किवी बेच्न कहाँ लैजाने !

ताप्लेजुङ । जिल्लाको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गरेका छन् ।

व्यावसायिकरूपमा केही वर्षदेखि किवीको खेती गर्दै आएका उनलाई नपाक्दासम्म रोग कीरा लाग्ला भन्ने चिन्ता थियो । उनलाई किवी बोटमा पाक्न थाल्छ फेरि बजार र मूल्य नपाइएला भन्ने चिन्ता थपिन्छ । केही वर्षदेखि यस्तै चिन्ता निरन्तर छ । यस वर्ष उत्पादन भएको मध्ये करिब चार क्विन्टल किवी बिक्री गरिसकेका किसान गुरुङलाई बाँकी रहेको कता लैजाने र कहाँ बिक्री गर्ने गर्ने भन्ने अन्योल छ ।

‘जिल्ला बाहिरका आफन्तलाई फोन गरेर, छरछिमेकलाई अनुरोध गरेर अलि अलि बेचियो, बाँकी कता लैजाने भन्ने अन्योल छ, केही लागेन भने रक्सी पारौँला भन्नेछ,’ उनले भने । उनले काठमाडौंलगायत विभिन्न जिल्लामा रहेका आफन्त, साथीभाइलाई केही मात्रामा पठाए । होलसेल प्रतिकिलो एक सय र फाट्टफुट्ट १ सय ५० रुपैयाँका दरले बिक्री गरेको उनले बताए । उत्पादन गरे पनि बजार र मूल्य नपाउँदा समस्या भएको उनको गुनासो छ । यस्तै दोखुकै रमेश गुरुङले उत्पादन गरेको किवी ठूलो मात्रामा कुहिएर गयो । पाकेलगत्तै टिपेर राखेका गुरुङले बजार पाएनन् । बजार पाइएलाभन्दा भन्दै ठूलो मात्रामा कुहिएको उनले बताए ।

यसरी बजार नपाउँदा उनी मात्रै होइन, जिल्लाका दर्जनौँ किसान निरास छन् । यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले यसको व्यावसायिक खेती सुरु गरेका थिए तर उत्पादनसँगै बजारमा यसको माग घटेकाले किसान समस्यामा परेका छन् । ‘एक समयमा किवीको खुबै चर्चा थियो, बजार र मूल्य राम्रो छ, मनग्य आम्दानी हुन्छ भन्ने समाचार सुनियो, गाउँगाउँमा उस्तै हल्ला चल्यो, त्यही समयदेखि मेहनतका साथ लागियो तर अहिले न बजार छ, न मूल्य नै, मेहनत र लगानी खेर जाने चिन्ता छ,’ राजकुमार गुरुङले भने ।

समयमा बजारीकरण नभए पनि शीतभण्डार (कोल्डस्टोर) भए पनि केही राहत मिल्ने किसानको भनाइ छ । ‘पाकेर बोटबाटै झर्ने अवस्था आएपछि टिप्नै पर्छ, समयमै बिक्री भएन भने कुहिएरै जाने अवस्था आउँछ, कम्तीमा ठाउँठाउँमा शीतभण्डार भए पनि केही राहत हुने थियो,’ सिरीजंघा गाउँपालिका–७ खेवाङका नरेन्द्र तिवारीले भने । यो पटक उनले उत्पादन गरेको किवी बल्लतल्ल झापा लगेर सय रुपैयाँ प्रतिकिलोका दरले बेचे । गाउँघरमा ७० देखि ८० का दरले बिक्री गरेको उनले सुनाए । धेरै किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षक भए पनि बजार र मूल्य अभावकै कारण निरास हुनुपरेको तिवारीले बताए ।

किवी खेतीका लागि यहाँको जमिन र वातावरण अनुकूल भएकाले यसको खेतीमा धेरैजसो किसान आकर्षित भएको पाइन्छ । समुद्र सतहबाट एक हजारदेखि १५ सय मिटरको उचाइमा यसको खेती फस्टाउने बताइन्छ । फलफूलको राजा मानिने किवीको बोट छोटो समयमा नै हुर्कने र फल लाग्न सुरु गर्ने भएकाले यसको व्यावसायिक खेती विस्तारसँगै बजारीकरण, प्रशोधन र भण्डारणमा सरकारले विशेष चासो दिनुपर्ने आवश्यकता देखिएको कृषक बताउछन् । किवीको प्रयोगले स्वास्थ्यलाई पुग्ने फाइदाका विषयमा प्रचारप्रसार गर्नसमेत आवश्यक रहेको उनीहरूको बुझाइ छ । जुुस, वाइनजस्ता पेय पदार्थका रुपमा किवीलाई प्रशोधन गरेर बजारीकरण गर्नसके किसानको आयआर्जनमा वृद्धि हुनुका साथै मुलुककै अर्थतन्त्रमा सहयोग पुग्ने स्थानीय बताउँछन् ।

प्रतिक्रिया