कफीको न्यूनतम् समर्थन मूल्य निर्धारण

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम् समर्थन मूल्य तोकेको छ । प्रत्येक वर्ष मूल्य निर्धारण गर्ने प्रचलनअनुसार बोर्डले देशमा उत्पादन हुने कफीको मूल्य निर्धारण गरेको हो ।

बोर्डले कफीको फ्रेस चेरी (ताजा दाना) र तयारी कफीको छुट्टा–छुट्टै मूल्य निर्धारण गरेको छ । फ्रेस चेरी (ग्रेड ए) को मूल्य प्रतिकिलो ९५ रूपैयाँ र ग्रेड बी को मूल्य ८५ रूपैयाँ कायम भएको छ । यस्तै, तयारी (प्रशोधित) कफीतर्फ ग्रेड ए को मूल्य प्रतिकिलो ४७५ रुपैयाँ र ग्रेड बी को मूल्य प्रतिकिलो ४२० रुपैयाँ तोकिएको छ । सरकारले प्रत्येक वर्षको मंसिर १ गतेलाई राष्ट्रिय कफी दिवसका रूपमा मनाउँदै आएको छ । र, सोही दिन कफीको मूल्य निर्धारण गर्दै आइरहेको छ ।

तर, यसपटक प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका कारणले ढिलागरी मूल्य निर्धारण भएको हो । यद्यपि, नयाँ मूल्य भने मंसिर १ गतेदेखि नै लागू भइसकेको बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया