दूरदर्शी राजनेता पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउनका लागि सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ । नयाँ सरकारका न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै उपप्रधानमन्त्री विष्णु पौडेलले सोमबार यो घोषणा गर्नुभएको हो । गणतन्त्र स्थापनापछि सुरु भएको मुख्य विवाद यो घोषणासँगै समाप्त भएको छ । ०६३ सालको आन्दोलनले गणतन्त्रका लागि मार्ग प्रसस्त गरेपछि नेपाल एकीकरणमा शाह वंशीय राजाहरूको योगदानलाई स्वीकार गर्ने कि, नगर्ने ? भन्ने सन्दर्भमा राजनीतिक दलहरूबीच मतभेद रहँदै आएको थियो । खास गरी माओवादी र मधेसीदलहरूको नेपाल एकीकरणलाई हेर्ने दृष्टिकोण फरक थियो । पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने चलनलाई माओवादी र मधेसी दलकै दबाबमा खारेज गरिएको थियो । तर, अहिले माओवादी नेतृत्वमा मधेसीदलहरू सम्मिलित भएको सरकारले सार्वजनिक बिदासमेत दिएर पृथ्वी जयन्ती मनाउने निर्णय गरेको छ । जसले दानवीकरण गर्दै कठोर दृष्टिकोण राखेका थिए, उनीहरू नै पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय पर्वको रूपमा मनाउने घोषणा गरेस“गै पृथ्वीनारायण शाहको योगदानसम्बन्धी अन्योल समाप्त भएको छ ।
नेपालको एकीकरण त्यो युगको अनिवार्य आवश्यकता थियो भन्ने कुरामा दुई मत छैन । एकीकरणको नेतृत्व पृथ्वीनारायण शाहले गरेका हुन् भन्ने कुरामा पनि दुई मत छैन । यसैगरी पृथ्वीनारायण शाहका उत्तराधिकारीहरू निकम्मा र निरंकुश हुँदै गएका कारण गणतन्त्र युगको माग थियो भन्ने कुरा पनि असत्य होइन । तर, गणतन्त्र स्थापना हुँदैमा पृथ्वीनारायण शाहको योगदान अवमूल्यन गर्नु अदूरदर्शी निर्णय थियो । यो निर्णय सच्याएर सरकारले सकारात्मक सन्देश दिएको छ ।
तर पृथ्वी जयन्ती मनाउने कुरा पितृको श्राद्ध गरेजस्तो कर्मकाण्ड हुनुहुँदैन । नेपाल एकीकरणको आवश्यकता र महत्वबारे नयाँ पुस्तालाई सुसूचित गराउँदै जाने अवशर हो । ठूलो भूगोल र धेरै जनतालाई शासन गर्नका लागि मात्रै नेपाल एकीकरण गरिएको थिएन । पौराणिककाल देखिको नेपालको गौरवलाई निरन्तरता दिनका लागि एकीकरण गरिएको थियो । पूरा लिच्छिवीकाल तथा मल्लकालको आधा–आधी समयसम्म पनि नेपाल विश्वका १० वटा धनी तथा विकसित देशहरूको सूचीमा थियो । विश्वका अत्यन्त बलिया सार्वभौमसत्ता सम्पन्न देशहरूको सूचीमा नेपाल थियो । पृथ्वीनारायण शाहले भौगोलिक एकीकरणको करिबकरिब ७५ प्रतिशत काम गर्न मात्रै भ्याए । बा“की काम अघि बढाउन लिखित मार्गचित्र बनाएर छाडिदिए । त्यो लिखित मार्गचित्रलाई दिव्योपदेश भनिन्छ । दिव्योपदेश आज पनि ज्वलन्त र सान्दर्भीक छ । भोलि पनि रहनेछ । पृथ्वीनारायण शाह कतिसम्म दूरदर्शी राजनेता थिए ? भन्ने कुराको ज्वलन्त उदाहरण हो ।
पृथ्वीनारायण शाहको दिव्योपदेश पढ्ने मात्रै होइन त्यसको मर्मलाई सबैले आत्मासाथ गर्नुपर्छ । शासन गर्ने व्यक्तिहरूको छनौट जनताको रायअनुसार गर्नुपर्ने, जनतालाई अधिकार सम्पन्न बनाउनुपर्ने, विदेशी उत्पादन सकेसम्म प्रयोग गर्न नहुने, देशलाई आत्मनिर्भर बनाउनुपर्ने, कृषिका लागि योग्यभूमिलाई अरू प्रयोजनमा लगाउन नहुने कुरा पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख छ । यसैगरी चीन र भारत दुवैलाई विश्वस्त पार्नुपर्ने, अंग्रेजहरूको चलाखीपनप्रति हरहमेशा सतर्क रहनुपर्नेलगायत धेरै उपदेशहरू पृथ्वीनारायण शाहले दिएका छन् । तर, पृथ्वीनारायण शाहका उत्तराधिकारीहरूले दिव्योपदेश अनुशरण नगरेका मात्रै होइन सत्ताको चरम दुरुपयोग गरेका कारण नेपाल कमजोर भयो । राजतन्त्र पनि समाप्त भयो । राजतन्त्रको युग सकियो । मुलक गणतन्त्रमा प्रवेश गरेको छ । गणतन्त्रको यो युगमा अरू राजाहरू असान्दर्भीक भए भन्दैमा पृथ्वीनारायण शाहलाई पनि त्यही डालोमा मिसाउनु उचित थिएन । पृथ्वीनारायण शाह राजाभन्दा पनि दूरदर्शी राजनेता थिए । जबसम्म नेपाल रहन्छ, तबसम्म पृथ्वीनारायण शाहको दृष्टिकोणको सान्दर्भीकता पनि रहन्छ ।
प्रतिक्रिया