
काठमाडौँ । बजेट प्रस्तुत हुनुअगावै भन्सार दरको सूचना चुहिँदा बजेटको मुखैमा राज्यलाई करोडौँ राजस्व घाटा लाग्ने गरी विद्युतीय सवारीसाधन (इभी) आयात भएको पाइएको छ । बुधरबार राति सशस्त्र प्रहरी बल नेपालले भन्सार छलीको आशंकामा मुस्ताङको कोरला नाकाबाट भित्रिएका ७७४ वटा इभी नियन्त्रणमा लिएपछि यो तथ्य बाहिरिएको हो । व्यापारीले इभीमा भन्सार दर वृद्धि हुने सुइँको पाएपछि जेठ दोसो साता ठुलो संख्यामा गाडी आयात गरेको पाइएको छ । अघिल्ला वर्षहरूमा पनि बजेटको सम्मुखमा सूचना चुहाएर अत्यधिक गाडी भित्र्याउने गरिन्थ्यो । भन्सार दरजस्तो अतिगोप्य सूचना कसले कुन स्वार्थका लागि चुहाएको हो ? पटकपटक प्रश्न उठे पनि यो प्रवृत्ति निरुत्साहित हुन सकेको छैन ।
भन्सार छलीको सूचना पाएपछि सशस्त्र प्रहरीले बुधबार राति कोरला नाकाबाट भित्रिएका ७७४ वटा बिवाइडी कम्पनीका इभी कार र रसुवाबाट भित्रिएका दुइटा इभी माइक्रो नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डिआइजी विष्णुप्रसाद भट्टले मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको बताए । उक्त कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन भएका थिए ।
छानबिन समिति गठन
भन्सार छलीको आशंकामा सशस्त्र प्रहरीले ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएपछि अर्थ मन्त्रालयले संयुक्त छानबिन समिति गठन गरेको छ । भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित उक्त समितिले भन्सार जाँचपास, कागजात र आयात प्रक्रियाबारे विस्तृत छानबिन गर्नेछ । आयात गरिएका सवारीसाधन कानुनसम्मत रूपमा आयात तथा जाँचपास भएका हुन् वा होइनन् भन्ने विषयमा समितिले प्रतिवेदन पेस गर्नेछ । समितिले सवारीसाधन नेपाल प्रवेश गर्नुअघि नै प्रज्ञापनपत्र जारी भएको, कर भुक्तानी तथा जाँचपास प्रक्रिया पूरा गरिएको वा नगरिएकोतर्फ अनुसन्धान केन्द्रित गर्नेछ ।
भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले यसबारे छानबिन समितिको प्रतिवेदनपछि मात्रै आवश्यक निर्णय गरिने बताए । मुस्ताङ भन्सार कार्यालयले भने जेठ ८ गतेदेखि १२ गतेसम्म ती गाडी भित्रिएको जनाएको छ । सो सातामा बिवाइडी कम्पनीका ६९० वटा गाडी भन्सारमा आएकामा ६४९ वटाको मात्र जाँचपास भएको र बाँकी ४१ वटाको प्रक्रिया नपुगेकाले अझै जाँचपास हुन नसकेको मुस्ताङ भन्सारका सूचना अधिकारी अमिन्द्र सिंहले जानकारी दिए । उनले भन्सार प्रक्रियामा कुनै पनि कमजोरी नभएको दाबी गर्दै भने, ‘हामीले सदाझैँ भौतिक रूपमा सावरीसाधनको सबै जाँच गरेर जाँचपास गरेका हौँ । कैफियत देखिएका त रोकेका छौँ । सबै प्रक्रिया मिलाएर ल्याएमा हामीले रोक्ने कुरा पनि भएन । अहिले १७६ वटा इभी जाँचपास प्रक्रियामा रोकिएका छन् ।’
यसअघि पनि बिवाइडी ब्रान्ड करछली प्रकरणमा मुछिँदै आएको छ । यसअघि रसुवा भन्सार यार्डमा भौतिक रूपमा नपुगेका सवारीको समेत प्रज्ञापनपत्र जारी गरिएको विषयमा बिवाइडी जोडिएको थियो । उक्त प्रकरणमा रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित ६ कर्मचारीलाई भन्सार विभागले फिर्ता बोलाएको थियो । अन्य समयमा महिनामा बढीमा ३०० जति गाडी भित्र्याउने बिवाइडीले बजेटको मुखमा यति धेरै गाडी भित्र्याएपछि शंकाको घेरामा तानिएको छ ।
०००
साइमेक्स इंकले भन्यो— भन्सार छलेर ल्याएको होइन
साइमेक्स इंकले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ लिएको छैन, न त त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध गरेको वा प्राप्त गरेको छ । ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङ पूरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न यी सवारीसाधन आयात गरिएको हो । यी सम्पूर्ण आयात कार्यहरू बिवाइडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना तथा यातायात र ढुवानी व्यवस्थानसम्बन्धी चुनौतीहरूलाई ध्यानमा राखेर सम्पन्न गरिएका हुन् । सम्पूर्ण आयात तथा भन्सार प्रक्रिया नेपालका प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार नै सम्पन्न गरिएको हो ।
प्रतिक्रिया