नारायणगढ–मुग्लिङ सडकखण्ड हिजो (पुस ५ गते मंगलबार) देखि एक महिना सम्मका लागि दैनिक चार घन्टा बन्द गरिएको छ । सडक खण्डमा पर्ने पुल निर्माणको कामका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि बन्द गरिएको हो । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको आयोजना प्रमुख किरण कार्कीले जानकारी दिएका छन् । उनका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ । चार वटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ । नारायणगढतर्फबाट जाने यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलोे बजारबाट जुगेडीसम्म र मालवाहक सवारीसाधनलाई भतेरी जंगलबाट रामनगरसम्म रोकिनेछ । काठमाडौंतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केबलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म रोकिनेछ । बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिनेछ ।
०३५ सालमा छिमेकी मित्रराष्ट्र चीनको सहयोगमा निर्माण भएको यो सडक खण्डलाई दुई लेन फराकिलो बनाउने काम पाँच वर्ष लगाएर केही वर्षअघि सम्पन्न भएको थियो । त्यो बेला पनि सडक सुचारु नहुँदा यात्रुले ठूलै सास्ती पाएका थिए । सडक विस्तारको काम सम्पन्न भए लगत्तै १ अर्ब २५ करोड रुपैयाँको लागतमा विश्व बैंकसँग ऋण लिएर पुल निर्माणको काम भइरहेको छ । संघीय राजधानी काठमाडौं उपत्यका तथा गण्डकी प्रदेशको राजधानी पोखरा उपत्यकालाई तराईसँग जोड्नका लागि एक मात्रै भरपर्दो राजमार्ग हो यो । त्यसैले यो राजमार्गलाई दुई लेन फराकिलो बनाउनु अपरिहार्य थियो । तर बिस्तारका नाममा धेरै समयसम्म यात्रुलाई दुःख दिनु राम्रो होइन । पहिलो कुरा त यस अघि दुई वर्षभित्र बिस्तारको काम सक्ने भनिएकोमा पा“च वर्ष लगाइयो । बिस्तारको काम र पुल निर्माणको काम सँगसँगै सुरु गरिएको भए यसपटक यात्रुहरूले सास्ती पाउनुपर्ने थिएन । नेपालकै सबैभन्दा व्यस्त मानिने यस सडक खण्ड एक घण्टा अवरुद्ध हुँदा पनि धेरै ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था छ । तर यसपटक दैनिक ४ घण्टाका दरले एक महिना सम्मका लागि बन्द गरिएको छ । तर चार घण्टा बन्द हुँदा हजारौँ सवारी साधन रोकिने भएकोले सडक जामको सास्ती अब कति हुने हो ? यसै भन्न सकिने अवस्था छैन ।
सडक बन्द रहने समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ । सकेसम्म वैकल्पिक राजमार्ग प्रयोग गर्नेतर्फ यात्रुहरू पनि सजग रहनुपर्छ । तर काठमाडौं तथा पोखराबाट तराई जाने आउने ठूला सवारी साधनका लागि भरपर्दा वैकल्पिक राजमार्ग छैनन् । वैकल्पिक राजमार्ग बनाएर मात्रै यस्ता व्यस्त राजमार्गको विस्तार तथा मर्मतको काम थालनी गरिनु पथ्र्यो । तीन वर्षअघि नै यस्तो आवश्यकता महसुस गरिएको पनि थियो ।
मुग्लिन– नारायणगढ सडक खण्डको हकमा वैकल्पिक राजमार्गको व्यवस्था गर्न कठिन थिएन । तनहुँको राजधानी दमौलीबाट सेती नदीको किनारैकिनार त्रिशूली नदीको घुमाउनेघाटसम्म वैकल्पिक सडक बनिसकेको छ । त्रिशूली नदीमाथि घुमाउने घाटको पुल निर्माण पनि सम्पन्न हुनै लागेको छ । यो वैकल्पिक सडक तथा पुल निर्माणको काम सम्पन्न गरेर मात्रै मुग्लिन–नारायणगढ सडक खण्डमा केही घण्टाका लागि सवारी निषेध गरिएको भए यात्रुले सास्ती पाउनुपर्ने अवस्था थिएन । अथवा थोरै समयमा लागि मात्रै सवारी आवागमन निषेध गरे पुग्ने अवस्था थियो । यस्ता महत्वपूर्ण र अत्यन्त व्यस्त सडकको मर्मत तथा पुननिर्माण गर्नुअघि वैकल्पिक व्यवस्था गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । अब पृथ्वीराजमार्ग विस्तारको योजना अघि बढ्दै छ । तर, काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणको काम सम्पन्न गरेर मात्रै, मध्यपहाडी लोकमार्गको काठमाडौं–पोखरा खण्ड निर्माण सम्पन्न गरेर मात्रै पृथ्वीराजमार्गको काठमाडौं–मुग्लिन खण्ड बिस्तारको काम थालनी गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।
प्रतिक्रिया