शीतलहर र सरकारको दायित्व

बाक्लो कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले तराई क्षेत्रको जनजीवन केही दिनदेखि निकै कष्टकर बनेको छ । शीतलहरले जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो । हुस्सुका कारण दिउँसै अँध्यारोजस्तो भएको छ । सूर्यको ताप जमिनसम्म आउन नसकेपछि कठ्यांग्रिने गरी जाडो बढेको छ । जाडोका कारण मजदुर, स्कुले बालबालिका, वृद्धवृद्धालाई बढी असर पारेको छ । धेरै विद्यालयले जाडोको बिदा दिए पनि कतिपय निजी विद्यालयले पढाइ सञ्चालन गरिरहेका छन् । सहरी क्षेत्रका कतिपय सार्वजनिक चोकमा पुराना टायर, पराल र प्लास्टिक बालेर आगो ताप्ने गरिएका कारण वातावरण प्रदूषणको समस्या थप बढेको छ । आर्थिक सम्पन्न व्यक्तिहरूलाई त खासै समस्या छैन । घरमा बस्दा हिटर बालेका छन्, बाक्लो सिरक ओढेका छन् । बाहिर निस्कँदा ज्याकेट तथा स्विटर लगाएका छन् । तर, विपन्न वर्गका जनता भने पराल ओछ्याएर र गुन्द्री ओढेर रात गुजार्न बाध्य भएका समाचार आएका छन् । जाडोको जोेखिममा विशेष गरी गरिब वर्गका बालबालिका, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरू परेका छन् । शरीरको तापक्रम ८२ डिग्री फरेनहाइटभन्दा तल झरेमा सामान्य मानिसको समेत मृत्यु हुने चिकित्सकको भनाइ छ । नेपालमा हरेक वर्ष शीतलहरका कारण मृत्यु हुनेको संख्या बढ्दो छ । यो एक दशक यता शीतलहरका कारण सयभन्दा बढीको ज्यान गइसकेको सरकारी तथ्यांक छ ।

शीतलहर आकस्मिक प्राकृतिक प्रकोप होइन । हरेक वर्ष पुस र माघ महिनामा शीतलहरको समस्या हुने गर्छ । फरक यति हो कि, कुनै वर्ष शीतलहरको समय छोटो हुन्छ, कुनै वर्ष लामो हुन्छ । जुन वर्ष शीतलहरको समय लामो हुने गरेको छ, त्यो वर्ष धेरैको मृत्यु हुने गरेको छ । दुर्भाग्यबस यसवर्ष पनि शीतलहर लम्बिएको छ । शीतलहर कहिलेदेखि सुरु हुन्छ र कति दिनसम्म चल्छ ? भन्ने पूर्वानुमान गर्ने प्रविधि हाम्रो देशको मौसम विज्ञान विभागसँग छ । शीतलहर तथा जाडोले कष्ट दिने त भइहाल्यो, तर धेरै नै कष्ट हुनु र ज्यानसमेत जानुको कारण गरिबी तथा लापरबाही हो । चेतनाको अभावमा कतिपयले शीतलहरबाट जोगिने उपाय अवलम्वन गर्न चुकेको पाइन्छ भने गरिब वर्गका लागि सहनुको विकल्प हुँदैन । त्यसैले शीत लहरभन्दा पनि ठूलो समस्या गरिबीकै हो । शीतलहरका कारण मानिसहरू बिरामी भए, ज्यान गयो भन्नुभन्दा पनि गरिबीका कारण यो समस्या आइलागेको हो भन्नु उचित हुन्छ ।

यो सिजनमा हिमाली क्षेत्रका कतिपय बस्ती भएको ठाउँमा माइनस १० डिग्री सेन्टिग्रेडभन्दा पनि तल तपक्रम पुग्ने गर्छ । तर, जाडोका कारण मान्छेहरू बिरामी भएको तथा ज्यान गएको समाचार आउँदैन । तराईमा जति दिन शीतलहर चले पनि दुई या तीन डिग्री सेन्टिग्रेडभन्दा तल तापक्रम पुग्दैन । तर जाडोका कारण मानिसहरू बिरामी भएका र ज्यानसमेत गएका समाचार तराईबाटै धेरै आउने गर्छन् । यो कुरा झट्ट हेर्दा अनौठो लाग्छ । तर तराईमा गरिबी बढी छ । जनचेतना कम छ । यो समस्या समाधानका लागि दीर्घकालीन र अल्पकालीन योजना अघि सार्न तीन वटै तहका सरकारहरू चुकेका छन् । गरिबीको रेखामुनि रहेकाहरू स्थानीय सरकारको प्राथमिकताभित्र अझै परेको देखिँदैन । संघीय सरकारले आगो ताप्ने दाउरा उपलध गराउन, न्यानो कपडा उपलव्ध गराउन त्यति व्यावहारिक हुँदैन । यो जिम्मेवारी स्थानीय सरकारले बहन गर्नुपर्छ । जाडोबाट बच्न आफ्नो पालिका भित्रका कसकसलाई कुन कुन वर्ष के के चाहिन्छ ? भन्ने कुरा स्थानीय सरकारलाई मात्रै थाहा हुन्छ । अघिल्लो वर्षको शीतलहरमा उपलव्ध गराइएका न्यानो कपडाहरू पछिल्लो वर्षको शीतलहरका लागि जतन गर्नुपर्छ भन्ने कुरा स्थानीय सरकारले सिकाउनुपर्छ । जाडो छेक्ने घरबासको उचित प्रबन्धका लागि संघीय सरकार र प्रदेश सरकारले दीर्घकालीन उपाय अघि बढाउनु जरुरी छ । किनकी घरबास भनेको जनताको मौलिक अधिकार हो ।

प्रतिक्रिया