जागरुक जनता, निदाएको सरकार

दार्चुलामा देशको चिन्ता

काठमाडौं । सरकारले भारतको सीमा विवादलाई नीतिगत रूपमा टुंग्याउन नसक्दा दार्चुलाबासी सधैँजसो त्रासमा बाँच्दै आएका छन् । सीमामा हुँदै आएको विवादका कारण भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सीमामा बस्ने नेपालीबीच पटकपटक तनावको वातावरण सिर्जना हुने गरेको छ । पछिल्लोपटक नेपालको दार्चुला र भारतको धार्चुलाबीच भएर बग्ने महाकाली नदीको धार परिवर्तनको विषयलाई लिएर विवाद हँुदै आएको छ । भारतीय पक्षले एकलौटी रूपमा सीमा नदी महाकालीमा ठूलो पर्खाल लगाउँदा महाकाली नदी आफ्नो प्राकृतिक धार परिवर्तन गरी करिब १० मिटर नेपालतर्फ धकेलिएको छ ।

जसका कारण नेपालतर्फको करिब २० हेक्टर जमिन महाकालीले खण्डहर बनाइदिएको छ । महाकाली सन्धी हुँदा दुई देशबीच भएको सीमामा संरचना बनाउँदा आन्तरिक सहमति गर्नुपर्ने अनिवार्य प्रावधानलाई मिचेर भारतले एकलौटी ढंगले पर्खाल लगाएको हो । भारतले तटबन्ध बनाउन थालेपछि दार्चुला प्रशासनले गत वर्ष पुस २ गते नै भारतीय प्रशासन धार्चुला तहसिल कार्यालयलाई निर्माण कार्य रोक्न पत्राचार गरेको थियो । तर, भारतीय पक्षले त्यसको बेवास्ता गर्दै निर्माण कार्य जारी राखेको छ ।
निर्माणाधीन तटबन्धको काम रोक्न नेपाली प्रशासनले समन्वय गर्न खोज्दा एसएसबीले माथिको आदेश भन्दै अनिच्छा देखाउँदै आएको छ । परराष्ट्र मन्त्रालयले समेत भारतीय सरकारलाई कूटनीतिक नोट पठाउँदा पनि भारतले त्यसको जवाफ दिन आवश्यक ठानेन ।

पराराष्ट्र मन्त्रालयले पठाएको कूटनीतिक नोटमा एकतर्फी रूपमा तटबन्ध निर्माण गरेर विगतका सहमति उल्लंघन भएकोबारे भारत सरकारको ध्यानाकर्षण गराइएको थियो । तर, भारतले यसबारे सामान्य जवाफ दिन पनि जरुरी ठानेको देखिएको छैन । न त नेपाल सरकारले नै पुनः त्यसप्रति गहिरो चासो देखाएको छ । दार्चुलामै भारतीय सुरक्षाकर्मीले अमानवीय व्यवहार प्रदर्शन गर्दै तुइनको लठ्ठा काटिदिएपछि स्थानीय जयसिंह धामीको मृत्यु भएको थियो । सोही विषयलाई लिएर गृह मन्त्रालयको सिफारिसमा परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको थियो । तर, भारतले त्यसको कुनै जवाफ दिएन ।

पछिल्लो समय भारतीय पक्षले महाकाली नदीको धार परिवर्तन गर्नेगरी संरचना बनाउन थालेपछि दार्चुलावासी आइतबार पुनः विरोधमा उत्रिएका छन् । पुलको उत्तरतर्फ पर्ने क्षेत्रमा तटबन्ध निर्माण गर्ने विषयमा दुवै पक्षका प्राविधिकको अध्ययनपछि मात्र काम थाल्ने मौखिक समझदारी विपरीत भारतीय पक्षले काम गरेपछि आइतबार खलंगा क्षेत्र तनावग्रस्त बनेको हो ।

तनाव बढ्दै गएपछि केहीबेर सीमा नाकासमेत बन्द गरिएको थियो । भारतीय पक्षले महाकाली नदीको पुलमाथि केहीबेर आवतजावतमा रोक लगाएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख मोहनकुमार आचार्यले तटबन्ध निर्माणको विषयमा विवाद भएको बताए ।

उनले भने, ‘तटबन्ध निर्माणको विषयमा पहिल्यैदेखि विवाद थियो । दुवैतर्फको आवश्यक सहमतिपश्चात मात्रै कसरी अगाडि बढ्ने भनेर निर्णय गर्ने सहमति भएको थियो । तर, भारतीय पक्षले एकपक्षीय ढंगले तटबन्ध बनाउन खोज्दा विरोध भएको हो ।’ उनले विहान ढिलो गरेर भारतीय नाका खोलिएको बताए ।

