
काठमाडौँ । ‘घटनाको दुःखद् मोड, साथीहरू मेरो ‘ठुलो दाइ’ हिलारी दावा शेर्पा एक साँचो ‘हिमाली बाघ’प्रति श्रद्धाञ्जली । तपाईंको शोक सन्तप्त परिवार र शेर्पा समुदायप्रति माया र सम्मान’— पूर्वब्रिटिस रोयल मरिन क्रिस थ्रलले आफ्नो इन्स्टाग्राम आइडीमा ३ दिनअघि पोस्ट गरेको श्रद्धाञ्जलीका शब्द हुन् यी । त्यसपछि बुधबार उनी दावा शेर्पाको घरमै पुगेर परिवारलाई सान्त्वना दिएर फर्किए । त्यसपछि अर्को पोस्ट गर्दै उनले दावाकी छोरीको शिक्षाका लागि रकम उठाउने प्रतिबद्धता जनाए । बिहीबार उनी भारतको नयाँदिल्लीबाट घर फर्किँदै गर्दा दावा जीवितै रहेको समाचार सुने, त्यसपछि उनको खुसीको सीमा नै रहेन ।
सगरमाथा क्याम्प ३ बाट ओखलढुंगाका ५७ वर्षीय दावा शेर्पा गत १६ जेठदेखि हराएका थिए । क्रिसजस्तै सबैले उनको मृत्यु भएको पक्कापक्की गरिसकेका थिए । सगरमाथा आधार शिविरबाट माथि लागेपछि खुम्बू आइसफल हुँदै क्याम्प १ देखि क्याम्प ४ सम्मको भागलाई ‘डेथ जोन’का रूपमा चिनिन्छ । यहाँ एक्लै हुनु भनेको मृत्यु निश्चित हुनु हो । जेठ १४ गते पोलिस आरोही मारियुस र पूर्वब्रिटिस रोयल मरिन क्रिस थ्रलसँगै सहयोगीका रूपमा सगरमाथा अरोहणका लागि शिखरतर्फ लागेका उनीहरू प्राविधिक समस्या देखिएपछि आरोहण बीचमै रोकेर फर्किएका थिए । क्याम्प ४ सम्म सँगै भए पनि त्यसपछि दावा टोलीको सम्पर्कबाट छुटेका थिए । जेठ १६ मा अन्तिम पटक देखिएका उनी त्यसपछि बेपत्ता भए । उनलाई हेलिकोप्टरमार्फत् खोज्ने प्रयास भए पनि भेटाउन सकिएको थिएन ।
सबैले आस मारिसकेका थिए, तर बिहीबार बिहान सगरमाथा आधार शिविरनजिकैको क्याम्पोन पोइन्ट क्षेत्रमा घिस्रिरहेको अवस्थामा सरसफाइ गरिरहेका सगरमाथा प्रदूषण नियन्त्रण समितिका केही कामदारले उनलाई भेटे । उनीहरू स्वयं दावालाई देखेर अचम्ममा परे । त्यसपछि उनी जीवित रहेको खबर फैलियो । विश्वभरका पर्वतारोहीहरूले यसलाई सगरमाथा आरोहणको इतिहासमा भएको निकै दुर्लभ घटनाका रूपमा व्याख्या गरेका छन् । दावालाई केही खाना र प्राथमिक उपचारपछि अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत् उद्धार गरी बिहीबार नै काठमाडौँस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । अहिले उनको उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको अवस्था अहिले स्थिर छ, तर हात र खुट्टामा गम्भीर फ्रस्टबाइट देखिएको छ ।

०००
पर्यटन विभागले घटनाको अनुसन्धान गर्ने
दावाको घटनाले संसारभर हिमाल आरोहणको क्षेत्रमा काम गर्ने श्रमिकको सुरक्षा र व्यवस्थापनबारे प्रश्न उठेपछि यसबारे पर्यटन विभागले छानबिन गर्ने भएको छ । यस घटनामा हिमालयन ट्राभल्स एडभेन्चर प्रालि र एट–के एक्स्पिडिसन तानिएका छन् । दावा संलग्न भएको आरोहण दललाई हिमालयन ट्राभल्समार्फत् ठमेलस्थित एट–के एक्स्पिडिसनको नाममा अनुमतिपत्र जारी भएको थियो । विभागले हिमालयन ट्राभल्स एडभेन्चरका सञ्चालक दावा शेर्पा र उनका छोरा आङ फुर्वा शेर्पासँगै एट–केका सञ्चालकलाई सोधपुछका लागि बोलाइसकेको छ । घटनाको छानबिनपछि दोषीलाई कारबाही गर्ने र यसमा संलग्न कम्पनीलाई समेत कालोसूचीमा राख्ने विभागले बताएको छ ।
प्रतिक्रिया