लुम्बिनी प्रदेशको पहिलो जित, बागमतीको तेस्रो

यु–१९ क्रिकेट

काठमाडौं । कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकाल्दा बागमती प्रदेशले लगातार तेस्रो खेलमा सुखद नतिजा निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले कर्णालीलाई पराजित गर्दै दोस्रो खेलबाट पहिलो जित निकाल्दा मुलपानीमा सम्पन्न अर्को खेलमा बागमतीले प्रदेशले मधेस प्रदेशमाथि १ सय ५२ रनको फराकिलो जित निकालेको हो ।

कर्णालीले दिएको १ सय १ रनको लक्ष्य लुम्बिनीले २०.५ ओभरमा ४ विकेट गुमाएर १ सय २ रन बनाएर पूरा गरेर जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । लुम्बिनीको जितमा आकाश त्रिपाठीले अविजित ५२ रनको अर्धशतकीय इनिङ खेले । कप्तान विशाल विक्रम केसीले १३ तथा प्रज्वल थापाले १० रनको पारी खेले ।

यस्तै अन्य ब्याट्सम्यानले राम्रो स्कोर गर्न सकेनन् । बलिङतर्फ कर्णालीका अनुज चनाराले २ तथा सन्दीप शाही र मोहन बिकले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २२.२ ओभरमा सबै विकेट गुमाएर मात्र १०० रन बनाएको थियो । कर्णालीका लागि कप्तान विपिन रावलले ३६ रन जोडे भने सुवास एयरले २३ रनको पारी खेले । अन्यले ब्याटरले राम्रो खेल्न सकेनन् । कर्णालीको इनिङलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका विशालविक्रम केसीले ४ तथा अविशेक गौतमले २ विकेट लिए । पहिलो जितसँगै लुम्बिनीले २ खेलमा २ अङ्क जोडेको छ । उता कर्णालीले भने लगातार दोस्रो हार व्यहोरेको छ ।

प्रतियोगिता अन्तर्गत मुलपानीमा सम्पन्न खेलमा बागमतीले लगातार तेस्रो जित निकाल्दा मधेस प्रदेशलाई १ सय ५२ रनले पराजित गरेको हो । बागमतीले ४७.३ ओभरमा सबै विकेट गुमाएर दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश २५.५ ओभरमा समेटिएको थियो । मधेशले ६५ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको मधेस प्रदेशका लागि कप्तान अविशेक तिवारीले १८ रन तथा मयन यादवले ११ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् । मधेसको इनिङलाई सस्तैमा समेट्ने क्रममा बागमतीका लागि अहमद राजा एक्लैले ५ तथा अभिषेक कोइरालाले ३ विकेट लिए ।

प्रतीक श्रेष्ठ र सक्रिय कार्कीले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले २ सय १७ रन बनाएको थियो । बागमतीका लागि उत्तम मगर र योगेश भाटले अर्धशतकीय इनिङ खेले । मगरले ९८ बलमा ७१ रन तथा भाटले ४० बलमा ५९ रन बनाएका थिए । प्रतीक श्रेष्ठले ३० तथा रोशन विकले १४ रनको ईनिङ खेलेका थिए । मधेसका लागि राजेश यादवले ४ तथा अविजित मण्डलले ३ विकेट लिएका थिए । रञ्जित कुमारले २ तथा कप्तान अभिषेक तिवारीले १ विकेट लिएका थिए । अपराजित बागमती ६ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । पहिलो खेलमा पहिलो हार व्यहोरेको मधेस प्रदेश भने अङ्क विहीन रहँदै अङ्क तालिकाको पुछारमा रहेको छ ।

प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछन् । कीर्तिपुर मैदानमा गण्डकी र सुदूरपश्चिम प्रदेश तथा मुलपानी मैदानमा कर्णाली र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया