नेपाली कांग्रेसमा बेमौसमी रडाको

मुखैमा आइसकेको सत्ता फुत्किएकोमा प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस यति बेला शोकमा डुबेको छ । हालै सम्पन्न आमनिर्वाचनमार्फत दोस्रो ठूलो दलबाट उक्लेर पहिलो ठूलो दल बनेको नेपाली कांग्रेसले पाँच दलीय गठबन्धन टुटेसँगै सत्ता गुमाएको छ । सत्ता गुमेको ठिक १३ दिन अर्थात यही पुस २२ गते नेपाली कांग्रेससको केन्द्रीय समितिको बैठक बस्दैछ । आमनिर्वाचन तथा त्यसको परिणामबारे समीक्षाका लागि कांग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

आमनिर्वाचनमार्फत पहिलो दल हुँदाहुँदै पनि नेपाली कांग्रेसले सत्ताका धेरै अबयबहरू गुमाएको छ । नेपाली कांग्रेसको मुखमा आइसकेको राष्ट्रपति पद, दुई वर्षपछि सुनिश्चित भएको प्रधानमन्त्री पद, तत्काल प्राप्त हुने उपसभामुख पद, कम्तिमा १२ जना संघीय मन्त्री पद, सात मध्ये चार वटा प्रदेश सरकारको नेतृत्व गुमाएको छ । त्यति मात्रै होइन, एक वर्षपछि आउने राष्ट्रिय सभाको अध्यक्ष पद, दुई वर्षपछि आउने प्रधानमन्त्री पदसमेत गुमाएको छ । एक वर्षपछि राष्ट्रिय सभामा कांग्रेसका तर्फबाट थपिने कम्तिमा १२ जना सांसदको पद पनि गुमाएको छ । संवैधानिक अंगका पदाधिकारी, राजदूतलगायत कांग्रेसलाई प्राप्त हुने हजारौँ पदहरू गुमाएको छ । यति धेरै महत्वपूर्ण पदहरू गुमाउँदा नेपाली कांग्रेस शोकमा डुब्नु स्वभाविकै हो । यसको समीक्षा हुनु, एकले अर्काका कमीकमजोरी कोट्याउनु स्वभाविक हो । तर यतिबेला नेपाली कांग्रेसभित्र शत्रु हँसाउने गरी रडाको उत्पन्न भएको छ । एकले अर्कालाई गम्भीर आरोप लगाएका छन् ।

सभापति शेरबहादुर देउवाले उचित समयमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । तर, बैठकमा उचित समीक्षाभन्दा पनि दन्त बझानको तयारीमा संस्थापन पक्ष र इतर पक्ष जुटेका छन् । जसका लागि बैठकमा एकले अर्कालाई कसरी खुइल्याउने ? भन्ने तयारीमा कांग्रेसका दुवै गुटका छुट्टाछुट्टै भेला र बैठकहरू बसिरहेका छन् । इतर पक्षले सर्वश्व गुमाएको दोष संस्थापन पक्ष, त्यसमा पनि सभापति शेरबहादुर देउवामाथि थोपर्ने र विशेष महाधिवेशनको माग गर्ने तयारी गरेको छ । संस्थापन पक्षले इतर पक्षमाथि चुनावमा अन्तरघात गरेको आरोप लगाउने तयारी गरेको छ । दुवै पक्षमा यी तयारीहरू मिडियामार्फत छताछुल्ल भइसकेका छन् ।

कांग्रेसको इतरले पक्ष एक्लाएक्लै चुनाव लड्ने र चुनावपछि गठबन्धन गर्ने प्रस्ताव राखेको थियो । तर, गठबन्धनबाटै चुनाव लड्ने संस्थापन पक्षको प्रस्ताव सर्वसम्मत रूपमा पारित भयो । चुनाव अघि गठबन्धन गर्दा माओवादीलाई हैसियतभन्दा बढी सिटमा चुनाव जिताउनुपर्ने र माओवादीको त्यही सिट चुनावपछि कांग्रेसलाई अभिशाप बन्ने तर्क त्यतिबेला इतर पक्षले राखेको थियो । त्यही तर्क राखेकै कारण इतर पक्षमाथि अन्तर्घात गरेको आरोप लगाउने तयारीमा संस्थापन पक्ष जुटेको हो । तर इतर पक्षले त्यति बेला राखेको तर्क सरकार गठनका बेला पुष्टि भएको छ । किनकी समानुपातिक तर्फको निर्वाचन परिणाम हेर्ने हो भने एक्लाएक्लै चुनाव लडेको भए माओवादी केन्द्रले प्रतक्षतर्फ नौ सिट मात्रै जित्ने देखिएको छ भने नेपाली कांग्रेसले प्रतक्षतर्फ ५१ सिट जित्ने देखिएको छ । जुनबेला गठबन्धन गर्नै नहुने थियो, त्यो बेला गठबन्धन गर्ने र जुन बेला गठबन्धन टुटाउनै नहुने थियो त्यो बेला गठबन्धन टुटाउने कमजोरी कांग्रेस सभापति देउवाबाट भएकै हो ।

यो कमजोरी स्वीकार गर्दै देउवाले अत्मालोचनासहित मार्ग प्रशस्त गर्नु नै नेपाली कांग्रेसको हितमा छ । तर अनावश्यक रडाकोलाई थप मलजल गर्न निकटस्थहरूले सभापति देउवालाई थप उकासिरहेका छन् । अब सभापतिका रूपमा देउवाको कार्यकाल अर्को निर्वाचन सम्मका लागि बाँकी छैन । उमेरले पनि नेटो काटिसकेको छ । देउवाको शारीरिक अवस्था तथा मानसिक अवस्था पनि ठिक छैन भन्ने कुरा मिडियामा छताछुल्ल भइसकेको छ । यस्तो अवस्थामा मार्ग प्रसस्त गर्न छाडेर भविष्य बोकेका होनाहार युवा नेताहरूलाई खुइल्याउनेतर्फ आफ्नो सामर्थ दुरुपयोग गर्ने मौसम होइन भन्ने कुरा देउवाले आत्मासात गर्नु जरुरी छ । प्रमुख प्रतिपक्षी नेताका रूपमा प्रभावशाली भूमिका निर्वाह गर्ने अनुकूल अवस्थामा आफू छैन भन्ने हेक्का देउवाले राख्नु जरुरी छ ।

प्रतिक्रिया