ढाका ब्रान्डिङ गर्न कस्सिएका गृहिणीहरू !

बाँके । कोहलपुर–१२ स्थित चप्परगौडीमा एउटा ढाका उद्योग छ–उद्योगको नाम हो, ज्ञानज्योति ढाका महिला समूह । उद्योगका सञ्चालक हुन्, ११ जना गृहिणी महिला । उद्योगको स्थापना ०७७ पुस १२ गते भएको हो । ढाका उद्योग सञ्चालनको उद्देश्य, नेपालको पहिचानको रूपमा रहेको ढाकालाई ब्रण्डिङ गर्ने हो । यस्तै ढाका पहिचान स्थापित गर्ने र जिविकोपार्जनको स्रोतसँग जोड्ने पनि रहेको छ । यो उद्योग पश्चिम क्षेत्रकै पहिलो उद्योगको रूपमा रहेको छ । बाँके जिल्लामा अहिलेसम्म संस्थागत रूपमा ढाका उद्योग सञ्चालनमा छैन । उद्योगकी सचिव कमला विश्वकर्माले तीन वर्षदेखि उद्योग सञ्चालन भइरहेको बताइन् ।

उनका अनुसार उद्योगले विस्तारै आफ्ना उत्पादन बजारीकरणसमेत गरिरहेको छ । समूहका आवद्ध सबै महिला त्यहाँका मालिक, सञ्चालक र कामदार सबै आफैँ हुन् । ११ जनै महिला ढाकाका उत्पादन हातैले बुनेर बुन्छन् । प्रत्येक जनासँग ढाका बुन्ने एकएक वटा मेसिन छन् । उद्योगले ढाकाको सारी, टोपी, पछ्यौरा, कोट, चोलो, कपडा, दोसल्ला र सल उत्पादन गरिरहेको सचिव विश्वकर्माको भनाइ छ । यी उत्पादनको न्यूनतम मूल्य आठ सयदेखि १२ हजारसम्म रहेको छ । ‘हामी ब्रान्डिङको लागि लागिरहेका छौँ ।

महिलाहरूको समूह मिलेर उद्योग सञ्चालन गरिएको हो । बिस्तारै यसको बजारीकरण गर्दै छौँ । उत्पादनसमेत बिक्री भइरहेको छ’, उनी भन्छिन् ।
यो समूह उद्योग सञ्चालनका लागि बचतसमेत गर्दै आएको छ । समूहमा आवद्ध महिलाहरू उद्योग सञ्चालनको लागि मासिक रूपमा बचत गर्दै आएका हुन् । उनीहरू मासिक पाँच सय रुपैयाँका दरले बचत गर्छन् । महिलाहरू समूह बनाएर आर्थिक रूपमा सवल हुने उद्देश्यले बचत गर्न थालेका थिए । पछि समूहमा आवद्ध महिलाहरूका लागि तालिमको अवसर जु¥यो । त्यतिबेला भने २० जनाको समूह थियो ।

तालिम महिला शक्तीकरणको क्षेत्रमा मेड्पा कार्यक्रममार्फत कोहलपुर नगरपालिकाले दिएको थियो । समूहमा आवद्ध सबैले तीन महिने ढाका बुनाइ तालिम लिए । तालिममा सिकेको सीप सदुपयोग गर्ने सल्लाह भयो । ११ जना सहमत भए । त्यसपछि उद्योगको स्थापना भएको थियो । मेड्पाले महिलाहरूलाई त्यतिबेला मेसिन सहयोग गरेको थियो । अहिले पनि निरन्तर चलिरहेको छ । उद्योगलाई कुनै पनि सरकारी निकायबाट अहिलेसम्म सहयोग प्राप्त छैन । आफ्नै सीमित स्रोत साधनमा उद्योग सञ्चालन भइरहेको समूहकी सदस्य विन्दु खड्का बताउँछिन् ।

ढाकालाई ब्रान्डिङ गर्न कस्सिएका उनीहरूलाई पहिचानको अभाव छ । पहिचान अभावमा अपेक्षित रूपमा बजारीकरण हुन नसके पनि सन्तोषजनक रूपमा उत्पादन बिक्रीवितरण भइरहेको छ । समूहलाई आधिकारिक रूपमा दर्ताका लागि प्रक्रिया थालेको छ । सचिव विश्वकर्मा उद्योगका उत्पादन सुर्खेत र बाँकेका सबै क्षेत्रमा पुगेको बताउँछिन् । समूहमा आवद्ध महिलाहरू मासिक रूपमा १५ देखि २० हजारसम्म कमाइ गर्छन् ।

‘नगरपालिकाले तालिम दियो । हामीले सीप सिक्यौँ । सीपलाई कार्यान्वयन गरिरहेका छौँ । हामीलाई अहिले सबै क्षेत्रको हौसलाको खाँचो छ’, समूहकी समस्य विना खत्री भन्छिन् । आफूहरू निरन्तर दिनरात नभनी उद्योगलाई स्थापित बनाउन लागिपरेको उनको भनाइ छ । उद्योगलाई थप बजबुत बनाउनका लागि उनीहरू अहिले स्थानीय सरकारसँग सहयोग मागिरहेका छन् ।

प्रतिक्रिया