काठमाडौं । हालै जुम्लाका एक युवाले स्याउका बोरा खाली ठाउँमा मुसा, चरा किराफट्यांग्रालगायतका लागि आहारा भन्दै फालेको भिडियो सामाजिक संजालमा अपलोड गरे । उनको भिडियोमा जुम्लामा उत्पादन भएको स्याउले बजार नपाउँदा कृषकहरु उत्पादन नष्ट गर्न बाध्य भएको देखाउन खोजिएको थियो ।
पछिल्लो समय नेपालमा उत्पादित वस्तुको अवज्ञा र विदेशी वस्तुको प्रयोग बढ्दो छ । यसले एकातिर स्वदेशी वस्तुलाई निरुत्साहित गरिरहेको छ भने संकुचित अर्थतन्त्रमा व्यापारघाटाको हिस्सा बढाउने काम पनि भईरहेको छ । जसको मारमा नेपाली कृषकहरु पनि परिरहेकै छन् । नेपालका हिमाली क्षेत्रमा बर्षेनी उत्पादन हुने स्याउ भौगोलिक कारण, सडक पूर्वाधारको कमि, मौसम खरावीलगायतका समस्याले सम्बन्धित बजारसम्म पुग्न पाउँदैनन् । त्यसको फाईदा विदेशी स्याउले उठाउँछ । जसको पछिल्लो उदाहरण हो नेपालमा भित्रिएको स्याउको आँकडा ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ४ महिनामा मात्रै नेपालले करिव पौने ३ अर्ब रुपैयाँ बराबरको स्याउ आयात गरेको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा करिव ३ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको पहिलो ४ महिनामा २ अर्ब ७२ करोड ३६ लाख ७५ हजार रुपैयाँ बराबरको ३ करोड ५२ लाख ८८ हजार किलो स्याउ आयात भएको थियो ।
उक्त आयात बढेर चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म २ अर्ब ८० करोड १४ लाख ३९ हजार रुपैयाँ बराबरको ३ करोड ७९ लाख ५१ हजार किलो स्याउ आयात भएको हो ।
यसरी हेर्दा नेपालमा विदेशी स्याउको खपत बढ्दो छ । नेपाली स्याउको बजारको भने हालसम्म कुनै अध्ययन वा अनुसन्धान भईसकेको छैन । फलफूल विकास केन्द्रका अनुसार नेपालमा पछिल्लो समय स्याउको उत्पादन पनि घट्दो अवस्थामा छ । करिव २ बर्षअघि गरिएको एक अध्ययनले नेपालमा पछिल्ले ११ महिनामा स्याउको उत्पादन १९ प्रतिशतले घटेको देखाएको हो ।
त्यसबेला नेपालमा ३१ हजार ३ सय ८६ मेट्रिकटन स्याउ उत्पादन भएको थियो । यसरी स्याउ उत्पादन भएपनि सम्बन्धित बजारसम्म स्याउ पुग्ने पूर्वाधारको कमिका कारण जुम्ला, हुम्ला, मुस्ताङलगायत जिल्लामा उत्पादन भएको स्याउ किरा र मुसाको चारो बन्ने अवस्थामा पुगेका छ ।
भन्सार विभागकै तथ्यांकलाई आधार मान्दा चालु आवको पछिल्लो ४ महिनामा नेपालले छिमेकी मुलक भारतबाट १ अर्ब ७८ करोडको र चीनबाट १ अर्ब २ करोड रुपैयाँ बराबरको स्याउ आयात भएको हो ।
यस्तै अघिल्लो आर्थिक बर्ष २०७७।७८ मा नेपालमा ७ अर्ब ५ करोड रुपैयाँ बराबरको स्याउ आयात भएको थियो । त्यसअघि बर्षमा नेपालमा आयात भएको स्याउ हेर्दा प्रत्येक बर्ष नेपालमा स्याउ आयात १ देखि २ अर्बसम्म बढिरहेको देख्न सकिन्छ ।
मोवाइल उच्च आयात हुने वस्तुको अग्र स्थानमा
