सांसद चौधरी पक्राउ, कोइरी फरार

कानुन एक व्यवहार अनेक

काठमाडौं । नेपालको संविधानमा कानुनी शासनभित्र कसैले उन्मुक्ति नपाउने र कानुन सबैलाई बराबरी हुने उल्लेख छ । तर, ‘नेपालको कानुन दैव जानुन्’ भन्ने उखान विभिन्न घटनाक्रममा चित्रित भएको पाइन्छ । बिहीबार नेपाल प्रहरीले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीलाई पक्राउ गर्यो । उक्त पार्टीका संस्थापक रेशम चौधरी अहिले जेलमा छन् । कमजोर धरातलमा बनेको नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीले गरेको कसुर प्रमाणित भइसक्दा पनि निर्वाचन आयोगको लापरबाहीका कारण उनी सांसद बनेका थिए ।

चौधरीले गरेको कसुर भन्दा गम्भीर प्रकृतिको कसुर गरेका अर्का सांसद लक्ष्मी महतो कोइरी फरार छन् । प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित कोइरी अहिलेको सत्ता गठबन्धनका प्रमुख घटक एमालेका सांसद हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन बानेश्वरस्थित संसद भवनमा पुगेका कोइरीलाई भने न प्रहरीले देखेन । सुशासनको डंका पिटेका निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कोइरी पक्राउ पर्ने बताइरहे । तर, नेपाली सीमा कट्दासम्म उनलाई पक्राउ गरिएन । एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा कोइरी पक्राउ गर्न प्रहरी असक्षम बन्यो । सत्तापक्षले नै कोइरीलाई भगायो । अहिले कोइरी कहाँ छन्, राज्य बेखबर छ ।

चौधरी गएको मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् । कैलाली लम्की चुहा नगरपालिका गिधिनिया स्थायी घर भएका चौधरी नागरिक उन्मुक्ती पार्टीका हुन् । ०६६ भदौ ३ गते अर्काको ट्रयाक्टर आगजनी मुद्दामा चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले ०७० वैशाख ९ गते ६ महिना कैद र आठ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । त्यतिबेलैदेखि फरार चौधरीले निर्वाचन आयोगलाई ढाँटेर उम्मेदवारी दिए । जिते पनि । सरकारी अभिलेखमा चौधरी ०६६ सालमा जाहेरी दर्ता भएदेखि नै फरार छन् । अभियोग दर्ता भएपछि पनि उनी अदालतमा हाजिर त भएनन् नै । कैद सजाय र जरिवाना तोकिँदासमेत उनको खोजी राज्यले गरेन । बरु सरकार बनाउँदा विश्वासको मतका लागि सांसदको टाउको गनियो ।

रोचक पक्ष त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ र एमालेका सांसद कोइरीलाई संसद्बाट निलम्बन गरेर कुनै कामकारबाही गर्न नदिन संसद् सचिवालयलाई पत्र लेखेको थियो । संसद्ले गुरुङलाई निलम्बन गर्यो तर, शक्तिको आडमा रहेका कोइरी फरारी बनाइए ।

कानुन कार्यान्वयन गर्ने पदमा बसेका व्यक्तिको दोहारो चरित्रका कारण कानुन कार्यान्वयन हुन नसकेको संविधानविद्हरूको तर्क छ । संविधानविद् डा.भीमार्जुन आचार्यले संसद् सचिवालय, राजनीतिक दल र गृह प्रशासनको दोहोरो चरित्रका कारण न्याय निरुपण हुन नसकेको बताए । उनले भने, ‘यो कानुन वा न्यायको दोष होइन, पदाधिकारीको दोष हो । व्यक्ति निर्दोष होला तर, कानुनको प्रक्रिया मान्नै पर्छ । गृह मन्त्रालय मूकदर्शक भएकै कारण फरार अभियुक्त पक्राउमा ढिलाइ भएको हो ।’ उनले व्यक्ति हेरेर विधिको शासन गर्छु भन्नु आफैँमा लाजमर्दो विषय भएको बताए ।

प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले चौधरी पक्राउको पुष्टी गरे । उनले आगजनी मुद्दामा फरार रहेका चौधरीलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको बताए । फरार एमाले सांसद कोइरीको पनि प्रहरीले खोजी गरिरहेको दावी डिआइजी पोखरेलले गरे । उनले भने, ‘चौधरीलाई पक्राउ गरियो । अर्का फरार कोइरीको खोजी गरिरहेका छौँ ।’

को हुन् चौधरी

चौधरी गएको मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् । कैलाली लम्की चुहा नगरपालिका गिधिनिया स्थायी घर भएका चौधरी नागरिक उन्मुक्ती पार्टीका हुन् । ०६६ भदौ ३ गते अर्काको ट्रयाक्टर आगजनी मुद्दामा चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले ०७० वैशाख ९ गते ६ महिना कैद र आठ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । त्यतिबेलैदेखि फरार चौधरीले निर्वाचन आयोगलाई ढाँटेर उम्मेदवारी दिए । जिते पनि ।

सरकारी अभिलेखमा चौधरी ०६६ सालमा जाहेरी दर्ता भएदेखि नै फरार छन् । अभियोग दर्ता भएपछि पनि उनी अदालतमा हाजिर त भएनन् नै । कैद सजाय र जरिवाना तोकिँदासमेत उनको खोजी राज्यले गरेन । बरु सरकार बनाउँदा विश्वासको मतका लागि सांसदको टाउको गनियो । चौधरी संसद् भवन निर्वाध छिरे र मतदान गरेर उम्किएका थिए ।

को हुन् कोइरी

महोत्तरीका कोइरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनी निर्वाचनको बेला जनता समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको कुटाइबाट घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्दामा उनलाई उच्च अदालत जनकपुरले थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो । घाइते सशस्त्र प्रहरीका सहायक निरीक्षक विकलाई उपचारका लागि जनकपुर लैजानेक्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याएर कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो । त्यसयता उनी फरारको सूचीमा छन् ।

फरार रहँदै कोइरीले पुस २६ मा संघीय संसद्मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए । प्रहरीको उच्च सुरक्षा भएको संसद् भवनबाट कोइरी बाहिरिँदा कसैले देखेन । चौधरीलाई पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले कैलालीको बौनियामा बिहीबार विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनपछि बौनिया बजारमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नाउपाका नेता जन्मदेव सञ्जालले शुक्रबार बिहान १० बजेदेखि कैलालीमा यातायात बन्द गर्ने चेतावनी दिएका छन् । १३ वर्ष पूरानो आगजनीको घटनामा जिल्ला अदालत कैलालीबाट ६ महिना कैद सजाय सुनाइएका चौधरीलाई बिहीबार दिउँसो प्रहरीले बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया