टुंडिखेलको खुलामञ्च मुनी तीनतले भूमिगत पार्किङ निर्माण गर्ने काठमाडौं महानगरपालिकाको योजनालाई केही वातावरण संरक्षणबादीहरुले विरोध गरेका छन् । ‘अकुपाई टुँडिखेल’ अभियानले मध्यसहरको खुला चउर मासिने र जलभण्डारमा क्षति पुग्ने भन्दै विरोध गरिरहेको छ । उपमेयर सुनिता डंगोलको पनि विरोध अभियानमा भित्र भित्रै साथ सहयोग रहेको होकी जस्तो देखिएको छ । काठमाडौं महानगरको कार्यपालिका बैठकले गत कात्तिकमा नगर विकास कोषलाई यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन दिने निर्णय गरेको थियो । भूमिगत पार्किङको विरोधमा सोमबार ज्ञापनपत्र बुझाउन गएको ‘अकुपाई टुँडिखेल’ का अभियन्तासमक्ष उपमेयर सुनिता डंगोलले यस्तो निर्णय नभएको ,खाली अध्यायन मात्रै गर्ने निर्णय भएको बताएकी छिन् । उनको यो भनाईले खुला मञ्चमा भूमिगत पार्किङ बन्ने वा नबन्ने कुरामा अन्योलता बढेको छ ।
यस्तो अन्योलता लामो समयसम्म रहनु उचित हुँदैन । पहिलो कुरा त काठमाडौं महानगर भित्र सवारी साधन पर्किङको समस्या विकराल हुँदै गएको छ । सवारी साधन पार्किङको समस्याकै कारण एकातिर ट्राफिक जाम बढेको छ भने अर्कातिर यात्रुहरुले समेत अनावश्यक दुख पाएका छन् । पार्किङ स्थल कहाँ–कहाँ र कसरी निर्माण गर्ने भन्ने निक्र्योल गर्नु आवश्यक भइसकेको छ । बाहिर खुला ठाउँमा पार्किङ स्थल बनाउनका लागि जग्गा छैन । भूमिगत पार्किङ स्थल निर्माण गर्दा जलभण्डारमा असर पर्ने दावी एक थरीले गरेका छन् । उसो भए अहिलेको विकराल समस्यालाई झन विकराल बनाउँदै जाने त ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ ।
पछिल्लो समयमा राजधानी काठमाडौंमा दुई वटा ठूला भूमिगत पार्किङ स्थल निर्माण भएका छन् । धरहराको भूमिगत पार्किङ केही समयमा सुरू हुँदैछ भने पुरानो बसपार्कमा भूमिगत पार्किङसहित बहुतले टावर बन्दैछ । यी दुई वटा पाकिङ स्थलले ट्राफिक चाप के कति थेग्न सक्छन् ? भन्ने परीक्षण हुन बाँकी नै छ । तर पुरानो बसपार्कमा बन्दै गरेको पार्किङ स्थल काठमाडौंको पुरानो मुख्य शहरका लागि पायक पर्दैन । मल्लकालिन काठमाडौं शहर पर्यटकीय तथा पुरातात्विक महत्व बोकेको क्षेत्र हो । यो क्षेत्रका सडकहरु अत्यान्त साँघुरा छन् । सवारी साधन गुड्ने गरी यो क्षेत्रको सडक संरचना गरिएकै होइन । केबल चाडपर्वका समयमा रथहरु गुडाउनका लागि संरचना गरिएका सडकहरु हुन् । यो शहरको पर्यटकीय र पुरातात्विक महत्व संरक्षणका लागि पनि आसपासका क्षेत्रमा पर्किङ स्थल निर्माण अत्यान्त जरुरी छ । तर खुलामञ्च बाहेक अरु विकल्पका बारे पनि अध्यायन हुनु जरुरी छ । खासगरी ठमेल क्षेत्र , टेकु क्षेत्र तथा भीमसेनथान, नरदेवी क्षेत्रका लागि खु्लामञ्चमा बन्ने भूमिगत पार्किङ के कति पायक पर्छ ? भन्ने तर्फ पनि अध्यायन जरुरी हुन्छ ।
पार्किङ स्थलको आवश्यकता महसुस गरिनुको मुख्य कारण पुरानो काठमाडौं शहरको संरक्षण गर्नुका अलवा ट्राफिक समस्या कम गर्नु पनि हो । यत्रो शहरका लागि खुलााञ्चमा मात्रै ठूलो पार्किङ स्थल निर्माण गर्ने हो भने ट्राफिक समस्या घट्ने होइन कि, झन् बढ्छ । एकै ठाउँमा ठूलो पार्किङस्थल निर्माण गर्नु भन्दा लैनचौर, विष्णुमति किनारका क्षेत्र, टेकुक्षेत्र लगायत विभिन्न ठाउँमा डेढ दर्जन जति भूमिगत पार्किङ स्थल बनाउन सकिन्छ । खुलामञ्चकै हकमा पनि करिव २५ प्रतिशत भागलाई मात्रै समेटेर भूमिगत पार्किङ स्थल बनाउने योजना अघि सारिएको भए यस्तो विरोध नहुन सक्थ्यो, तर समस्या समाधान भन्दा पनि व्यवसायिकता तर्फ महानगर अघि बढेका कारण विरोध सुरु भएको हो । किनकी महानगरले खुला मञ्चमा तीन तले पार्किङका साथै भारतको राजधानी दिल्लीको पालिका बजार जस्तै भूमिगत बजार निर्माण गर्ने भनेका कारण आसपासका घरधनी तथा व्यापारी बेखुसी देखिएका छन् । अर्को कुरा खुलामञ्चको पार्किङ स्थलबाट टाढा पर्ने ठमेल , क्षेत्रपाटी, नरदेवी, टेकु लगायतका क्षेत्रका बासिन्दाहरु प्नि वेखुशी देखिएका छन् । त्यसो त शहरको मध्यभागमा रहेको खुलामञ्चमा भूमिगत बजार निर्माण गर्दा ट्राफिक समस्या घट्ने होइन झन बढ्छ । याथास्थितिमा खुलामञ्चमा भूमिगत पार्किङ निर्माण गर्ने योजना तुहिने संकेत देखिएको छ । महानगरपालिकाले बेलैमा विकल्प सोचोस् ।
प्रतिक्रिया