रेसुङ्गा । अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ । यस्तै गलत परम्परा बोक्ने हजारौँको भीडबाट बाहिर निस्किएकी छन् – गुल्मीको रेसुङ्गा नगरपालिका–८ की शारदा भुसाल । उनी विसं २०६३ देखि न्युमैत्री डेरी उद्योग सञ्चालन गरेर उदाहरणीय बनेकी छन् । उनी आफैँले सुरु गरेको डेरी उद्योगबाट अहिले दूध खरिद, प्रशोधन र बिक्री हुने गर्छ । उनले दैनिक तीन सय लिटर दूध बजारमा पुर्याउँछिन् । गुल्मीको चौरासी र अर्घाखाँचीका ढिकुरा, काउलेलगायतका स्थानबाट डेरीमा दूध आउने गर्छ । शारदा भैँसीको दूधमात्र खरिद, प्रशोधन र बिक्री गर्छिन् । बजारमा आवश्यक पर्ने दूध पर्याप्त मात्रामा आफूसँग उपलब्ध नभएको उनले बताइन् ।
गुणस्तरका आधारमा किसानसँग बढीमा प्रतिलिटर रु ९५ सम्म डेरी उद्योगले दिन्छ । यसलाई प्रशोधन गरेर प्रतिलिटर रु एक सय १० मा बिक्री हुन्छ । दूधबाट अन्य परिकार पनि बनाउन गरेको शारदाले बताइन् । दूधबाट दही, पनिर, कुराउनी, छुर्पी र अन्य परिकार शारदा आफैँ बनाउँछिन् । डेरीबाट मासिक रु नौदेखि १० लाखसम्म कारोबार गर्ने उनी मासिक रु एक लाख बचत गर्ने गरेको बताउँछिन् ।
‘जन्मपूर्वदेखि मृत्युपश्चात् पनि दूध नै चाहिन्छ’, उनले भनिन्, ‘महिलाले आफैँ व्यवसाय गर्नुपर्छ भनेर निरन्तर मेहेनत गरेँ ।’ व्यापार र व्यवसायको सन्दर्भमा पनि पुरुषमात्र अगाडि सर्ने र महिला अरुकै भर पर्ने बाध्यता अन्त्यका लागि अगाडि बढेको शारदाले बताइन् ।
किसानसँग जोडिने व्यवसाय गर्न दुग्ध डेरी सञ्चालन गरेको तर पछिल्लो समय दूध उत्पादनमा कमी आएको शारदाको अनुभव छ । आफूसँगै सदरमुकाम तम्घासका दुग्ध व्यवसायी मिलेर सञ्चालन गरेको रेसुङ्गा दुग्ध डेरी प्रालिले १२ हजार लिटर दूध खपत गर्ने क्षमता छ । तर जिल्लाभर अहिले तीन हजार लिटर दूधमात्र उत्पादन हुने गरेको छ ।
स्थानीय पालिकाले किसानलाई दूध उत्पादनमा उत्साहित गराएमा जिल्लाका १२ पालिकाबाट एक हजार लिटर दूध आफूले खपत गर्न सक्ने भन्दै शारदाले किसान त्यसतर्फ उन्मुख हुनुपर्ने उनी बताउँछिन् । जिल्लामा दूध उत्पादन कम भएसँगै गुल्मीमा अर्घाखाँची, पाल्पा र कपिलवस्तुबाट आयात गर्नुपर्ने बाध्यता रहेको न्युमैत्री डेरी उद्योगका सञ्चालक उनले गुनासो गरिन् ।
शारदाले आफूले सञ्चालन गरेको डेरी उद्योगबाट अहिले प्रत्यक्ष रूपमा चार जनाले रोजगार पाएका छन्। दूध सङ्कलन, ढुवानी, प्रशोधन र बिक्री गरी चार जनालाई रोजगार प्रदान गरिएको उनले जानकारी दिइन्। दुग्ध डेरीबाट आम्दानी भएको रकम अन्य व्यवसायमा लगानी गर्ने गरेकी छन् । ‘डेरीबाट भैँसीको शुद्ध दूध बिक्री हुने भएकाले उपभोक्ता पनि निकै सन्तुष्ट हुने गरेको शारदाको अनुभव छ। “मैले आफैँ व्यवसाय व्यवस्थित र गुणस्तर कायम गरेकी छु’, दूध बेच्दै गरेकी उनले भनिन्, ‘महिला हुनेबित्तिकै परनिर्भर हुने मानसिकता हटाउनैपर्छ ।’
डेरीबाट किसानलाई मासिक रूपमा दूधको रकम दिँदा किसान झनै सन्तुष्ट हुने गरेका छन् । कृषि र पशुपालनमा प्रेरित गर्न आफू डेरी उद्योगमा लागेको शारदाले बताइन्। उनका श्रीमान् नवराज भुसाल पत्रकारिता क्षेत्रमा क्रियाशील छन्। नवराज नेपाल पत्रकार महासङ्घ गुल्मीका पूर्वअध्यक्ष हुन् । रासस
प्रतिक्रिया