‘बलियो कूटनीतिक पहल जरुरी छ’ : बुद्धिनारायण श्रेष्ठ (सीमा विज्ञ)

सीमा विवादको मुख्य कारण, दुई देशमध्ये एक देशले एकतर्फी तरिकाले गरेको कामले अर्को देशलाई आघात पुराउँदा सुरु हुन्छ । दार्चुलाको खलंगा र भारतको धार्चुलाको बीचबाट बग्ने महाकाली नदीमा भारतले आफ्नो सीमातिर ठुलो पर्खाल लगाएकाले महाकाली नदी नेपालतर्फ सरेको छ ।

बुद्धिनारायण श्रेष्ठ (सीमा विज्ञ)

महाकाली नदी करिब १० मिटर नेपालतर्फ सरेको छ । लगभग २० हेक्टर नेपाली भूमि मिचिएको छ । बाढी आउँदा धार्चुला बजारलाई क्षति पु¥याउने भएकाले भारतले आफ्नो भूभाग धार्चुलालाई बचाउन हाम्रो खलंगालाई क्षति पु¥याउने गरी पर्खाल लगाएको हो ।

सीमा विवाद समाधान गर्न सरकार जति संवेदनशील हुनुपर्ने हो, त्यो हुन सकेकौ छैन । अरू त अरू नेपाली भूभाग कति मिचिएको छ, त्यो आँकडा पनि नेपालसँग छैन । कूटनीतिक पहलबाट वार्ता गर्दा नेपालले दरिलो प्रमाण बोक्नुपर्नेछ ।

भारतलाई कूटनीतिक नोट पठाएर वार्ताबाट सीमा समस्या समाधानको पहल गर्ने र उनीहरू मान्दैनन् भने अन्तर्राष्ट्रिय सहयोग माग्नेतर्फ नेपालले पहल गर्नुपर्ने जरुरी छ । नेपाली सीमालाई नेपाली जनताले नै धेरै ठाउँमा जोगाएका छन् । सीमामा भारतीय ज्यादती देखेपछि त्यहाँका स्थानीयले सरकार निदाएको देख्नु स्वभाविक हो ।

पछिल्लोपटक तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीले मलाई बोलाएका थिए । उहाँहरूलाई ब्रिफ गर्दा मैले वार्ताबाटै समाधान खोज्ने र नभए मध्यस्तकर्ताका रूपमा अर्को मुलुक खोज्ने सुझाव दिएको थिएँ ।

त्यसबाट पनि पार लागेन भने अन्तर्राष्ट्रिय अदालत जानेसम्मको सुझाव पनि मैले दिएको थिएँ । तर, हामी जाँदा राम्रो गृहकार्य गरेर जानुपर्छ । ‘स्यालको सिकार गर्न जाँदा बाघको खजाना बोकेर जानुपर्छ’ भन्ने उखानलाई उदृत गरेर मैले सुझाव दिएको थिएँ । त्यो सुझावको कार्यान्वयन भएजस्तो लागेन ।

यो निरीहता कहिलेसम्म ? : रवि लामिछाने, (सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी)

त्यही महाकाली नदीमा तुइन तर्दातर्दै तुइन काटिन्छ । ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खस्छन् र हराउँछन्, सधैँका लागि । त्यही महाकालीको किनारमा जबरजस्ती सडक बनाइरहँदा गरिएको विस्फोटबाट आएको ढुंगाले लागेर बित्छन् नौ वर्षीय बालक, पवन महरा । त्यही महाकाली नदीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाउन थालिन्छ । नेपालीले त्यो ज्यादतीको प्रतिरोध गर्दा उताबाट आएको ढुंगाले लागेर चार जना बालबालिका घाइते हुन्छन् ।

रवि लामिछाने, (सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी)

वर्षौंको यो निरीहताको कारण के होला ? आफ्नो सीमा जोगाउनु र आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धि सम्झौताका पानापाना पल्टाएर बुँदाबुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ?

आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु र कसैसँग जोरी खोज्नु होइन भन्ने कूटनीति बनाउन के कुराले रोक्छ सरकारलाई ? राज्य यस्तो हुनु हुँदैन । सरकार अब यसरी चल्नु हुँदैन । नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भइसकेको छ । त्यसैले अब नयाँ सिराबाट कुरा गरौँ । दार्चुलामा भेट्ने हो कि काठमाडौंमा भेट्न हो, कि दिल्लीमा भेट्ने हो, तय गरौँ । तर, निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन ।

प्रतिक्रिया