‘विद्यार्थीको पाएको ज्ञान देश र समाजको हितका लागि’

काभ्रे । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विद्यार्थीले प्राप्त गरेको ज्ञान र सीप देशकै हितको लागि प्रयोगमा ल्याउनुपर्ने बताएका छन् । उनले बिहीबार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने पनि बताएका थिए । काठमाडौं विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान गरिरहेको बताउँदै ‘विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरूमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पु¥याउने पवित्र शैक्षिक केन्द्र हो’, ‘विश्वविद्यालयहरू राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्दछ ।’

नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाडौं विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउँदै उनले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभई विदेशमा पनि महत्वपूर्ण संस्थामा आवद्ध भई उत्कृष्ट सेवा पु¥याउँदै आएकोमा सबैका लागि गर्वको विषय भएको उनले बताए । उनले काठमाडौं विश्वविद्यालयका विभिन्न संकायमा दीक्षित भएका विद्यार्थीलाई बधाई व्यक्त गर्दै भविष्यमा भौतिक तथा प्राज्ञिक विकासका लागि निरन्तर सहयोग प्राप्त हुने उनले अपेक्षा व्यक्त गरेका छन् । सो क्रममा उनले काठमाडौं विश्वविद्यालयबाट पहिलोपटक ‘मास्टर्स अफ इन्जिनियरिङ इन सेनिटेसन टेक्नोलोजीमा ६ जना र मास्टर्स अफ साइन्स सेटिटेसन टेक्नोलोजीमा एक जना गरी सात जनालाई उपाधि प्रदान गरेका थिए ।

काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विभिन्न संकायका स्नातक, स्नातकोत्तर र विद्यावारीधिका गरी १ हजार ६ सय ९९ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाको अध्यक्षता तथा वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा.मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्य एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति देवेन्द्र पौडेलको उपस्थितिमा पहिलो चरणको समारोहमा मानविकी, शिक्षा, इञ्जिनियरिङ, कानुन, व्यवस्थापन, स्वास्थ्य विज्ञान र विज्ञान विधाका आठ जना विद्यावारिधि, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका गरी १ हजार ६ सय ६ जनासहित १ हजार ६ सय ९९ जना विद्यार्थी दीक्षित भएको काठमाडौं विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका अनुसार मानविकीका २ सय २०, शिक्षाका २ सय २, इञ्जिनियरिङका २६, कानुनका ४० जना, व्यवस्थापनका ४ सय ५२, स्वास्थ्य विज्ञानका ७ सय १२ जना र विज्ञान संकायका ३७ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुने विद्यार्थीमध्ये ७ सय ३४ जना पुरुष र ९ सय ६५ जना महिला छन् । दीक्षित हुनेमा अस्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटली, माल्दिभ्स पोर्चुगल, रुस, सिंगापुर, स्पेन, श्रीलंका, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका १ सय ८६ जना विदेशी विद्यार्थीसमेत रहेका छन् । यसअघिदेखि अहिलेसम्म काठमाडौ विश्वविद्यालयबाट ४० हजार ३५ जना उत्तीर्ण भइसकेका छन् ।

प्रतिक्रिया