विगत दुई वर्षदेखि घरजग्गा खरिदबिक्री कारोबार निरन्तर घटिरहेको छ । राजधानी काठमाडौं उपत्यकामा अघिल्लो आर्थिक वर्षको सुरुका पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षका सुरुका पाँच महिनामा घरजग्गाको कारोबार ६१ प्रतिशत घटेको सरकारी तथ्यांक छ । राजधानी काठमाडौंमा मात्रै होइन कारोबार घटेसँगै ठूला सहरी क्षेत्रको जग्गाको मूल्य पनि घटेको छ । घरजग्गाको कारोबार र मूल्य घट्नु अर्थतन्त्रका लागि राम्रै संकेत मानिन्छ, तर किन र कसरी कारोबार घटेको हो ? भन्ने प्रश्न भने निकै पेचिलो मानिन्छ ।
उत्पादक तथा रोजगारमूलक क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने जनचेतना आएका कारण घरजग्गाको कारोबार घटेको हो भने सकरात्मक मान्नुपर्छ । तर जनताको क्रय शक्ति कमजोर भएका कारण कारोबार घटेको हो भने अर्थतन्त्रका लागि ज्यादै खतरा हो । दुर्भाग्यबस यतिबेला घरजग्गाको कारोबार घट्नुको कारण जनतामा चेतना आएकाले होइन, क्रयशक्ति नभएका कारण हो । कोरोना कहरका कारण घटेको आम्दानी पुनः लयमा आउन सकेको छैन, तर दैनिक अत्यावश्यकीय बस्तुमा महँगी अचाक्ली बढेको छ । जनताको क्रयशक्ति तत्काल बढ्ने अवस्थासमेत छैन । घरजग्गा कारोबार तथा मूल्यमा आएको मन्दीको चक्रीय असर मुलुकको समग्र आर्थिक क्षेत्रमा पर्न थालिसकेको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाहरूले कुल कर्जामध्ये घरजग्गा धितो लिएर दिएको ६७ प्रतिशत छ । बैंकहरूको कुल कर्जा लगानी ४७ खर्ब रुपैयाँ छ । जसमध्ये ३१ खर्ब रुपैयाँ बराबरको कर्जा घरजग्गा धितो राखेर दिइएको छ । अब घरजग्गा धितो भएका धेरै कर्जा खराब हुने अवस्था छ । जब कुल कर्जाको ३० प्रतिशतभन्दा बढी खराब कर्जा हुन्छ, तब बैंकहरू धरासायी भएको मानिन्छ । त्यसै गरी घर निर्माण तथा जग्गा कारोबारका लागि प्रदान गरिएको कर्जा त यसै पनि खराब कर्जा हुने भइहाल्यो । गत साउन यता मात्रै बैंकहरूले जग्गा कारोबारमा २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
घर निर्माणका लागि प्रवाह गरिएको कर्जा अलग छ । आर्थिक मन्दीका कारण व्यवसायीले ऋण तिर्न नसकेका कारण बैंकहरूले धितोमा रहेको घरजग्गा बेच्न धमाधम लिलामी सूचना निकाल्न थालेका छन् । तर, लिलामीमा राखिएको घरजग्गा पनि बिक्री हुन सकेको छैन । धितो राखिएको जग्गाको मूल्य घटेर बैंकले दिएको ऋणभन्दा पनि तल झर्ने संभावना बढेको व्यवसायीहरूले बताएका छन् । यस्तो अवस्थामा व्यवसायी र बैंक एकैचोटी टाट पल्टिने संभावना बढ्छ ।
पछिल्ला दिनमा घडेरी प्रयोजनका जग्गाको मूल्यवृद्धि स्वभाविक प्रकारको थिएन । निश्चित व्यक्तिहरूले धेरै घडेरी ओगट्ने र चर्को मूल्यमा बिक्री गर्दै आएका थिए । अर्कोतिर घडेरीको भाउ निरन्तर बढिरहेका कारण सर्वसाधारणले पनि बैंकमा रकम जम्मा गर्नुभन्दा दुई÷चार वटा घडेरी किनेर राख्ने गरेका थिए । बैंकले तुरुन्त धितो राखेर ऋण दिने भएका कारण पनि सहरका घडेरीहरू नगदजस्तै बनेका थिए । जसका कारण पनि मूल्यवृद्धि भएको हो ।
एक परिवारका लागि आवश्यक भनेको एउटा घडरी मात्रै हो । नेपालमा घरपरिवारको संख्याभन्दा जग्गा प्लटिङ गरेर बनाइएका घडेरीको संख्या धेरै हुन गयो । अर्कातिर एक वा दुईभन्दा धेरै सन्तान नजन्माउने प्रवृत्ति बढ्दै गएको छ । यसैगरी दूरदराजका क्षेत्रमा समेत सहरी पूर्वाधार पुग्न थालेको छ । जसका कारण घडेरी प्रयोजनाका जग्गाको कारोबार ढिलो चाँडो घट्ने नै थियो । यो हेक्का बैंक तथा वित्तीय संस्थाहरूले राख्न सकेनन् । बरु सर्वसाधारणले यो हेक्का राखको देखियो । सरसर्ती हेर्ने हो भने पनि घरजग्गा कारोबारको भविष्य नेपालमा अब राम्रो देखिँदैन । पहिलो कुरा एक या दुईभन्दा बढी सन्तान जन्माउन छाडेका छन् । दोस्रो कुरा एक वा दुई सन्तानका लागि आवश्यक घडेरीको जोहो धेरैजसोले गरिसकेका छन् । तेस्रो कुरा वार्षिक डेढ लाख युवा अध्ययनका लागि विदेश जाने गरेका छन् । उनीहरूमध्ये धेरैजसो उतै सेटल हुन्छन् । डिभी परेर विदेश जाने, विदेशमा स्थायी बसोवास गर्नेसँग विवाह गर्ने प्रवृत्ति पनि बढेर गएको छ ।
प्रतिक्रिया