गृहमन्त्रीले निर्देशन दिएकाे चारदिन नबित्दै काठमाडौं प्रशासनले सुरु गर्यो ‘टाइम कार्ड’

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले १८ वुँदे निर्देशन दिएकाे चार दिन नबित्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा प्रवाहका लागि टाइम कार्ड लागू गरेको छ । यहीं पुष १८ गते साेमबार गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई १८ बुँदे निर्देशन दिएका थिए । साे निर्देशनकाे वुँदा न. १४ मा ‘सेवा प्रवाहमा टाइमकार्ड लागु गर्न अभ्यास गर्नुहोस्’ भनिएकाे थियाे ।

बिहीबारदेखि लागू हुने गरी १० किसिमका सेवामा टाइम कार्ड लागू गरिएको हाे । प्रशासनबाट हुने सेवा प्रवाहलाई व्यवस्थित गर्न यो नियम लागू गरिएको हो । सेवा लिन आउनेले आवश्यक कागजात पूरा गरे तोकिएको निश्चित समयभित्र उनीहरुले सेवा पाउनेछन् ।

कागजात पुगेको छ भने अब एक घन्टाभित्रमा नागरिकता तयार हुनेछ । कार्यालयले संस्था नवीकरणका लागि ३० मिनेट, नाबालक परिचय पत्र, प्रशासनबाट प्रदान हुने अरु सबै सिफारिसतका लागि एक घन्टा समय तोकेकाे । राहदानी छपाइ भएर आइसकेपछि लिनका लागि १५ मिनेटमा काम हुने छ । मुद्दा सम्बन्धी पेशी तोक्ने र तारेख दिने कामका लागि ३० मिनेट छुट्टयाइएको छ भने प्रमुख जिल्ला अधिकारीले गर्ने फैसला ६० दिनभित्र गरिसक्ने भनिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पनि बिहीबार जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगेर काठमाडौं प्रशासनले थालेको कामको प्रशंसा गर्दै नागरिकलाई सेवा लिन आउँदा सास्ती हुन नहुने बताएका छन् ।

प्रतिक्रिया