कैदीवन्दीको लत्ताकपडा र दैनिक रकममा वृद्धि

कारागार नियमावली संसोधन

काठमाडौं । सरकारले देशभरका कारागारमा रहेका कैदीबन्दीको सेवासुविधा वृद्धि गरेको छ । कारागार नियमावली, २०२० संशोधन कैदीवन्दीले पाउँदै आएका नगद र लत्ताकपडा सुविधा बढाएको हो । संशोधन गरेको नियमावली सोमबार मात्रै राजपत्रमा प्रकाशित भएको छ । कैदीबन्दीले नियमावली संशोधन अघि दैनिक ६० रुपैयाँ भत्ता पाउँदै आएका थिए । अब संशोधित नियमावली अनुसार ८० रुपैयाँ पाउने जानकारी गृह मन्त्रालयले दिएकोे छ । मन्त्रालयका अनुसार ७ महिनादेखि नाबालक उमेर समूहकालाई दैनिक ३५ रुपैयाँ दिइँदै आएकोमा अहिले बढाएर ५० रुपैयाँ पु¥याइएको छ । कारागारमा रहेका महिला सुत्केरी भएमा एक पटकका लागि १ हजार रुपैयाँ सुत्केरी भत्ता दिइँदै आएकोमा अब उनीहरुलाई २ हजार दिईने भएको छ । मन्त्रालयका अनुसार मौसमअनुकुल हुने गरी कैदीबन्दीलाई चिसोमा ज्याकेट उपलव्ध गराइने निर्णय भएको छ । प्रत्येक वर्ष दुई जोर लत्ता कपडा दिइए पनि जाडोमा नधान्ने भएपछि कैदीबन्दीले कारागार प्रशासनलाई पटकपटक असन्तुष्टि जनाउँदै आएका थिए ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणी पोखरेलका अनुसार हरेक २ वर्षमा ३/३ केजीका सिरक/डस्ना वा आड्ने ओच्छयाउने दिइँदै आएकोमा त्यसलाई बढाएर ५/५ केजीका कपासबाट बनेका सिरक/डस्ना दिइने व्यवस्था गरिएको छ ।

मन्त्रालयका अनुसार अनुसार संशोधित नियमावलीअनुसार वृद्धि भएको कैदीबन्दीको सुविधा सोमबारबाटै लागू भएको छ । ‘समयानुकुल रकम नपाएको र लत्ताकपडाको बारेमा पनि कैदीबन्दीका गुनासा धेरै थिए, त्यसलाई संबोधन गर्दै नियमावली संसोधन नै गरेर सेवासुविधामा वृद्धि गरिएको हो,’ प्रवक्ता पोखरेलले भने, ‘ नियमावली संशोधनमार्फत दैनिक पाउने रकममा वृद्धि, पोसाकमा हेरफेर, सुत्केरी हुँदा पाउने नगदलगायतका सेवासुविधामा वृद्धि गरिएको छ ।

सरकारले कैदीबन्दीलाई अर्को सुविधा पनि दिएको छ । उनीहरुले आफूखुसी सिरक/डस्ना ल्याउन चाहेमा उक्त सिरक डस्ना बारबरको रकम भुक्तानी दिईने छ । पुरुष कैदीबन्दीलाई जाडो समयमा एक÷एक ओटा ज्याकेट र सुरुवाल तथा गर्मी मौसममा एक/एक वटा कमिज र सुरुवाल उपलब्ध गराईने व्यवस्था संसोधित नियमावलीमा गरिएको छ ।

सहसचिव पोखरेलका अनुसार महिलाको हकमा भने जाडोमा दस हाते धोती र चोलो र गर्मीमा कुर्था सुरुवाल गरी वर्षको दुई पटक दिइने व्यवस्था छ । नियमावली संशोधनसँगै लत्ताकपडाको गुणस्तरमा पनि हेरफेर गरिएको छ । हरेक कारागारमा रहेका कैदीबन्दी र थुनुवालाई अनिवार्य रुपमा फोटोसहितको परिचयपत्र उपलव्ध गराइने व्यवस्था पनि संशोधिन नियमावलीमा उल्लेख गरिएको छ ।

संसोधित नियमावली अघि पुरुष कैदीबन्दीले जाडोमा एक/एक वटा कुर्था र सुरुवाल र गर्मीमा एक/एकवटा कट्टु र सर्ट पाउँदै आएका थिए ।
नियमावली संसोधनअघि प्रत्येक कैदी वा थुनुवालाई चार हाते काम्लो एक र पाँच हाते पाखी एक वा काम्लो र पाखीको सट्टा सिरक डसना लिन चाहनेलाई तीन किलो कपास बराबरको सिरक एक तथा तीन किलो कपास बराबरकै डस्ना एक र चार हाते कोराको च्यादर वा तन्ना एक हरेक दुई वर्षमा एक पटक दिइने व्यवस्था थियो ।

हाल देशभर ७४ कारागार र ८ वटा बालसुधार गृह छन् । कारागार र बालसुधार गृहमा रहेका कैदीबन्दीको संख्या करिब २७ हजार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । मन्त्रालयका अनुसार अदालतबाट दोषी ठहर भई कारागारमा सजाय भुक्तानरत र मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका कैदी/बन्दीका लागि कसुर र व्यक्तिगत विवरण खुल्ने गरी परिचयपत्र अनिवार्य गरिएको छ ।

नियमावली संशोधनसँगै कारागार व्यवस्थापन विभागले देशभरका कारागार र बालसुधार गृहमा रहेका कैदीबन्दीका लागि कसुर, आफू रहेको कारागार, राष्ट्रियता, स्थायी ठेगाना, परिवारको सम्पर्क नम्बर, कैद बसेको मितिदेखि सजाय भुक्तान अवधि, पुर्पक्षमा रहेकाको हकमा कारागार चलान मितिलगायत विवरण समेटेर कैदीबन्दीको परिचयपत्र वितरण गर्नुपर्ने छ ।

प्रतिक्रिया