आज विमान दुर्घटना बिदा

माघे संक्रान्तिका अवशरमा स्नान तथा पूजाअर्चना सिध्याएर घिउ, चाकु, कन्दमूललगायत मीठा–मीठा परिकार खाने तयारीमा नेपालीहरू थिए । एकाएक मोबाइलमा नराम्रो घटनाको सन्देश आउन थाल्यो । त्यो दुःखद् सन्देश थियो, ‘पोखरामा हवाइजहाज दुर्घटना ।’ हवाइजहाज दुर्घटनाको समाचार आफै“मा भयावह हुन्छ । दुर्घटनाग्रस्त हवाइजहाजका यात्रु जिउँदो हुने संभावना अत्यन्त कम हुन्छ । त्यसमा पनि पोखरामा आइतबार भएको हवाइजहाज दुर्घटना भयंकर थियो । चार जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए । नेपालमा आन्तरिक उडानका हवाइजहाज दुर्घटनाहरू धेरै भएका छन् । जसमध्ये आइतबारको दुर्घटना सबैभन्दा ठूलो हो ।

संयोग पनि कस्तो परेको छ भने नेपालमा भएका आन्तरिक उडान दुर्घटनामध्ये धेरैजसो यति एयर तथा उसको भगिनी संस्था तारा एयरकै छन् । सञ्चालनमा आएको यो २५ वर्षको अवधिमा यति तथा उसको भगनी संस्था तारा एयरका आठ वटा विमान दुर्घटनामा परिसकेका छन् । गत वर्षको पुसमा पोखराबाट जोमसोम प्रस्थान गर्दै गर्दा तारा एयरको विमान दुर्घटना भएको थियो । यति एयरलाइन्सले नेपालका कतिपय ‘जोखिमपूर्ण’ विमानस्थलमा उडान भर्दै आएको छ । भरखरै निर्माण सम्पन्न भएको पोखरा विमानस्थल ‘जोखिमपूर्ण’ हो वा होइन ? भन्ने कुरा अब आइतबारको दुर्घटना छानविनपछि पुष्टि हुनेछ । विमान दुर्घटनापछि छानविन समिति बनाउने कर्मकाण्ड सरकारले आइतबार नै पूरा गरिसकेको छ ।

विमान दुर्घटनाले पुर्याएको मानवीय क्षति त अपूरणीय हुँदै हो, सँगसँगै हाम्रोजस्तो निमुखो देशले आर्थिक क्षति पनि त्यतिकै ठूलो बेहोरेको छ । नेपालको आकाश प्राकृतिक रूपमै सुरक्षित छैन भन्ने सन्देश फेरि अन्तर्राष्ट्रिय जगतमा पुगेको छ । चाहे संसारको कुनै कुनामा भएको होस्, हवाइजहाज दुर्घटनाको समाचार सबै देशका मिडियाहरूले उत्तिकै प्राथमिकताका साथ प्रवाह गर्ने गर्छन् । अन्य दुर्घटनाका तुलनामा हवाइजहाज दुर्घटनाप्रति मानवीय चासो पनि उत्तिकै हुन्छ । हवाइजहाज दुर्घटनाका कारणहरू मुख्यतया चार वटा हुन्छन् । जहाज निकै पुरानो भएपछि उत्पन्न हुने यान्त्रिक गडबढी, मौसमको खराबी, चालकको लापरबाही र सुरक्षाकर्मीको असावधानी । तर नेपालमा हुने गरेका हवाई दुर्घटना छानविन समितिहरूले यान्त्रिक गडबढी तथा चालकको लापरबाहीलाई आफ्नो प्रतिवेदनमा त्यति उल्लेख गरेको पाइन्न ।

उदाहरणका लागि गत वर्षको पुसमा दुर्घटनाग्रस्त ६५ वर्ष पुरानो तारा एयरलाइन्सको जहाजलाई पोखरा विमानस्थलमा स्टार्ट गर्ने क्रममा मान्छेले धकेलिरहेको प्रत्यक्ष देख्नेहरू धेरै थिए । तर छानविन समितिले मौसमलाई दोष दियो । आइतबार दुर्घटनामा परेको यति एयरको विमान ५० वर्ष पुरानो रहेको समाचार आएको छ । विमान निर्माण कम्पनी तथा विमान सञ्चालन कम्पनीको साख जोगाउने नाममा नेपालको आकाश प्राकृतिक रूपमै जोखिमपूर्ण छ भन्ने सन्देश जाने गरी छानविन समितिले प्रतिवेदन दिने गरेकै कारण नेपालको पर्यटन व्यवसायले अपेक्षित गति लिन नसकेको हो ।

हवाइजहाज दुर्घटना नेपालमा मात्रै हुने गरेको छैन । तर, नेपालभन्दा ६६ गुणा ठूलो क्षेत्रफल र डेढ अर्ब जनसंख्या रहेको छिमेकी चीनमा यो दुई दशकको अवधिमा कति वटा विमान दुर्घटना भए ? नेपालभन्दा २२ गुणा ठूलो क्षेत्रफल र डेढ अर्ब जनसंख्या रहेको भारतमा यो दुई दशकको अवधिमा कति वटा विमान दुर्घटना भए ? भन्ने प्रश्नको उत्तरसँग नेपालका विमान दुर्घटनाहरूलाई तुलना गर्ने हो भने निकै नै कहालीलाग्दो अवस्था छ ।

दुर्घटनाको समाचार आउने बित्तिकै मन्त्रिपरिषद्को आपतकालीन बैठक बस्दै गर्दा धेरैले अनुमान गरेका थिए, ‘पुराना जहाज नेपाल भित्र्याउने सिलसिलालाई पुनर्विचार गर्ने निर्णय सरकारले गर्नेछ ।’ तर सरकारले यसको सट्टा माघ २ गते सरकारी बिदा दिने निर्णय गर्यो । यो बिदाले पीडित परिवारको घाउमा के कति राहत पुर्यायो ? भन्ने प्रश्न आफ्नो ठाउँमा होला, तर सरकारी कर्मचारीका निम्ति त दसैँ आएजस्तै भयो । शनिबार यसै पनि बिदा थियो, आइतबार माघे संक्रान्तिको बिदा, सोमबार जहाज दुर्घटनाको बिदा ।

सरकारी कर्मचारीले लगातार तीन दिन बिदा बस्ने अवसर पाए पनि बिहान काम गरेर बिहानैको र दिउँसो काम गरेर बेलुकाको छाक टार्न वाध्य नेपालीका लागि त यस्ता बिदाले काम खोस्ने मात्रै हो । सरकारी बिदा दिनुको साटो राष्ट्रिय झण्डा तीन दिन झुकाएर र धार्मिक स्थानहरूमा मैनबत्ती बाल्न सबै नागरिकलाई आव्हान गरेको भए उचित हुन्थ्यो । दुर्घटनाबाट मृत्यु हुने परिवारहरूमा पर्न जाने आर्थिक भार र परिवारहरूलाई उचित व्यवस्थापन नै मृतकहरूका आत्माको लागि सम्मान हो ।

प्रतिक्रिया