनेछ ।

उक्त प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

सरकारको कार्यशैली मूल्यांकन, संसद्मा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले संगठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ ।

बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको छ । संगठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ ।

पार्टीको पाँचौँ बैठक आज र भोलि चल्ने छ । आज सुरु भएको बैठकको सुरुमा राष्ट्रियगान र अन्तर्राष्ट्रियगान गाउँदै सहिदप्रति मौनधारण गरिएको थियो ।

बैठक पार्टी अध्यक्ष नेपालको अध्यक्षतामा महासचिव बेदुराम भुसालले सञ्चालन गरेका छन् । पार्टीको प्रचार विभागले प्रकाश गरेको मुखपत्र समाजवादको अध्यक्ष नेपालले विमोचन गरे ।

प्रतिक्रिया