महिला यू–१९ टी–२० विश्वकप : भारत पहिलो संस्करणको च्याम्पियन

नयाँ दिल्लीं । पहिलो पटक आयोजित आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा इंग्ल्यान्डलाई सात विकेटले हराउँदै भारत यू–१९ महिला विश्वकपको पहिलो संस्करणको च्याम्पियन बनेको हो । दक्षिण अफ्रिकाको पोचेस्ट्रुमस्थित सेनवेस पार्कमा भएको फाइनल खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको ६९ रनको सामान्य लक्ष्य भारतले ३६ बल बाँकी रहँदै तीन विकेट गुमाएर भेट्टायो ।
भारतको जितमा सौम्या तिवारीले अविजित २४ रन जोडिन् । गोंगडी त्रिसाले पनि २४ रननै थप्दा ओपनर तथा कप्तान सिफाली वर्माले १५ रन बनाइन् ।
इंग्ल्यान्डकी हन्नाह बकेर, ग्रीस शृभेन्स र एलेक्सा स्टोनहाउसले समान एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको इंग्ल्यान्डले १७.१ ओभरमा सबै विकेट गुमाउनुअघि ६८ रनको योगफल खडा गरेको थियो । इंग्ल्यान्डकी र्याना म्याकडोनाल्ड गेले १९ रन बनाइन् । एलेक्सा स्टोनहाउस र सोफिया स्मेलले समान ११ र नियम्ह हल्यान्डले १० रन बनाउँनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्न भारतकी टिटास साधु, अर्चना देवी र पार्सवी चोपडाले दुई–दुई विकेट लिए । मन्नत कस्यप, सफाली वर्मा र सोनम यादवले समान एक विकेट लिए । भारतकी टिटास साधु फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ चुनिइन् । महिला यू–१९ विश्वकपको पहिलो संस्करणमा कुल १६ टिमको सहभागिता थियो । महिला यू–१९ विश्वकपको आगामी संस्करण सन् २०२५ मा थाइल्यान्ड र मलेसियाले संयुक्त रूपमा आयोजना गर्ने प्रस्ताव छ ।

प्रतिक्रिया