बैदेशिक मुद्रा संचितिमा बढ्दो दबाब कम गर्न सरकारले जारी गरेको केही वस्तुमाथिको आयात प्रतिवन्धको असर स्मार्टफोन आयातमा देखिएको छ । गत आर्थिक बर्ष २०७७।७८ मा धेरै आयात हुने वस्तुको तेस्रो स्थानमा रहेको स्मार्टफोन आयात चालु आवको सोही अवधिमा घटेर नवौं स्थानमा पुगेको हो ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै गत बैशाखदेखि विभिन्न १० वस्तुको आयातमा प्रतिवन्ध लगाएको थियो । जसमा महंगा मोबाइलको आयात पनि सामेल थियो । त्यसयता २ पटकसम्म आयात प्रतिवन्धको सूचना संशोधन गर्दा पनि महंगा मोबाईलको आयातमा लागेको प्रतिवन्ध कायमै छ । जसको प्रत्यक्ष असर मोबाइलको आयातमा देखिएको भन्सार विभागले जानकारी दिएको छ ।
विभागका अनुसार चालु आर्थिक बर्षको ४ महिना अर्थात गत साउनदेखि कात्तिक मसान्तसम्म नेपालमा १० अर्ब १० करोड ९८ लाख ७३ हजार रुपैयाँ बराबरका ७ लाख २९ हजार ७ सय ९५ थान मोबाईल आयात भएका छन् ।
यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा रकममा ५०.३५ प्रतिशत र मोबाईलको थानमा ७२ प्रतिशतको कम हो । गत आर्थिक बर्षको पहिलो ४ महिनामा नेपालमा २० अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बराबरको २६ लाख १ हजार ७ सय ८० थान मोबाईल आयात भएको थियो ।
कुन देशबाट कति भित्रियो मोबाईल
पछिल्लो ४ महिनामा मात्रै नेपालले विभिन्न ४८ मुलुकबाट नेपालमा स्मार्टफोन आयात गरेको छ । जसमध्ये सबैभन्दा बढि स्मार्टफोन चीनबाट ७ अर्ब ११ करोड ९९ लाख रुपैयाँ बराबरको ५ लाख ३५ हजार ७ सय ५० थान आयात भएको छ । यस्तै नेपालमा धेरै मोबाईल निर्यात गर्ने दोस्रो मुलुक भारत हो ।
यस अवधिमा भारतबाट नेपालमा २ अर्ब ६७ करोड ९३ लाख रुपैयाँ बराबरको १ लाख ८९ हजार ६ सय ४२ थान स्मार्टफोन मोबाई आयात भएको छ । यस्तै नेपालले दुवईबाट ७ सय ४३ थान, अमेरिकाबाट ६ सय १० थान, जापानबाट ६ सय ५९ थान, अष्ट्रेलियाबाट ३ सय २१ थान स्मार्टफोन आयात गरेको छ ।
यी विभिन्न देशबाट आयात गरिएका स्मार्टफोनबाट नेपालले ४ महिनामा १ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ राजस्व उठाएको भन्सार विभागले जानकारी दिएको छ । सरकारले तरलतामा र वैदेशिक मुद्रा संचितिमा चाप परेको, व्यापारघाटा लगातार बढेको भन्दै महंगा मोबाईलको आयातमा प्रतिवन्ध लगाएको थियो ।
पछिल्लो समय विभिन्न वस्तुको आयातमा लगाएको प्रतिवन्धको असर समग्र व्यवसायमै देखिएसँगै सम्बन्धित व्यवसायीहरुले आयात प्रतिबन्ध हटाउन माग गर्दै आएका छन् । हाल महंगा मोबाईल, मदिरा, तास र गाडी आयातमा लगाईएको प्रतिवन्ध अझै जारी रहेपनि अवैध रुपमा नेपालमा अहिले पनि महँगा मोबाइल आयात हुने क्रम नरोकिएको र त्यसले नेपाली अर्थतन्त्रमा नै नकारात्मक असर पुगेको व्यवसायीले दाबी गरिरहेका छन् ।
प्रतिक्रिया