प्रधानमन्त्री पदमा नियुक्त भएको तीन साता वित्दा समेत पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । नियुक्त भएका मन्त्रीहरुलाई पनि जिम्मेवारी दिन सकेका छैनन् । विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषदलाई पूर्णता दिने भनिएको थियो । तर विश्वासको मत प्राप्त गरेको पनि एक साता वित्न लागेको छ । मन्त्री विना मन्त्रालय चल्दैनन् । मन्त्रालय नचल्दा मुलुक चल्दैन । सरकारले ल्याएका न्युनतम साझा कार्यक्रमहरु राम्रा छन् । तर मन्त्रालयहरुमा मन्त्रीको प्रवन्ध नभए सम्म यी कार्यक्रमको कार्यन्वन सुरु नै हुँदैन । मन्त्री हुँदा र नहुँदा कति फरक पर्दोरहेछ भन्ने कुरा यतिबेलाका तीन वटा मन्त्रीहरुले पुष्टि गरेका छन् । गृहमन्त्री रवि लामिछानेले जनतालाई सरकार भएको महशुस गराउने संकेत दिएका छन् । अर्थमन्त्रमन्त्रालयमा पनि विष्णु पौडेलले शुभ संकेत देखाएका छन् । भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले ठोस परिणाम दिन नसके पनि मिडियामा प्रचारबाजी गर्न भ्याएका छन् । तर बाँकी मन्त्रालयहरु कर्मचारीको भरमा चलेका छन् । गत साउनमा आम निर्वाचनको मिति घोषणा भए देखि नै मन्त्रालयहरु काम चलाउमा परिणत भएका हुन् । नयाँ सरकार गठन हुना साथ मन्त्रालयहरुले गति दिन सक्नु पर्ने थियो ।
प्रधानमन्त्रीको पहिलो काम भनेकै मन्त्रिपरिषद गठन हो । करिव ९९ प्रतिशत विश्वासको मत हासिल गरेका प्रधानमन्त्री प्रचण्डलाई पहिलो काम गर्न कुन शक्ति या ताकतले रोकिरहेको छ ? भन्ने प्रश्नको उत्तर अप्ठेरो छैन । सात दलीय गठवन्धनमा भागवण्डा नमिल्दा मन्त्रिपरिषदको विस्तारको काम रोकिएको हो । यथार्थमा भन्नु पर्दा भाग नमिलेको होइन, भाग मिलाउन नखोजिएको हो । तर प्रचण्डका हकमा भन्ने हो भने उनी गन्तव्य हिन यात्रुका रुपमा प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् । जब कहाँ जाने ? भन्ने गन्तव्य नै थाह नपाई यात्रु आफ्नो घरबाट बाहिर निस्कन्छ भने उ तगारोमा पुगेर रोकिन्छ । यतिबेला प्रचरणको हकमा त्यही भएको छ । प्रचण्ड जुन रथमा चढेका छन् , त्यो रथका घोडाहरु सात तिर फर्केका छन् । घोडाहरुको गन्तव्य अलग अलग छ । प्रचण्ड सँग गन्तव्य नभएको मात्रै होइन , आँफु कुन ठाउँमा उभिएको छु ? भन्ने नक्शा समेत थाह छैन । एक हिसावले कुहिरोको काग जस्तै बनेका छन् प्रचण्ड ।
जग जाहेर छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको डिजाइनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । जसरी महाभारतको युद्धमा शिखण्डीलाई अघि उभ्याएर अर्जुनले भीष्म पितामह माथि बाण प्रहार गरेका थिए , त्यतिसरी नै प्रचण्डलाई मूर्तिका रुपमा अघि उभ्याएर आफ्नो लक्ष भेदन गर्ने ओलीको रणनीति हो । ओलीको लक्ष के हो ? भन्ने कुरा पुस २५ गते बसेको संसदको पहिलो बैठकमा दिएको अभिव्याक्तिले नै पुष्टि गरिसकेको छ । ओलीको लक्ष भनेकै सरकार र संसदलाई अफल गराएर मुलुकलाई मध्यावधी निर्वाचनमा धकेल्नु हो । त्यति नगरेसम्म आँफूले दुई दुई पटकसम्म गरेका संसद विघटनको औचित्य पुष्टि हुन सक्दैन भन्ने कुरा ओलीलाई थाह छ ।
प्रचण्डलाई असफल बनाउनु ओलीको पहिलो रणनीति हो । मन्त्रिपरिषद गठनमा भएको ढिलाई सँगै प्रचण्डलाई ओरालो यात्रा तर्फ घचेट्न ओली सफल भएका छन् । प्रधानमन्त्री प्रचण्डले समयमै विकल्प खोज्ने हिम्मत राख्नु पर्छ । पाँच दलीय गठबन्धन भत्काउनु गल्ती थियो भन्दै नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीहरुले व्यवाहरद्धारा नै आत्मा समिक्षा गरिसकेका छन् । नेपाली कांग्रेस र एकीकृत समाजवादीद्धारा प्रचण्डलाई विश्वासको मत दिनु भनेकै कोर्श करेक्सनको प्रस्ताव हो । कोर्श करेक्सनका लागि कांग्रेस र एकीकृत समाजवादी पार्टी हदैसम्म लचिलो भएको अवशरलाई प्रचण्डले समयमै सदुपयोग गर्नुपर्छ । खुट्टा दरो टेक्नु पर्छ । प्रधानमन्त्री पद टिकाउनका लागि आवश्यक बहुमत जुटाउन ओली र राजेन्द्र लिङ्देनको मात्रै भर पर्नुपर्ने अवस्थामा प्रचण्ड छैनन् । तर यो अवशरको सदुपयोग गर्न प्रचण्ड अब एक डेढ महिना चुके भने ओलीको दिग्विजय निश्चित छ । किनकी मौका आउँछ , पर्खँदैन । कांग्रेसले मौका चिन्न नसके जस्तै हुन्छ प्रचण्डका लागि ।
प्रतिक्रिया