धनगढीमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाउने

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । बिहीबार धनगढी उपमहानगरपालिका-५ हसनपुर पिपल चौतारीमा ग्रेडरले कुल्चिएर पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत अन्दाजी १४/१५ वर्षीया छात्रा चेतना साउँदको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । विद्यार्थीहरूले आन्दोलन गर्दै सडकमा टायर बाल्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए । सो अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

जिल्ला बैतडी डिलासैनी गाउँपालिका वडा नं. ६ बस्ने गणेश साउदकी छोरी वर्ष १५ की चेतना साउँद हाल यस जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ५ स्थित पञ्चोदय मा.वि. हसनपुर कक्षा ८ मा अध्ययनरत छात्राको मिति २०७२/०८/१५ गते विहान १०:१५ बजे विद्यालय जाने क्रममा धनगढी उपमहानगरपालिका वडा नं. ५ स्थित पिपल चौतारा दोबाटोमा सडक निर्माणको क्रममा ग्रेडरबाट दुर्घटना हुँदा मृत्यु भई उक्त घटना पश्चात् सृजना भएको परिस्थितिलाई मध्यनजर गर्दै हुन सक्ने अराजक गतिविधिहरुलाई नियन्त्रण गरी सर्वसाधारण नागरिकहरुको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न आवश्यक देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम यस जिल्लाको पूर्वमा धनगढी उपमहानगरपालिका- १ पुरानो फूलवारी बसपार्क ( पुष्पलाल चोक),पश्चिममा धनगढी उपमहानगरपालिका-४ रातोपुल, उत्तरमा धनगढी उपमहानगरपालिका-५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन, दक्षिणमा धनगढी उपमहानगरपालिका १ र २ स्थित हुलाकी राजमार्ग क्षेत्रमा पाँच जनाभन्दा वढी व्यक्तिहरु आवत जावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन जिल्ला सुरक्षा समिति कैलालीको मिति २०७९।०८।१५ गतेको निर्णयानुसार निषेध गरिएको छ कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा जारी आदेशमा भनिएको छ ।

यस आदेशको उल्लंघन गरेमा कानून वमोजिम कारवाही हुने व्यहोरा सम्वन्धित सवै सर्वसाधारणको जानकारीका लागि सूचित गरिएको छ जारी आदेशमा उल्लेख गरिएको छ । धनगढीको हसनपुर पिपलचौतारा नजिकको सडकमा पानी पिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर साउँदको मृत्यु भएको थियो । चालक र ग्रेडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साउँदको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया