इतिहास रच्दै फ्रापार्ट

दोहा । फ्रान्सकी रेफ्री स्टेफानी फ्रापार्ट पुरुष विश्वकपमा खेल खेलाउने पहिलो महिला रेफ्री बन्ने भएकी छन् । फ्रापार्टले कतारमा बिहीबार जर्मनी र कोस्टारिकाबीचको खेल खेलाउने छिन् । योसँगै उनले आफ्नो नाममा इतिहास रच्नेछिन् ।

फिफाले फ्रापार्टका सहायकका रूपमा पनि दुई महिला रेफ्री नै छनोट गरेको छ । सहायक रेफ्रीमा ब्राजिलकीे नेउजा ब्याक र मेक्सिकोकी करेन डियाज मेडिना छन् । त्यसकारण जर्मनी र कोष्टारिकाबीच हुने खेलको मैदानमा सबै महिला रेफ्री टोली हुने भएका छन् ।

यस्तै, विश्वकपका लागि फिफाले छनोट गरेको चौथो महिला म्याच अफिसियल अमेरिकाकी क्याथरिन नेस्बिटले पनि भिडियो सहायक रेफ्रीको भूमिकामा अफसाइड विशेषज्ञको काम गर्नेछिन् । जर्मनी र कोष्टारिकाबीचको खेल अल खोरस्थित अल बायत रंगशालामा हुनेछ ।
फिफाले रुवान्डाकी सलिमा मुकानसांगा र जापानकी योशिमी यामाशितालाई पनि कतार विश्वकपका लागि रेफ्रीको सूचीमा राखेको छ ।

कतारमा हुने ६४ खेलमध्ये ४४औँ खेलका लागि फिफाले ऐतिहासिक नियुक्ति गरेको हो । फ्रापार्टले यसअघि फोर्थ अफिसियलका रूपमा कम गरिसकेकी छन् । ३८ वर्षीया फ्रापार्ट यसअघि युरोपेली फुटबल निकाय यूईएफए र आफ्नो देशका खेलमा रेफ्री बसिसकेकी छन् ।

उनले विश्वकप छनोट, च्याम्पियन्स लिग र फ्रेन्च कप फाइनलका पुरुष खेलहरूमा रेफ्रीको काम गरिसकेकी छन् । उनले सन् २०१९ को फिफा महिला विश्वकप फाइनलको जिम्मेवारी पनि लिएकी थिइन् ।

प्रतिक्रिया