तत्कालिन राजा महेन्द्र शाहले जनताको सत्ता आफ्नो कब्जामा लिएर देशलाई फेरी निरंङ्कुश अधिनायकवाद तर्फ धकेलेको दिन हो पुस १ गते । जनताले बलिदानीपूर्ण संघर्षद्धारा २००७ साल फागुन ७ गते प्राप्त गरेको उपलव्धीलाई राजा शाहले १० वर्ष बित्दा नबित्दै २०१७ साल पुस १ गते सैनिक बलद्धारा फिर्ता लिएका थिए । विसं १९०३ सालमा कोतपर्वको माध्यमद्धारा जंगबहादुर राणाले आफ्नो पारिवारिक शासन सुरु गरेका थिए । त्यसैले नेपालको राजनीतिक इतिहासका काला दिनहरुका रुपमा कोत पर्व र पुस १ गते अविस्मरणीय छन् । तर जंगबहादुर राणाले मच्चाएको कोत पर्व र महेन्द्र शाहले मच्चाएको पुस १ गतेको पर्वलाई कतिपय मामिलामा एउटै टोकरीमा राखेर विश्लेषण गर्न मिल्दैन । जंगबहादुर राणाले एउटा निरंकुश सत्ता खोसेर अर्को निरङ्कुश सत्ता आरम्भ गरेका हुन् ।
राज परिवारले चलाउँदै आएको निरङ्कुश शासनलाई जंगबहादुरले आफ्नो परिवारको हातमा ल्याएका हुन् । तर महेन्द्र शाहले भने जनताले बलिदानीपूर्ण संघर्ष गरेर प्राप्त गरेको सत्तालाई आफ्नो हातमा फर्काएका हुन् । त्यसैले कोतपर्वले भन्दा २०१७ साल पर्व बढी अन्धकारमय छ । इतिहासमा घटित राम्रा या नराम्रा सबै घटनालाई स्मृतिमा राख्दै भावि पुस्तालाई सचेत गराउनु वर्तमान पुस्ताको जिम्मेवारी हो । कतिपय घटनाहरु इतिहासका विद्यार्थीमा मात्रै सिमित राख्नु भन्दा आम जनताको जानकारीमा राख्नु उचित हुन्छ । त्यसैले पनि हरेक वर्ष पुस १ गतेको दिनलाई स्मरण गर्ने गरिन्छ ।
तर यस पटक भने पुस १ गते आएको र गएको धेरैले चाल नै पाएनन् । राजनीतिक रुपमा कुनै पनि पार्टी या संघ संस्थाले स्मरण गरेको देखिएन । मिडियामा समेत पुस १ गतेको खासै चर्चा भएन । केही राजनीति कर्मीले सामाजिक संजालमा राखे , तर उल्टै आलोचनात्मक टिका टिप्पणी बोहोरे । केहीले गाली समेत खाए । पंचायती व्यवस्था समाप्त भए यताको ३२ वर्षमा तिमीहरुले के काम ग¥यौ र पुस १ गतेको काण्डलाई कालो दिन भन्छौ ? भन्ने प्रश्नको उत्तर दिन समेत नसक्ने अवस्थामा यतिबेला हाम्रा राजनीतिकर्मी पुगेका छन् । त्यस कारण पनि उनीहरुले पुस १ गतेको स्मरण गर्न लाज मानेको हुनुपर्छ ।
अहिलेको व्यवस्था भन्दा पंचायत नै राम्रो थियो भन्ने जनमत बढ्दै गएको पुष्टि भरखर सम्पन्न आम निर्वाचनले समेत गरिसकेको छ । किनकी वीपी कोइरालालाई आदर्श मान्ने नेपाली कांग्रेसको भोट गत आम निर्वाचनको तुलनामा २४ प्रतिशत घट्दै गर्दा महेन्द्र शाहलाई आदर्श मान्ने राप्रपाको भोट १ सय २० प्रतिशत बढेको यर्थाथतालाई नजर अन्दाज गर्न मिल्दैन । विगत केही वर्षदेखि मुलुकको सुशासनको अवस्था र आर्थिक संवृद्धिको यात्रा जसरी ओरालो लागेको छ , त्यसलाई विश्लेषण गर्ने हो भने महेन्द्र शाह खराव थिए भन्ने नैतिकता शासक राजनीतिकदल तथा तिनका नेताहरुले गुमाउँदै गएका छन् ।
जंगबहादुर राणा र महेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिएर सबै कुरा ठिक गरे भन्न त किमार्थ मिल्दैन , तर उनीहरुले अवलम्वन गरेका कूटनीतिक कामबाट लोकतन्त्रले पनि प्रेरणा लिनु पर्छ । उदाहरणका लागि सुगौली सन्धीमा गुमेको कैलाली, कन्चनपुर , बाँके बर्दिया फिर्ता ल्याएको जंगबहादुर राणाको कुटनीतिक कौशलले हो । जंगबहादुर राणाले नेपाल– अंग्रेजभारत बीचको सीमानालाई व्यवस्थित गरे । हरेक प्रधानमन्त्रीको हत्या हुने सिलसिला अन्त्य गराई मुलुकमा शान्ति सुरक्षा कायम गरे । महेन्द्र शाहले पनि राष्ट्रियता बलियो बनाउने मामिलामा धेरै नै ठूलो योगदान पुर्याएका छन् । २०१७ देखि २०२८ सालसम्मको १० वर्षको अवधीमा उद्योग धन्दा , सडक निर्माण, शान्ति सुरक्षा लगायतका मामिलामा भएका कामहरु ऐतिहासिक छन् ।
त्यसैले राजनीतिक रुपमा जतिसुकै निरङ्कुश भए पनि मुलुकलाई संवृद्ध बनाउनु पर्छ भन्ने मामिलामा जंगबहादुर र महेन्द्र शाह बर्तमान शासकहरु भन्दा इमान्दार पात्र हुन् भन्ने कुरा जनताले समेत बुझेको देखिन्छ । तर अहिलेका शासक भन्दा जंगबहादुर र महेन्द्र ठीक थिए भन्ने जनमत बढ्दै जानु भनेको मुलुकका लागि खतरा हो । किनकी अबको युगमा निरङ्क्ुश शासनले देश बलियो होइन कमजोर हुन्छ । शासन व्यवस्था भनेको युग सुहाउँदो हुनुपर्छ । मुलुकले पनि युग सुहाउँदो विकास गर्दै जानु पर्छ ।
राणाशासन, या पंचायती शासनको तुलनामा लोकतन्त्रमा विकासको गति कम भएको कुरा सत्य होइन ,केवल आरोप मात्रै हो , तर युगको माग अनुसारको विकास हुन नसकेको कुरा भने सत्य हो । विकासका भौतिक पूर्वाधारहरुको तुलना गर्दा अंकहरु चढ्दै जानु स्वभाविकै हो । त्यसबेला एक माना घिउ बेच्दा १ रुपैंया पाउने किसानले अहिले ५ सय रुपैंया पाउँछन् भनेर फूर्ती लगाए जस्तै हो । यर्थाथ कुरा के हो भने हाम्रो मुलुकका ५० लाख होनाहार युवा रगत पसिना बगाउन विदेश पलायन भएका छन् ।
प्रतिक्रिया