धुलाम्मे सडकको मारमा व्यवसायी

बाँके । कोहलपुर बसपार्क पछाडि बायाँतिर छ, लुक्स सपिङ सेन्टर । यो सेन्टर एक ३२ वर्षीय युवती सञ्चालन गर्छिन् । उनी हुन्, गंगा सापकोटा । त्यहाँ पुग्दा गंगा पछ्यौरीले मुख छोपेर ग्राहक कुरिरहेकी छन् । उनको अनुहार धुलाम्य थियो । लाग्थ्यो, उनी वृद्ध महिला हुन् । उनको पसल त्यही धुलाम्मे हरीयाली मार्गमा पर्छ । बसपार्कबाट आउने ठाउँमा सडक विस्तार गरिएको छ । त्यहाँ दुवैतिर नाली स्तरोन्नति गरिएको छ । ह्युम पाइपसमेत लगाइएको छ । त्यो सडक राम्रोसँग स्तरोन्नति भएको छैन । उक्त सडकमा बल्गे्रती अटो रिक्सा र मोटरसाइकल ओहोरदोहोर गरिरहन्छन्, त्यसको मार गंगालाई परेको छ ।

उनी भन्छिन्, ‘कोहलपुर नगर विकास समितिले कात्तिकमा नाली बनाएको हो । सडक स्तरोन्नति पनि भयो । तर राम्रोसँग व्यवस्थापन हुन सकेको छैन । त्यसको मार हामीले खेपिरहेका छौँ ।’ त्यतिबेला कालोपत्रे उप्किएका कारण त्यहाँ व्यवसाय गर्नेहरूलाई हैरानी बेहोर्नुपरेको छ । नाली खनेर व्यवस्थापन नगरिदिँदा झन् समस्या भएको उनी बताउँछिन् । सरोकारवाला पक्षको बेवास्ताका कारण व्यवसाय गर्नेहरूलाई सकस भएको उनको भनाइ थियो ।
‘जाडो याम सुरु भयो । सडक सुक्खा छ । धुलाम्मे हुँदा झन् हैरानी भएको छ । सरोकालाना निकाय हाम्रो कुरै सुन्दैनन्’, उनले दुःखेसो पोखिन् ।

सापकोटा जस्तै समस्या भोगिरहेका व्यवसायी हुन्, सुशील रेग्मी । उनी विगत पाँच वर्षदेखि हरीयाली मार्गमा एसआर कलेक्सन सञ्चालन गर्दै आएका छन् । उनको पनि समस्या उस्तै छ । रोड धुलाम्मे हुँदा कपडा धुलोले बिग्रिएको उनको भनाइ छ ।

उनले भने, ‘गरिखाने भाडो भनेकै यही हो । यसैमा धुलोले गर्दा समस्या भएको छ । ग्राहकसमेत राम्रोसँग आउँदैनन् । व्यवसाय चलेन भने हातमुख जोर्नसमेत हम्मेहम्मे छ ।’

यति मात्रै होइन धुलोका कारण होटलमा खाना खान आउने ग्राहकको संख्या घटेको गुनासो गर्छन्, होटल व्यवसायीहरू । धुलोले गर्दा एकपटक आउने ग्राहक फेरि फर्केर आउन छाडेको केसी होटलका सञ्चालक गणेश केसीले बताए । ‘धुलोले पछिल्लो समय होटलमा आउने ग्राहकको संख्या घटेको छ । कहिले सडक कालोपत्रे हुने हो ? व्यवसाय बन्द गर्नुपर्ने अवस्था आइसक्यो यसतर्फ स्थानीय सरकारले ध्यान दिन सकेको छैन’, उनले गुनासो गरे ।

प्रतिक्रिया