विद्युत् निर्यात होइन, प्रयोग बढाऔँ

गत वर्षायाममा उत्पादित सबै बिजुली स्वदेशमा खपत हुन सकेन । सित्तैमा खेर गयो । त्यतिबेला दैनिक पाँच सय मेगावाटभन्दा बढी बिजुली खेर गएको नेपाल विद्युत् प्राधिकरणको भनाइ छ । आन्तरिक खपत नभएपछि प्राधिकरणले बिजुली भारत निर्यात सुरु गरेको हो । हाल ४ सय १० मेगावाट बिजुली भारतले किन्ने सैद्धान्तिक सहमति जनाएको छ । पाँच सयभन्दा बढी मेगावाट निर्यातका लागि भारतबाट स्वीकृतिको पर्खाइ भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ । तर, आफ्नो देशको बिजुली सस्तोमा बेचेर महँगो मूल्यमा पेट्रोलियम आयात गर्नु कुनै पनि अर्थमा राम्रो होइन ।

मुलुकमा अहिले २२ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करिब १ हजार ७ सय मेगावाट मात्रै आन्तरिक खपत छ, तर राज्यले प्रत्येक महिना २४ अर्बको त पेट्रोलियम पदार्थ मात्रै आयात गर्छ । त्यसैकारण व्यापार घाटा उच्च छ । एकातिर हाम्रो आफ्नो जलविद्युत् खेर गएको छ । अर्कोतिर पेट्रोलियम पदार्थको आयतका कारण ठूलो परिणाममा विदेशी मुद्रा (डलर) समेत बाहिरिने गरेको छ । पेट्रोलियम पदार्थको प्रयोगबाट मुलुकमा प्रदूषण फैलिरहेको छ । जलवायु परिवर्तनमा समेत असर पुगिरहेको छ । जलवायु परिवर्तनको हालत यस्तै रहने हो भने आगामी ५० वर्षपछि हाम्रा आधाजसो हिमालहरू हिउँविहीन हुनेछन् । अनि कहाँको पानीले सञ्चालन हुन्छन् हाम्रा जलविद्युत् आयोजनाहरू ? विदेशी मुद्राको सञ्चिति घटाउने, व्यापार घाटा बढाउने र प्रदूषण फैलाउँदै जलवायु परिवर्तन गराउने मुख्य कारकका रूपमा रहेको पेट्रोलियमलाई जलविद्युत्ले प्रतिस्थापन गर्नेतर्फ सरकारले ध्यान दिन सकेको छैन ।

ऊर्जा मन्त्रालय अन्तर्गतको जल तथा ऊर्जा आयोग सचिवालयको सन् २०२१ को तथ्यांकमा समग्र ऊर्जा खपतमा विद्युतीय ऊर्जाको खपत ४ दशमलव २२ प्रतिशत मात्रै छ । अहिले पनि ६० प्रतिशत ऊर्जाको खपत दाउराबाट हुने गरेको छ । पेट्रोलियम पदार्थको प्रयोग १८ प्रतिशत छ । दाउरा तथा पेट्रोलियमको विकल्पमा विद्युत्को प्रयोग अपरिहार्य भइसकेको छ । तर, सरकारले विद्युत् निर्यातमा जोड दिइरहेको छ । दाउराको विकल्पमा त तत्काल जलविद्युत्को प्रयोग गर्न नसकिएला, किनकी हाम्रो मुलुकमा दाउरा धेरै सस्तो छ, खेर गइरहेको छ । तर, पेट्रोलियम पदार्थको विकल्पमा विद्युत्को प्रयोग गर्न नसकिने होइन । पेट्रोलियम पदार्थलाई मात्रै विस्थापित गर्ने हो भने पनि हाम्रो मुलुकमा तत्काल नौ हजार मेगावाट विद्युत् खपत हुने अवस्था छ । भारत रिसायो भने हाम्रो बिजुली किनिदिँदैन भन्दै भाषण फलाक्नुपर्ने अवस्था छ“दै छैन । सबै पेट्रोलियम पदार्थको आयात विस्थापन तत्काल गर्न नसकिएला, तर खाना पकाउने एलपी ग्याँसको विस्थापन त तत्काल गर्न सकिने अवस्था छ । तै पनि एलपी ग्याँस आयातलाई निरुत्साहित गरिएको छैन । यो मामिलामा गम्भीर षड्यन्त्र भइरहेको सजिलै बुझ्न सकिन्छ ।

पेट्रोलियम सवारी साधनलाई विस्थापित गरी विद्युतीय सवारी साधन अनिवार्य गर्ने अभियान तत्काल सुरु गर्न नसकिएला, तर एलपी ग्याँसको आयात कटौती गरेर मूल्य वृद्धि गरिदिनासाथ विद्युत्को प्रयोग स्वतः बढ्छ, खेर जाँदैन । विभिन्न जिल्लामा कोल्डस्टोर बनाउने, रासायनिक मल कारखाना स्थापना गर्ने, औद्योगिक ग्राम बनाउने, सिँचाइमा विद्युतीकरण गर्नेजस्ता सरकारका नीति पनि कार्यान्वयन गर्ने हो भने कृषि उपजलगायत अन्य बस्तुको आयात घट्छ, रोजगारी बढ्छ । परम्परागत र आयातित ऊर्जाले व्यापार घाटा मात्रै बढाउँदैन, प्रदूषण फैलाउन पनि उत्तिकै भूमिका खेलेको हुन्छ । दाउरा, कोइला, तथा पेट्रोलियम ऊर्जाबाट ब्ल्याक कार्बन, कार्बनडाइअक्साइड, सल्फोडाइअक्साइड लगायतका प्रदूषण निस्कने गरेको छ ।

यसबाट मानव स्वाथ्यमा असर त पुग्छ नै, साथसाथै जलवायु परिवर्तनमा पनि भूमिका खेलिरहेका हुन्छन् । त्यसैले स्वास्थ्य उपचार तथा औषधि आयातमा हुने खर्च जोगाउन पनि विद्युत्को प्रयोगलाई प्रोत्साहन गर्नु जरुरी छ । यसै गरी हाम्रो मुलुकको अपार संभावना भनेको पर्यटन हो । हिमाल हेर्ने तथा हिमाल आरोहण गर्न विदेशी पर्यटक नेपाल आउ“छन् । तापक्रम वृद्धि हुन नदिई हिमाल जोगाउनका लागि परम्परागत ऊर्जा तथा पेट्रोलियमको प्रयोगलाई जलविद्युत्ले विस्थापन गर्नै पर्छ ।

प्रतिक्रिया